+
+

फुटपाथ व्यापारीमाथि आक्रमणको मानव अधिकार आयोगले गर्‍यो अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १८:२९

२१ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि गरेको कुटपिटको घटनाको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ ।

१६ फागुनको राति ८ बजेतिर सुन्धारामा नगर प्रहरीले फुटपाथ व्यापारीको समूहमाथि लाठी प्रहार गर्दा भएको झडपका क्रममा दुबैतर्फ गरी ११ जना घाइते भएका थिए । आयोगले सोमबार एक विज्ञप्ति जारी गरी यो घटनालाई गम्भीर रुपमा लिएको बताएको छ ।

आयोगले घटनाको सत्यतथ्य विवरण एवं फुटपाथ व्यवसायीहरुसँग यसअघि गरिएको सम्झौताको कार्यान्वयन अवस्थासहितको जानकारी उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको छ । त्यस्तै फुटपाथ व्यवसायीहरु र सरोकारवालासँग पनि घटनाको विषयमा जानकारी लिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताएका छन् ।

‘काठमाडौं महानगरपालिकाका प्रहरीहरुले फुटपाथ व्यवसायीहरुलाई रातको ८ बजेको समयमा कुटपिट गर्नुका साथै दुर्व्यवहार गरेको, कुटपिटबाट घाइते भएकाहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको, व्यवसायीहरुको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएको लगायतका सूचना अनुगमनका क्रममा आयोगलाई प्राप्त भएको छ’, आयोगले विज्ञप्तिमा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?