 
																						१३ फागुन, काठमाडौं । सरकारले देशभर दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु गरेको छ । कोरोना महामारीको समयमा बालबालिकाले नियमित खोप लगाउन नपाउँदा केही जिल्लामा दादुरा फैलिएको थियो ।
सरकारले दादुरा धेरै फैलिएको काठमाडौं उपत्यकाका ३ र तराई मधेशका २१ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई यो खोप लगाउन अभियान सञ्चालन गर्दैछ ।
बाँकी जिल्लामा भने ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकाले मात्र यो खोप लगाउनेछन् । त्यसका लागि १३ फागुनदेखि ७ चैतसम्म अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।
भूकम्पबाट प्रभावित रुकुमपश्चिम र जाजरकोटमा भने खोप लगाइसकिएको छ ।
१५ वर्षकालाई किन ?
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना महामारीको समय र त्यसपछि तराई मधेशका जिल्लाका बालबालिका दादुरा–रुबेला विरुद्धको खोप लगाउन छुटेका छन् । सरकारको नियमित खोप अभियान अन्तर्गत दादुरा–रुबेला विरुद्धको खोप बालबालिका ९ महिना हुँदा र १५ महिना हुँदा गरी दुई पटक दिइन्छ ।
परिवार कल्याण महाशाखाले गरेको एक अध्ययनले १५ वर्षमुनिका बालबालिकामा रोगसँग लड्न सक्ने क्षमता कम भएको पाइएकाले दादुराको संक्रमण देखिएको जिल्लामा १५ वर्षसम्मका लागि खोप दिन लागिएको डा. गौतमले बताए ।
‘गत एक वर्षको अवधिमा नेपालको विभिन्न ठाउँमा फैलिएको दादुरा रोगको महामारीमा देखिएका बिरामीको उमेर विश्लेषण गर्दा तराई र काठमाडौं उपत्यकाका जिल्लाहरूमा धेरैजसो १५ वर्षसम्मका बालबालिकामा दादुरा देखिएको थियो’, डा. गौतमले भने । यसअघि पनि सरकारले चार–चार वर्षकाे फरकमा अभियान चलाउँदै आएकाे छ जसमा उच्च जाेखिम क्षेत्रको आधारमा १५ वर्ष सम्मका बालबालिकालाई खोप दिंदै आएकाे छ ।
सरकारले सन् २०२३ मा नेपालबाट दादुरा रुवेला निवारण गर्ने लक्ष्य लिए पनि केही जिल्लामा यो रोगका बिरामी फेला परेपछि लक्ष्य पूरा हुन सकेन । अब सन् २०२६ भित्र दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य सरकारले राखेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा दादुरा–रुबेला विरुद्धको खोपको दोस्रो मात्रा लगाउने बालबालिका ७०.७ प्रतिशत मात्र थिए । आर्थिक वर्ष २०७७/७८ मा ८०.९, आर्थिक वर्ष २०७८/७९ मा ९२. ८ प्रतिशत र २०७९/८० मा ९५ प्रतिशतले दोस्रो मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । यो तथ्यांकले धेरै बालबालिकाको नियमित खोप छुटिरहेको देखिन्छ ।
‘कोरोना महामारीको कारण धेरै बालबालिका खोप लगाउन छुटे । अहिले पनि कतिपय बालबालिका खोप छुटेकाले दादुराको महामारी नै देखा पर्दा निवारण गर्न सकेनौं’ डा. गौतम भन्छन्, ‘नेपालले मात्रै होइन, साउथ एसियाका ११ देशले निवारण गर्न नसकेकाले एउटै लक्ष्य लिएर अगाडि लागि अघि बढेका छौं ।’
खोप शाखाका प्रमुख डा. गौतमका अनुसार ५७ लाख ८२ हजार ९९३ बालबालिकालाई यसपटक दादुरा र रुबेलाको खोप लगाइने छ । यो खोप नेपालभरका ४८ हजार ७९८ केन्द्रबाट लगाइने छ ।
धेरै अभिभावकले छोराछोरीमा पहिलो डोज लगाएपछि दोस्रो डोज लगाउनुपर्छ भन्ने जानकारी नभएकाले दोस्रो डोजको कभरेज कम भएको विज्ञहरु बताउँछन् ।
दादुरा अत्यन्त संक्रामक भाइरसले गर्दा हुने रोग हो । यो साना बालबालिकामा हुने मृत्यु र विकलांगताको समेत प्रमुख कारक हो । चिकित्सकका अनुसार, कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बढी हुने गर्छ ।
दादुरा अति छिटो सर्ने संक्रामक रोग हो जुन मिजल्स भाइरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाइरस) कै कारणबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन खोप कार्यक्रममा भएको कमि–कमजोरीका कारण पछिल्लो समय दादुराको प्रकोप बढेको हुनसक्ने बताउँछन् ।
‘प्रकोप देखिएपछि तुरुन्त एक्सनमा जानुपर्ने काम हुनसकेको छैन । यस्तै खोपको महत्वको बारेमा जनमानसमा अझै बुझाउन नसक्दा यस्तो अवस्था आएको हो’, डा. पुनले भने ।
‘एक जनाबाट १८ जनासम्मलाई सर्न सक्छ’
दादुरा र रुबेला रोग सामन्यतयाः ५ वर्षमुनिका बालबालिकामा धेरै हुने र छिट्टै फैलिएर महामारीको जोखिम हुने विज्ञहरु बताउँछन् । दादुरा संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनुका साथै मृत्यु समेत हुनसक्छ ।
दादुरा–रुबेलाका भाइरस मानिसमा मात्रै सर्दछ । यी भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रहेर वृद्धि हुने र श्वास नली एवं अरु भित्री अंगहरुमा संक्रमण गर्छ । रोग लागेको व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्कने छिटाबाट हावाको माध्यमबाट यो रोग सर्ने डा. पुन बताउँछन् ।
सामान्य अवस्थामा एक संक्रमितबाट १८ जनासम्म व्यक्तिहरूमा दादुरा–रुबेला सर्न सक्छ । त्यसैगरी यी रोगबाट सामान्यतया १० प्रतिशत बालबालिकाको मृत्यु हुनसक्छ भने आपतकालीन अवस्थामा मृत्युदर ३० प्रतिशतसम्म हुनसक्छ ।
चिकित्सकका अनुसार दादुरा संक्रमणबाट पखाला लाग्ने, कानको संक्रमण हुने, निमोनिया हुने, अन्धोपन हुने, कम्पन आउने, मस्तिष्कमा कडा खालको संक्रमण हुने र यस प्रकारका जटिलताबाट बिरामीको मृत्यु समेत हुनसक्छ ।
रुवेलाको संक्रमणबाट हाडजोर्नीहरू सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण हुने, गर्भपतन हुने वा मृत शिशु जन्मने, अन्धोपना, बहिरोपना, मुटु र मस्तिष्कमा विकृति जस्ता जन्मजात विकलाङ्ग हुने र यस प्रकारका जटिलताको कारण बिरामीको मृत्यु समेत हुन्छ ।
दादुराको सामान्य लक्षण हो– तीव्र ज्वरो आउनु । दादुरा भएकाहरूको सम्पर्कमा आएको १०–१२ दिनपछि ज्वरो सुरु हुन्छ र ४ दिनदेखि एक सातासम्म रहिरहन्छ ।
दादुरा लाग्दा बालबालिकालाई थकान महसुस हुने तथा रुघा–खोकी लाग्ने गर्छ । आँखा राता हुने, मुखभित्र सेतो दाग देखिने पनि हुन सक्छ । केही दिनपछि सामान्यतया अनुहार र घाँटीको माथिल्लो भागमा बिमिरा देखिन्छ । बिमिरा तीन दिनपछि फैलिन्छ र हात–खुट्टामा समेत देखिन थाल्छ र ५–६ दिनपछि आफैँ फोस्रिँदै जान्छ ।
दादुराको संक्रमण धेरै भएको अवस्थामा फोक्सो, कानको बीच भाग र मस्तिष्कमा समेत समस्या देखिन्छ । दादुराको उपचार नभए बिरामीको मृत्यु समेत हुनसक्छ ।
चिकित्सकहरूका अनुसार, दादुरा लागेपछि यसको उपचार छैन । तर, अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्गै राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार उपचार गर्नुपर्छ ।
ज्वरो आएमा पारासिटामोल खुवाउने, पखाला लागे पुनर्जलीय झोल दिनुपर्छ । राम्रो पोषण, पर्याप्त तरलपदार्थ सेवन र शरीरमा देखिएको पानीको कमीलाई जीवनजलको माध्यमले उपचार गरिन्छ । दादुराकै विशेष कुनै उपचार नभएकाले रोग लाग्नबाट बच्नको लागि खोप लगाउनु नै प्रभावकारी र उत्तम उपाय भएको चिकित्सक बताउँछन् ।
सरकारले ३५ वर्षदेखि दादुरा र ११ वर्षदेखि रुबेलाको नियमित खोप दिंदै आइरहेको छ । यो खोपको हालसम्म कुनै पनि व्यक्तिमा गम्भीर असर देखिएको छैन । तर खोप लगाएको केही समयपछि कुनै व्यक्तिमा हल्का ज्वरो आउने, शरीरमा दादुराको जस्तैः विमिराहरू आउने जस्ता असर भने देखिन सक्छ । यस्ता असरहरू केही दिनपछि आफै ठीक हुन्छन् ।
दादुरा–रुबेला खोप लगाउँदा गम्भीर प्रकारको कुनै एलर्जी (एनाफाइलाक्सिस्) देखिए स्वास्थ्यकर्मीको परामर्श लिनुपर्छ ।
त्यस्तै एड्सका लक्षण देखा परेको, रोग प्रतिरोधात्मक शक्ति कम भएको, सिकिस्त बिरामी भएको, उपचार सुरु नगरेका क्षयरोगको बिरामी र गर्भवतीले भने यो खोप लगाउन नहुने चिकित्सकहरुले बताएका छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4