+
+

नयाँ गठबन्धन बन्नुमा कांग्रेस नै कारक हो : देवेन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १५:४४

२४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले कांग्रेसको महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनमा तत्कालीन १० वर्षे सशस्त्र युद्धको विषयमा प्रयोग भएका पदावली नयाँ सत्तासमीकरण निर्माणको एउटा आधार भएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले कांग्रेस महासमिति बैठकमा पेश भएका प्रतिवेदनका कतिपय पदावली र शब्दावली मन दुख्ने खालको रहेको बताए ।

‘हामी एउटै गठबन्धनमा भएको दललाई तपाईंले यो भाषा शब्द प्रयोग गर्दा मनमा चिसो परेन होला ?’, उनले भने, ‘सहकार्यमा एउटै डुंगामा यात्रा गरिरहेको बेलामा तपाईंहरुले यतिसम्म त ख्याल गर्नु पर्थ्यो होला नि ।’

मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका कांग्रेस पूर्वसभापति गिरिजाप्रसाद कोइराला भएको भए महासमितिका प्रतिवेदनमा त्यस्ता शब्द प्रयोग नहुने उनको भनाइ छ । साथै गिरिजा प्रसाद कोइराला भएको भए शान्ति प्रक्रियाको विषयमा सबैलाई मिलाएर टुंगो लगाउँथे होला भन्ने बुझाइ पनि आफ्नो रहेको पौडेलले बताए ।

‘आज मैले गिरिजाप्रसाद कोइराला सम्झेको छु । उहाँ भएको भए कांग्रेसको महासमितिमा जनयुद्धप्रति प्रयोग भए जस्तो प्रकारको पदावली प्रयोग हुने थिएन । उहाँले सम्हालेर लिएर जानुहुन्थ्यो’, उनले प्रश्न गरे, ‘अहिले कसैले बन्दुक समातेको त छैन । अहिले हिंसात्मक गतिविधि छैन भने कांग्रेसको दस्तावेजमा यस्तो पदावली किन चाहियो ?’

सशस्त्र युद्धका विषयमा आफूहरु हजार पटक छलफल गर्न तयार रहेको पनि उनले दोहोर्‍याए ।

‘एक पटक होइन हजार पटक छलफल गर्न तयार छौं । हामीले जनी जानी गरेको हो त्यो आन्दोलन । इतिहासको कालखण्डमा फर्केर हेर्दा तपाईंहरुले पनि त्यस्तो आन्दोलन गर्नुभयो’, सचिव पौडेलले कांग्रेस नेताहरुलाई भने ।

सशस्त्र युद्धकै बलमा निरंकुशताको अन्त्य भएको र मुलुक संघीय लोकतान्त्रिक शासन व्यवस्थामा रुपान्तरित भएको उनले बताए । साथै, कांग्रेस नेताहरुलाई उनले अर्को दलले परिवर्तनका लागि गरेको आन्दोलनलाई सम्मान गर्नका लागि सिक्न पनि सुझाव दिए ।

उनी थप्छन्, ‘नेपालमा निरंकुशताको अन्त्य गर्नुपर्ने थियो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न र निरंकुशताको अन्त्य गर्नको निम्ति थियो त्यो माओवादी आन्दोलन । र एक आन्दोलनले अर्को आन्दोलनलाई सम्मान गर्न पनि सिक्नुपर्छ ।’

कांग्रेसलाई अर्कोप्रति कटाक्ष र्न छोडेर समीक्षा गर्न उनको सुझाव छ ।‘नयाँ आउनु भएका दलहरु फरक परिस्थितिमा आउनुभयो ।

उहाँहरुलाई यो भनाइ छैन । तर, हामी विगतदेखि नै संगै सहकार्यमा छौं नि’ सचिव पौडेलले कांग्रेसलाई भनेका छन्, ‘कटाक्षहरुबाट हामी माथि उठौं । हामी पनि समीक्षा गछौं । गठबन्धन भनेको आवश्यकता अनुसार मिल्नेहरुसँग मिल्दै जाने हो । कांग्रेसका साथीहरुले समीक्षा गर्नुहोस् ।’

सत्ता गठबन्धनको प्रमुख दलले शान्ति प्रक्रियाको काम अगाडि बढिरहेका बेला उक्त प्रक्रियाको सन्दर्भमा अनावश्यक टिप्पणी पार्टीको महासमितिको बैठकमा गराएको पौडेलको दुःखेसो छ ।

‘यो बेलामा माओवादी हत्या हिंसामा चपेटामा परी आम नागरिकसँगै सुरक्षा निकायका हजारौं र सशस्त्र द्वन्द्वका पक्ष नै नरहेका तर, बिना कारण जनधन गुमाउनु परेका हिंसात्मक द्वन्द्वबाट पीडित भनेर दस्तावेज आएर कांग्रेसको दलमा छलफल भयो’, उनले भने ।

कांग्रेसले पनि विगतमा सशस्त्र युद्ध गरेको तर, त्यसप्रति आफ्नो पार्टीले कहिल्यै प्रश्न नउठाएको उनले बताए ।

‘म प्रश्न गर्न चाहन्छु– हामीले २००७ सालमा कांग्रेसले बनाएको मुक्ति सेनाको बारेमा प्रश्न उठाएका छौं ? २०१७ सालको घटनाको बारेमा त हामीले प्रश्न उठाएका छैनौं । त्यो आवश्यकता थियो गर्नुभयो । जनयुद्ध पनि आवश्यकता थियो र गरिएको हो र हामी सचेतता पूर्वक त्यसमा सहभागी भएका हौं’, माओवादी सचिव पौडेलले भने ।

नयाँ सत्ता समीकरण बनाउने प्रधानमन्त्री प्रचण्डको कदम लगत्तै कांग्रेसले समेत अर्को गठबन्धनको लागि छलफल चलाएको पनि उनले स्मरण गरे ।

‘कांग्रेसका साथीहरुले पनि छलफल त सुरु गर्नुभयो सबैतिर बहुमत जुटाउन सक्नुभएको भए अहिलेको प्रधानमन्त्रीले विश्वासको मत लिन सक्नुहुन्थेन । कोशिश त तपाईंहरुले गर्नुभयो नि’ पौडेलले जवाफ फर्काए, ‘सक्नेले गर्ने हो उथलपुथल । अरु शब्दमा म जान चाहन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?