+
+
मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय :

मापदण्डमा सत्तारुढ दलकै व्यक्ति नपरेपछि उपकुलपति नियुक्ति प्रक्रिया नै स्थगित

नुनुता राई नुनुता राई
२०८० फागुन १० गते २०:५५

१० फागुन, काठमाडौं । मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति छनोटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको छनोट तथा सिफारिस समितिले २६ माघमा १० दिनको समय तोकेर आवेदन माग गर्‍यो ।

यस अवधिमा मध्यपश्चिमको उपकुलपतिका लागि ९ जना र सुदूरपश्चिमका लागि ९ जनाले आवेदन दिए । विश्वविद्यालय अनुदान आयोगका अध्यक्षा देवराज अधिकारी संयोजकत्वको सिफारिस समितिले ६ फागुनमा एक सूचना प्रकाशित गरी छनोट प्रक्रिया स्थगित गर्‍यो ।

उक्त सूचनामा छनोट प्रक्रिया किन स्थगित गरिएको भन्ने खुलाइएको छैन । ‘… सिफारिस समितिको मिति २०८०/११/०६ को बैठकले हाललाई दरखास्त सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गर्ने निर्णय भएको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, समितिको सूचनामा भनिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशीको १८ फागुनमा र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहको १७ फागुनमा कार्यकाल सकिँदैछ । छनोट समितिले प्रक्रिया स्थगित नगरेको भए उनीहरुको कार्यकाल बाँकी छँदैमा यी विश्वविद्यालयमा उपकुलपति छनोट हुन सक्थे ।

तर कुनै कारण नदिई एकाएक प्रक्रिया स्थगित हुनुमा राजनीतिक कारण रहेको ती विश्वविद्यालयका उपकुलपतिहरु बताउँछन् । हुनत प्राध्यापकहरुले छनोट समितिले तय गरेको मापदण्डलाई लिएर प्रश्न उठाएका छन् । सतहमा यही कारण छनोट प्रक्रिया स्थगित गरेको जस्तो पनि देखिएको छ ।

हालै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा गठित सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि तय गरेको मापदण्ड र मध्यपश्चिम तथा सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोटको मापदण्ड अलग अलग भएको कारण देखाएर प्राध्यापक संघहरुले विरोध जनाएका थिए ।

मध्यपश्चिम विश्वविद्यालयको र सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक संघले एउटै कानुन अनुसार स्थापना भएका सबै विश्वविद्यालयको उपकुलपति छनोटको मापदण्ड एउटै हुनुपर्ने माग गरेका छन् ।

उनीहरुका अनुसार त्रिवि उपकुलपति छनोटका लागि अनुसन्धानको अंक ६ राखिएको छ भने सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयका लागि ३५ अंक राखिएको छ ।

यो मापदण्ड अनुसार सुदूरपश्चिम र मध्यपश्चिमको उपकुलपतिमा सत्तारुढ दल निकटकै प्राध्यापकले छनोट नहुने देखिएपछि प्रक्रिया नै रोकिएको मध्यपश्चिम विश्वविद्यालयका एक उपप्राध्यापक बताउँछन् ।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफू निकटकालाई नियुक्त गर्न चाहेका छन् । सुर्खेतका नेता कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र रुकुम पश्चिमका नेता माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले उपकुलपतिलाई आफ्नो प्रतिष्ठासँग जोडेका छन् ।

स्रोतका अनुसार खड्काले मध्यपश्चिम विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका पूर्वडिन देवबहादुर खड्कलाई उपकुलपति बनाउन चाहेका छन् भने जनार्दन शर्माले विज्ञान तथा प्रविधि संकायका प्राध्यापक प्रा.डा.केशरसिं राना, शिक्षा संकायका डिन प्रा.डा.यमबहादुर कार्कीमध्ये एक जनालाई बनाउन चाहेका छन् ।

तर उनीहरु कोही पनि सिफारिस समितिले तोकेको मापदण्ड अनुसार अंक ल्याउन नसक्ने भएपछि छनोट प्रक्रिया नै रोकिएको स्रोतको दाबी छ ।

बहालवाला उपकुलपति प्रा.डा.नन्दबहादुर सिंह एमाले निकट हुन् । उनलाई सत्तारुढ दल निकटका प्राध्यापकहरुले असहयोग गर्दा अहिलेसम्म विश्वविद्यालयको सिनेट बस्न सकेको छैन ।

स्रोतका अनुसार यो पटक कांग्रेस सभापति देउवाले प्रा.डा.हेमराज पन्तलाई उपकुलपति बनाउन चाहेका छन् । तर सिफारिस समितिले आवेदन माग गर्दा उनले दरखास्त नै दिएनन् ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक पटक उपकुलपतिको काममा हस्तक्षेप गरिरहेका छन् । यही कारण पनि माओवादीले उपकुलपति आफू निकटकालाई बनाउन चाहेको बुझिने प्राध्यापकहरु बताउँछन् ।

मध्यपश्चिम विश्वविद्यालयको कार्यकारी परिषद्ले २०७८ सालमा विश्वका विभिन्न विश्वविद्यालयबाट पीएचडी र पोष्ट पीएचडी उपाधि हासिल गरी अनुसन्धानात्मक काम गरिरहेकाहरुलाई फास्ट ट्रयाकमार्फत विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने तयारी गरेको थियो ।

तर यो कार्यक्रम विवादित भएर अहिलेसम्म छनोट प्रक्रिया पूरा भएको छैन । यो काममा कुलपतिको हैसियतमा प्रधानमन्त्रीले पनि पटक पटक हस्तक्षेप गरेका थिए ।

सिफारिस समितिले दरखास्त माग गर्दा मध्यपश्चिमको उपकुलपतिका लागि बहालवाला उपकुलपति प्रा.डा.सिंह, विज्ञान तथा प्रविधि संकायका प्राध्यापक प्रा.डा.केशवसिं राना, शिक्षा संकायका डीन प्रा.डा.यमबहादुर कार्की र योजना विभाग निर्देशनालयको निर्देशक डा.सिद्धि रिजाल लगायतले आवेदन दिएका छन् ।

यता सुदूरपश्चिम विश्वविद्यालयमा भने कांग्रेसले आफू निकटकालाई उपकुलपति बनाउन चाहेको छ । डडेल्धुराबाट निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवाले नै उपकुलपति नियुक्तिमा चासो दिएको स्रोतको भनाइ छ ।

सुदूरपश्चिम विश्वविद्यालयमा सुरुवातदेखि नै कांग्रेस निकटका व्यक्तिहरु उपकुलपति रहँदै आएका छन् । स्रोतका अनुसार यो पटक कांग्रेस सभापति देउवाले प्रा.डा.हेमराज पन्तलाई उपकुलपति बनाउन चाहेका छन् । तर सिफारिस समितिले आवेदन माग गर्दा उनले दरखास्त नै दिएनन् । दरखास्त दिनेहरुको मापदण्ड अनुसार योग्यता नपुगेका कारण प्रक्रिया स्थगित गरिएको स्रोतको दाबी छ ।

प्रा.डा.हेमराज पन्त पुल्चोक इन्जिनियरिङ क्याम्पसका एप्लाइड साइन्स विभाग प्रमुख समेत हुन् । उनले त्रिवि उपकुलपतिको लागि आवेदन दिएका थिए । विश्वविद्यालयका एक प्राध्यापक भन्छन् ‘देउवाले हेमराजजीलाई ल्याउन चाहनुभएको रहेछ तर उहाँले आवेदन नै नदिएपछि अन्तिम समयमा आएर प्रक्रिया रोकिएको रहेछ ।’

मापदण्ड समान हुनुपर्छ : प्राध्यापक संघ

मध्यपश्चिम तथा सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक संघले अनुसन्धानमूलक लेख प्रकाशनको अंकभार माथि प्रश्न उठाउँदै उपकुलपति छनोट प्रक्रिया रोकी छलफल गराउन प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा निवेदन दिएको छ ।

मध्यपश्चिम विश्वविद्यालय प्राध्यापक संघ, केन्द्रीय तदर्थ समितिका संयोजक कुशल बुढाथोकी एउटै ऐनबाट स्थापना भएका विश्वविद्यालयहरुको उपकुलपति छनोट प्रक्रिया समान हुनुपर्ने आफूहरुको माग रहेको बताउँछन् । ‘अर्को कुरा विश्वविद्यालय नेतृत्व गर्न प्राज्ञिकसँगै प्रशासनिक ज्ञान भएको व्यक्ति आउनुपर्छ’, उनले भने ।

अहिलेको मापदण्डले प्राज्ञिक व्यत्तित्व मात्रै आउने र त्यसले विश्वविद्यालयको प्रशासन कमजोर हुने उनको भनाइ छ ।

सुदूरपश्चिम प्राध्यापक संघले अनुसन्धानमा बढी अंकभार राखिँदा कतिपय संकायका प्राध्यापकहरु छनोट हुनै नसक्ने देखिएको र यो मापदण्ड पूर्वाग्रही भएको बताएको छ ।

अध्यक्ष डा. राजेन्द्रवीर चन्दले सबै विश्वविद्यालयको मापदण्ड समान बनाउने विषयमा छलफल गर्न संसदीय समितिलाई अनुरोध गरेको बताए ।

‘तोकिएको अंकभारको आधार के हो, निश्चित भाषा तथा जर्नलमा लेख प्रकाशित हुनुपर्छ भन्नुको आधार के हो लगायत सबै कुरामा बृहत  छलफल गरेर समान मापदण्ड बनाइनुपर्छ भन्ने हाम्रो माग हो’, उनले भने ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?