+
+

मृत्यु-धराप बन्दै यात्रुवाहक बस

सडकबाट नदीमा खस्नबाट जोगाउने गरी पूर्वाधार बनाउने हो भने धेरै हदसम्म दुर्घटनामा हुने मानवीय क्षति कम गर्न सकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाको दाबी छ ।

अच्युत पुरी अच्युत पुरी
२०८० फागुन २४ गते ११:०४

२४ फागुन, काठमाडौं । मुलुकको नेतृत्व सत्ता दौडधुपमा व्यस्त रहेको दिन बुधबार बिहानै धादिङ गजुरी गाउँपालिका-५ घाटबेंसीमा लु२ख २१२१ नम्बरको बस त्रिशूली नदीमा खस्यो । दुर्घटनास्थलमा ५ जनाको मृत्यु भयो । घाइतेमध्ये थप २ जनाको उपचारको क्रममा मृत्यु भयो ।

नेपाल प्रहरीका अनुसार दुर्घटनामा ३९ जना घाइते छन् । तीमध्ये गम्भीर १० लाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । ज्यान गुमाउनेमा ६ पुरुष र एक महिला छन् । लुम्बिनीबाट काठमाडौंका लागि ५१ यात्रु बोकेर हिँडेको उक्त बस करिब ४ः४५ बजे सडकबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा चालक भने सुरक्षित छन् ।

बुधबार नै धनगढीबाट विराटनगर जाँदै गरेको ना ६ ख ९०३० नम्बरको यात्रु बस बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ स्थित ३ नम्बर पुलमा दुर्घटना भयो । दुर्घटनामा २८ जना घाइते भएकोमा एक जनाको उपचार क्रममा मृत्यु गयो ।

गत ८ माघमा बर्दियाबाट काठमाडौंका लागि छुटेको प्र ३-०१००५ ख ९७१९ नम्बरको बस दाङको रिहार नजिकै दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भयो ।

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ००९८ नम्बरको बस यही फागुन ३ गते कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोला पुल नजिक दुर्घटना हुँदा १० जनाको ज्यान गयो ।

प्रतिव्यक्ति सवारीसाधन संख्या निकै कम रहेको नेपालजस्तो मुलुकमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या दैनिक ७ भन्दा माथि पुग्नु भयावह अवस्था मानिन्छ । यो मानवीय क्षति बससहित सबै सवारी दुर्घटनाका कारण भएका हुन् ।

गत २७ पुसमा बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङको भालुबाङ पुलबाट राप्ती नदीमा खस्दा १२ जनाले ज्यान गुमाएका थिए ।

यी बस दुर्घटनाका केही प्रतिनिधि उदाहरण हुन्, जुन पछिल्लो केही सातायता ज्यानमारा सावित भएका छन् । नेपालमा पछिल्लो एक वर्ष (१ माघ २०७९ देखि २९ पुस २०८०) अवधिमा सडक दुर्घटनामा बस संलग्नताको कहालीलाग्दो तथ्यांक नेपाल प्रहरीसँग छ । एक वर्षमा मुलुकभर कुल २ हजार ८ सय ५७ दुर्घटनामा बसको संलग्नता रहेको नेपाल प्रहरीको तथ्यांक छ ।

यस अवधिमा ३९ हजार ५ सय ८ सवारी दुर्घटना भएका छन् । संख्यात्मक सवारी दुर्घटनामा दुई पाङ्ग्रेको हिस्सा धेरै छ । तर, धेरै मानवीय क्षति बस दुर्घटनाका कारण हुने गरेको छ ।

एक वर्षमा सवारी दुर्घटनाका कारण कुल २ हजार १ सय ७ वयष्क र १ सय ३७ बालबालिकाको ज्यान गएको छ । तथ्यांक अनुसार नेपालमा सवारी दुर्घटनाका कारण दैनिक औसत सरदर ६.२५ जनाले ज्यान गुमाइरहेको देखिन्छ । घाइते हुनेको संख्या हजारौं छ ।

प्रतिव्यक्ति सवारीसाधन संख्या निकै कम रहेको नेपालजस्तो मुलुकमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या दैनिक ७ भन्दा माथि पुग्नु भयावह अवस्था मानिन्छ । यो मानवीय क्षति बससहित सबै सवारी दुर्घटनाका कारण भएका हुन् ।

जनताको मृत्युमा संवेदनशील छैन राज्य

हवाईजहाजसँग सम्बन्धित स-साना दुर्घटनामा छानबिन आयोग गठन गरी अर्को दुर्घटना हुन नदिने कारण खोज्न तत्पर हुने राज्य सडक दुर्घटनाका बेला भने उदासीन बस्छ ।

बुधबार ७ जनाको मृत्यु भएको डरलाग्दो दुर्घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै श्रद्धाञ्जली र समवेदना प्रकट त गरे, तर शृृङ्खलाबद्ध ज्यानमारा दुर्घटना रोक्न राज्य कति गम्भीर छ भन्ने अनुभूति उनले जनतालाई दिलाउन सकेनन् । किनकि, बुधबार दिनभरि उनको दैनिकी सरकार विस्तार र गठबन्धन जोगाउने दौडधुपमा बित्यो ।

कर्मचारीको दिन नयाँ मन्त्री को आउँछ र कतिबेला स्वागत गर्ने भन्ने प्रतीक्षामै बित्यो । यो विषय संयोगवस बुधबार परेको सरकार विस्तारसँग मात्र जोडिँदैन, हरेक दुर्घटनापिच्छे राज्यले गम्भीर भएर यसका कारण केलाउन नसक्दा दुर्घटना दोहोरिने र नागरिकले अनाहकमा ज्यान गुमाइरहेको देखिन्छ ।

निवर्तमान भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई गत माघ तेस्रो साता यातायात सुधार सुझाव कार्यदलले एक विस्तृत प्रतिवेदन बुझायो । यो प्रतिवेदन दराजमा थन्क्याएर ज्वाला बिदा भए, समस्या जहाँको तहीँ छ ।

किन दोहोरिरहेको छ दुर्घटना ?

नेपालमा पछिल्लो समय भएका दुर्घटना राम्रो सडक पूर्वाधार भएको स्थान र सहज भौगोलिक अवस्थितिमा भएका छन् । अधिकांश बस रात्रिकालीन यात्रुवाहक प्रकृतिका छन् । जसले गर्दा ठूलो मानवीय क्षति भएको छ ।

नियम अनुसार नेपालमा २ सय ५० किलोमिटरभन्दा लामो दुरीको गन्तव्यमा गुड्ने बसमा दुई जना चालक अनिवार्य हुनुपर्छ । अर्थात्, एउटा निश्चित दुरीमा आइसकेपछि चालक परिवर्तन हुनुपर्छ । उक्त क्षेत्रमा रिफ्रेसमेन्ट सेन्टर राख्ने र चालक परिवर्तन गर्नुपर्ने नियम छ । तर, यो नियमको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले दोहोरो चालक राख्नुपर्ने कर्तव्य सवारी धनीलाई तोकेको छ । तर, दोहोरो चालक नराखे हुने कारबाही कमजोर छ ।

ऐनअनुसार दोहोरो चालक नराखेमा वा नफेरे २ सयदेखि १ हजार रुपैयाँमात्र जरिबाना हुन्छ । सोही कारण व्यवहारमा एक जनामात्र चालकले लगातार २४/२५ घण्टासम्म बस चलाइरहेको अवस्था छ । आफ्नो सवारीसाधन र यात्रुलाई सुरक्षित गन्तव्य पुर्‍याउने जिम्मेवारी सम्बन्धित व्यवसायी र चालकको हो । तर, प्रहरीले प्रभावकारी नियमन गर्न नसक्दा व्यवसायीले फाइदा उठाइरहेका छन् ।

यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन अनुसार नेपालमा सडक दुर्घटनामा मानवीय, यान्त्रिक, सडक, प्रयोगकर्ता र मौसम गरी पाँच कारण मुख्य मानिन्छ ।

आवश्यकता अनुसार यान्त्रिक परीक्षण नगर्नु, प्रहरीले समेत परीक्षण गरे-नगरेको बारे नियमन गर्न नसक्नु, अस्वस्थ प्रतिस्पर्धाका कारण तीव्र गतिमा सवारी चलाउनु, सडकको कमजोर गुणस्तर दुर्घटनाका कारण हुन् ।

विज्ञका अनुसार नियमनको जिम्मेवारी पाएको नेपाल प्रहरीले ‘कागज’ हेरेर नियमन गर्ने, चालकमा अनुशासनको कमी र राजमार्गमा सवारीसाधन नियमनका लागि पर्याप्त जनशक्ति र प्रविधि अभावले समेत दुर्घटना बढाइरहेको प्रतिवेदनले औंल्याएको छ ।

क्षमताभन्दा धेरै यात्रु र सार्वजनिक बसले थेग्नेभन्दा बढी भारी सामान बोकेर हिँड्दा पनि आँखा चिम्लिने प्रहरी प्रवृत्तिले दुर्घटना निम्त्याउन भूमिका खेलेको हुन्छ ।

लामो दुरीको यातायातमा एउटै चालकले २०-२५ घण्टासम्म सवारी चलाउँदा थकानले निदाउने समस्या पनि हुन्छ । राज्यले लामो दुरीमा दुई चालक अनिवार्य चाहिने यो नियम लागु गराउन नसक्दा समेत नागरिकले अकालमा ज्यान गुमाइरहेका छन् ।

पछिल्लो समय नेपाल प्रहरीले गरेको चेकिङमा मादक पदार्थ र लागुऔषध प्रयोग गरेर समेत यात्रुवाहक सवारीसाधन चलाएको अधिक भेटिन थालेको छ ।

जनशक्ति अभावले २ चालक राख्न सकिएन : व्यवसायी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ वरिष्ठ उपाध्यक्ष सरोज सिटौला

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ वरिष्ठ उपाध्यक्ष सरोज सिटौला नेपालमा जनशक्ति अभावले लामो दुरीका बसमा पनि दुई जना चालक राख्न नसकिएको बताउँछन् ।

यद्यपि, दुर्घटनामा चालकको दोष कम हुने उनको दाबी छ । धादिङ दुर्घटनाको दृष्टिकोणले जोखिमको ‘क’ श्रेणीमा पर्छ । ‘यति धेरै बस, गाडी यो बाटोबाट नदीमा झरिसके, किन आजसम्म हेभी डिभाइडर हामीले लगाउन सकेनौं ?,’ सिटौला भन्छन् ।

सडकबाट नदीमा खस्नबाट जोगाउने गरी पूर्वाधार बनाउने हो भने धेरै हदसम्म दुर्घटनामा हुने मानवीय क्षति कम गर्न सकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाको दाबी छ । नेपालमा काम सिकेका राम्रा चालक अवसर पाएपछि विदेश गइहाल्ने भएकाले समेत अहिले व्यवसायीले समस्या भोगिरहेको उनको भनाइ छ ।

ट्राफिक कम्युनिकेसन एपबाट नियमन हुन्छ : ट्राफिक प्रहरी

ट्राफिक प्रहरीले अहिले दोहोरो चालक राख्नुपर्ने नियम पालना भए-नभएको बारे एपका माध्यमबाट नियमन थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त एपमा काठमाडौंबाट छुट्ने बेला चालकको लाइसेन्स नम्बर, सवारीसाधन नम्बर, कहाँबाट कहाँ जाने गन्तव्य र सवारी चालकको तस्वीर अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ ।

लामो दुरीका सवारीसाधनलाई विभिन्न स्थानमा चालक फेर्नुपर्ने प्वाइन्ट तोकिएको छ । यसरी तोकिएका स्थान कोशी प्रदेशका लागि सुनसरीको तारबारी, मधेश प्रदेशको थपलैया र सिरहा, बागमतीको रामनगर, चितवन र गण्डकीका लागि तनहुँको आँबुखैरेनीलाई प्वाइन्ट तोकिएको छ ।

लुम्बिनीका लागि नवलपरासीको भुमही, कणर्ालीका लागि सुर्खेत र सुदूरपश्चिमका लागि कैलालीको अत्तरियालाई मध्यबिन्दु मानेर चालक फेर्नुपर्ने गरी ट्राफिक प्रहरीले व्यवस्थापन मिलाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

काठमाडौंको हकमा नागढुंगामा कडाइकासाथ चेक हुने उनको भनाइ छ । ‘एपमा अपलोड गरिएपछि काठमाडौंबाट बस कुन चालकले लिएर गएको हो भन्ने विवरण पत्ता लाग्छ,’ उनले भने, ‘तोकिएको प्वाइन्टमा पुगेपछि चालक नफेरी गन्तव्यमा पुगेको भए सोही प्रमाणलाई आधार मानेर प्रहरीले जरिवाना गर्छ । यो प्रविधिले नियमन प्रभावकारी बनाउँछ ।’

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?