+
+

नामिवियाविरुद्ध नेपाल : हेभी ब्याटिङ लाइनअप, कमजोर प्रदर्शन

कहाँ कहाँ चुक्यो घरेलु टोली ?

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० फागुन ३ गते २१:५९

३ फागुन, काटमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा बिहीबार नेपालले नामिवियाविरुद्ध मैदान उतारेको प्लेइङ ११ मा ब्याटिङमा हेभी लाइन अप थियो । स्पीनर ललित राजवंशी बाहेक सबै राम्रो ब्याटिङ गर्नेहरु थिए ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नामिबियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दियो । कीर्तिपुरमा बिहानको समयमा ब्याटिङ गर्न सहज मानिँदैन ।

त्यसैले नेपाली टोलीलाई लागेको थियो, २३०/२४० रन बनाउने हो भने डिफेन्ड गर्न सकिन्छ । त्यही पिच थियो जहाँ नेपालले यसै साता क्यानडाविरुद्ध २२४ रन डिफेन्ड गरेको थियो भने २८६ रनको लक्ष्य सहजै पूरा गरेको थियो ।

तर इनिङको पहिलो बलमै कुशल भुर्तेल कट खेल्न खोज्दा फर्स्ट स्लिपमा जेजे स्मिथबाट समातिन पुगे । रुबेन ट्रम्पलम्यानको वाइड बल तानेर कट खेल्न खोज्दा उनी आउट भए । पहिलो बलमै मोमेन्ट्स गुमाएको नेपालका ब्याटरहरुले कुनै पनि समय नामिवियाका बलरहरुलाई दबावमा राख्न सकेनन् ।

तेस्रो ओभरमा अनिल साह लेग साइडतर्फ सट खेल्न खोज्दा मिस भई एलबीडब्लू आउट भए । क्यानडाविरुद्ध पछिल्लो खेलमा शतक हानेका अनिल नामिबियाविरुद्ध ८ रनमा आउट भए ।

अर्को ओभरमा आसिफ शेख मिड अनमा खराब सटका साथ ४ रनमा क्याच भए । उनले नामिबियाका युवा बल ज्याक ब्रासेलको बल सहज क्याचमा जेजेलाई सुम्पिएका थिए । ब्रासेलकै स्वीङ बलमा रोहित १ रनमा बोल्ड आउट भएका थिए ।

भीम सार्की र कुशल मल्लले केही आशा देखाएका थिए । कशुल मल्ल खराब सटका साथ १५ रनमा क्याच आउट भए । भीम सार्कीलाई ४४ रनमा अम्पायरले क्लोज कलमा एलबीडब्लू आउट दिए । त्यसपछि नेपाल ४१.१ ओभरमा १३२ रनमा अल आउट भयो ।

नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो र लिग २ मा २ अंक प्राप्त गर्‍यो ।

बिहीबार घरेलु मैदानमा भएको खेलमा नेपालले एकपछि अर्को विकेट गुमाएको थियो । खराब सट छनोट नेपाली खेलाडीहरुले नामिवियाविरुद्ध गरेको एउटा ठूलो गल्ती थियो । अर्कोतर्फ आसिफ, भीम र रोहित बाहेक अरु हिटर थिए । ओडीआईका भरपर्दा ब्याटर आरिफ शेखलाई बाहिर राख्ने निर्णय सही देखिएन ।

भीम बाहेक अन्य खेलाडीले साझेदारीमा ध्यान दिएनन् । पाँचौं विकेटका लागि भीमले कुशलसँग ४६ रनको साझेदारी गरेका थिए । दोस्रो ठूलो २१ रन साझेदारीमा भीमले गुल्सनसँग सातौं विकेटका लागि गरेका थिए । तर भीम एलबीडब्लू शिकार भएपनि नेपालले सम्मानजक योगफल बनाउन सकेन ।

‘पावर प्लेमै ३/४ विकेट गएपछि हामी पछाडि परिसकेका थियौं । भीम र कुशलको साझेदारीले खेलमा फर्काउने प्रयास गर्‍यो’ खेलपछि नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाइले भनेका छन्, ‘त्यो अझ होस् भन्ने हामीले चाहेका थियौं ।’ यसका साथै मध्यक्रममा अर्को एउटा राम्रो साझेदारी भएको २३०/२४० रनको योगफल बन्ने र त्यसलाई रक्षा गर्न सकिने उनको विश्लेषण छ ।

साझेदारी गर्दा विस्तारै विपक्षीमा असर बढ्ने गर्दछ । अनि बलरहरुले विकेटको लिन खोज्दा खराब बलिङ गर्ने सम्भावना रहन्छ । तर नामिबियाले कीर्तिपुरमा पहिले बलिङ गर्दा हुने लाभको भरपुर सदुपयोग गर्‍यो, भीमबाहेक अन्य खेलाडीले धैर्यता र जिम्मेवारी देखाएनन् ।

कप्तान रोहितकुमार पौडेल पनि ब्याटिङ लाइनअप हेवी भएपनि अवसरलाई सदुपयोग गर्न नसकेको स्वीकार गर्छन् ।

शीर्ष क्रमका ब्याट्सम्यानले अफ्नो जिम्मेवारी पूरा गर्न नसकेको स्वीकार गरेका उनले भने, ‘ओडीआईमा शीर्ष ४/५ ब्याटर एकदमै महत्वपूर्ण हुन्छ । तर जसले अवसर पाए, सदुपयोग गर्न सकेनन् । इरास्मसले जहाँ विकेट लिए, त्यहाँ हामीले अझ राम्रो साझेदारी गर्न सक्थ्यौं । त्यसमा चुक्यौं जस्तो लाग्छ ।’

बलिङ युनिटतर्फ ब्याटिङभन्दा राम्रो प्रदर्शन गरेको थियो । तर १३३ रनको लक्ष्य जोगाउन सुरुवातमै तीन चार विकेट लिन सक्नुपर्थ्यो, त्यो सम्भव भएन । नामिबियाले २० ओभरमा ८० रन बनाउँदा दुई विकेट मात्र गुमाएको थियो । २१औं ओभरमा सोमपाल कामीले २ विकेट लिएपनि नेपालले हार टार्न सकेन ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?