+
+

मनमोहन कप राष्ट्रिय यू–१६ क्रिकेटमा मधेश प्रदेश बन्यो च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १७:०१

७ फागुन, पोखरा । तेश्रो मनमोहन (एमएम) कप राष्ट्रिय यू-१६ क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरद्वारा आयोजित प्रतियोगितामा सोमबार भएको फाईनलमा मधेशले सुदुर पश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।
मधेश प्रदेश दोश्रो पटक च्याम्पियन बनेको हो । मधेश प्रदेशले एमएम कपको पहिलो संस्करणमा समेत उपाधि जितेको थियो ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको फाईनलमा सुदूरले दिएको ८७ रनको लक्ष्य मधेशले २०.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मधेशका लागि प्रियाशुं कर्णले १३ रन बनाए । मोहमद अरमानले २० रनको योगदान दिंदा परिमार्जन यादवले ३० रनमा नट आउट रहे । सुदुर पश्चिमका लागि डम्वर माझीले २, निराजन गौतम र निरज ऐरले १–१ विकेट लिए ।

टस जितेर व्याटिङ रोजेको सुदुर पश्चिम २०.२ ओभरमा सबै विकेट गुमाउँदै ८६ रन बनायो । सुदुर पश्चिमका लागि विशाल विष्टले २४, निराजन गौतमले १८ र सचिन साउदले १४ रन बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

सुदूरलाई अलआउट गर्न मधेशका धिरेन्द्र पासवानले ४ र रोहन यादवले ३ विकेट लिए ।फाइनल खेलमा मधेश प्रदेशका धिरेन्द्र पासवान म्यान अफ दि म्याच बने ।च्याम्पियन भए संगै मधेशले नगद १ लाखका साथमा ट्रफी हात पारेको छ भने उपविजेता सुदुर पश्चिमले नगद ५० हजारका साथमा ट्रफी प्राप्त गर्‍यो ।

प्रतियोगितामा मधेश प्रदेशका चन्दन राम प्लेयर अफ दि सिरिज घोषित भए । उनले प्रतियोगितामा ८३ रन बनाउनुकासाथै १० विकेट लिएका थिए । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट बलर सुदुर पश्चिमका डम्बर माझी घोषित भए । उनले प्रतियोगितामा कुल १४ विकेट लिएका थिए ।

यस्तै १५२ रन बनाएका मधेश प्रदेशका राहुल हक अन्सारी उत्कृष्ट ब्याटर घोषित भए । प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, पूर्व संघिय मन्त्री एवं सेन्टरका उपाध्यक्ष रामकुमारी झाँक्रीलगायतले नगद ट्रफी मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । सदस्य सचिव घिसिङले यूवा खेलाडी उत्पादनका लागि प्रतियोगिता सहायक हुने विश्वास व्यक्त गरे ।

माघ २८ गते बाट सुरु भएको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता २५ ओभरमा खेलाईएको थियो । लिग कम नकआउट अन्तर्गत प्रतियोगिताको समूह ‘क’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश छन् भने समूह ‘ख’मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?