+
+

आफ्ना सांसदलाई माओवादीमा नराखिदिन निर्वाचन आयोगमा बाबुरामको निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १९:०२

२२ फागुन, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट जितेका आफ्ना पार्टीका जनप्रतिनिधिलाई छुट्टै दलको रुपमा अभिलेख गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

४ मंसिर २०७९ मा भएको प्रदेशसभा र प्रतिनिधि सभाको चुनावमा नेसपा र माओवादी केन्द्रले एउटै चुनाव चिह्न प्रयोग गरेका थिए ।

माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव जितेकाहरुमध्ये आफ्ना पार्टीका जनप्रतिनिधिलाई छुट्टै दलको रुपमा अभिलेख गरिदिन माग गर्दै नेसपाले निर्वाचन आयोग र संघीय संसद सचिवालयमा निवेदन दिएको हो ।

माओवादीको चुनाव चिह्नबाट संघीय संसदमा प्रत्यक्षतर्फ महिन्द्र राय यादव र समानुपातिक पद्धतिबाट उमरावती देवी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

बागमती प्रदेश सभामा सिन्धुली–२ (ख) बाट गंगानारायण श्रेष्ठ र गण्डकी प्रदेशसभामा गोरखा–२ (ख) बाट फणीन्द्र देवकोटा निर्वाचित भएका थिए ।

निर्वाचन आयोगका उपसचिव टेकराज भुसालले नेसपाको निवेदन आएको पुष्टि गरे । गत माघ तेस्रो साता नेसपाको निवेदन आएको र आयोग निर्णयको प्रक्रियामा रहेको उनले जानकारी दिए ।

निर्वाचन आयोगका अधिकारीहरुका अनुसार संयुक्त चुनाव चिह्नबाट चुनाव लडेकाहरुमध्ये आफू कुन दलबाट चुनाव लडेको हो त्यही दलको रुपमा विवरण अद्यावधिकका लागि निवेदन दिन सक्छन् । यस्तो अवस्थामा निर्वाचन आयोगले निवेदन दिने जनप्रतिनिधिको प्रत्यक्ष उपस्थितिमा दल छुट्याएर विवरण अखिलेख गरिदिन सक्छ ।

नेसपाले संघीय संसद सचिवालमा पनि दुई जना प्रतिनिधि सभा सदस्यलाई नेसपाको सांसदको रुपमा विवरण अभिलेख गरिदिन माग गर्दै निवेदन दिएको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले नेसपाको निवेदन आएको र निर्णय प्रक्रियामा रहेको जानकारी दिए ।

प्रवक्ता गिरीका अनुसार राजनीतिक दल सम्बन्धी ऐनले दुई वा दुई भन्दा बढी दल एउटै चुनाव चिह्नमा चुनाव लड्न सक्ने व्यवस्था गरेको र सोही ऐन अनुसार निर्वाचित भएपछि छुट्टिन चाहँदा निर्णय हुने बताउँछन् । यस्तो निर्णयका लागि निर्वाचन आयोगको निर्णय समेत आवश्यक पर्ने उनको भनाइ छ ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ४९ मा एकल चुनाव चिह्न लिई दुई वा दुई भन्दा बढी दलहरुले चुनाव लड्न सक्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?