+
+

कलाकार भाइरल होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

रासस रासस
२०८० फागुन ५ गते १९:१८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकगीत सङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा शनिबार आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उदघाटन गर्दै प्रधानमन्त्री दाहालले नेपालीपनको सङ्गीत विकृतितर्फ गएकाले त्यसप्रति गम्भीर हुनुपर्ने बताए ।

विविधतापूर्ण मौलिकतामा आधारित गीत सङ्गीतले राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “दर्शक-श्रोताको मन जितेका कालजयी गीत नेपालीको मन, मुटु र जनजिब्रोमा झुण्डिएका छन् । तर पछिल्लो समय ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसमेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ । यसतर्फ कलाकर्मी र सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ ।’

‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रिय हुनु एउटै कुरा नभएको भन्दै प्रधानमन्त्री दाहालले ‘भाइरल’को अर्थ सङ्क्रामक प्रसार भएकाले राम्रो नभएको उल्लेख गरे । सार्वजनिक मेला महोत्सवका कतिपय प्रस्तुति अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेको बताउँदै प्रधानमन्त्री दाहालले यस्ता गतिविधि निरुत्साहित गर्न आग्रह गरे ।

पछिल्लो अधिवेशनबाट प्रतिष्ठानले केही आन्तरिक विवाद र समस्याको सामना गरिरहेको विषयसमेत आफूले जानकारी पाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संस्था विवादको घेरामा तानिँदा आफ्नो प्राज्ञिकता, मौलिकता र सिर्जना मर्ने बताए । उनले बढीभन्दा बढी सहमतिका साथ एकताबद्ध हुन र अन्य विषयभन्दा लोकसङ्गीतको रक्षा र विकासमा नै केन्द्रित भएर अगाडि बढ्न आग्रहसमेत गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?