+
+

भारतमा प्रहरीसँगको झडपमा एक किसानको मृत्यु, ६ जना वेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १४:११

१० फागुन, काठमाडौं । भारतको किसान आन्दोलनमा प्रहरीको दमनबाट एक युवाको मृत्यु भएपछि प्रदर्शन उग्र बनेको छ । आक्रोशित किसानहरुले सरकार र पुलिस प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् । पन्जाबको शम्भू बोर्डरमा रहेको किसानहरुको क्याम्पमा प्रहरीले आक्रमणसमेत गरेका छन् ।

अर्धसैनिक बल र हरियाणा प्रहरीले पन्जाबस्थित किसानहरुको क्याम्पमा आक्रमण गर्दा ६ जना वेपत्ता भएको किसान अगुवाहरुको भनाइ छ । किसान नेताहरुले बिहीबार पत्रकार सम्मेलन गरी सरकारले बर्बरतापूर्वक आक्रमण गरेको र ६ जना किसान वेपत्ता भएको बताएका हुन् ।

पत्रकार सम्मेलनमा एक किसान नेताले भने, ‘दुई देशबीच लडाइँ हुँदा पनि मानवताको आधारमा प्यारामेडिकल स्टाफहरुमाथि कसैले आक्रमण गर्दैन तर हिजो उनीहरुले खनौरीको मेडिकल क्याम्प, जहाँ डाक्टरहरुले घाइतेहरुको उपचार गरिरहेका थिए, उनीहरुलाई पिटे, लुटपाट गरे । यसबाट थाहा हुन्छ सरकारले बर्बरताको सीमा नाघेको छ ।’

उत्पादनको उचित मूल्य पाउनुपर्ने लगायतका माग राख्दै भारतका पन्जाब, हरियाण, उत्तर प्रदेश लगायतका किसानहरुले दिल्ली मार्च अभियान चलाएका छन् । तर सुरक्षाकर्मीहरुले दिल्ली प्रवेश गर्ने नाकाहरु बन्द गरेर किसानहरुलाई रोक्दै आएका छन् । किसानहरुले नौ दिनदेखि प्रदर्शन जारी राख्दै केन्द्रीय मन्त्रीहरुसँग वार्ता पनि गर्दै आएका छन् । लगातार चार पटकको वार्ता असफल भएपछि बुधबार २१ फेब्रुअरीदेखि उनीहरुले सुरक्षाकर्मीको अवरोध पन्छाएर दिल्लीतर्फ अघि बढ्ने निर्णय गरेका थिए ।

दिल्लीतर्फ अघि बढ्ने क्रममा बुधबार पन्जाब र हरियाणाको सिमानामा पर्ने खनौरी भन्ने स्थानमा प्रहरी र किसानहरुबीच झडप भएको थियो । झडपमा परी किसानहरु तर्फका २१ वर्षीय एक युवकको मृत्यु भएको थियो । १५ जना घाइते भएका छन् । यो घटनापछि संयुक्त किसान मोर्चाले दिल्लीतर्फ अघि बढ्ने योजना तत्काललाई स्थगित गरेको किसान नेता सरवन सिंह पंढेरले जानकारी दिएका छन् ।

किसानहरुले यो घटनाको जिम्मेवार मोदी सरकार रहेको भन्दै सरकारको आलोचना गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?