२५ फागुन, काठमाडौं । टीकामाया गुरुङले प्रथम राष्ट्रव्यापी महिला स्क्वाट च्याम्पियनसिप शुक्रबार स्वर्ण जितेकी छन् ।
टीकामायाले ५७ केजीमुनि तौलसमूहमा स्वर्ण जितेकी हुन् । तारा खैजुले रजत तथा कृष्णकला विष्टले कांस्य जिते ।
नारी दिवसका अवसरमा काठमाडौं व्यायाम व्यवसायी संघद्वारा आयोजित प्रतियोगिताको ५७.१ देखि ६५ केजीसम्म माया मगर पहिलो, डिकी वाक्मो गुरुङ दोश्रो तथा समी राजवाहक तेश्रो भए ।
कमलपोखरीस्थित सिटी सेन्टमा भएको प्रतियोगिताको ६५ केजीमाथि मनुकला राईले स्वर्ण, लुइसा भण्डारीले रजत र पूजा प्रधानले कांस्य जिते ।
प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २० हजार १ सय, १० हजार १ सय र ५ हजार १ सय नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्राप्त गरे ।

विजेतालाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थ, काठमाडौं जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष सुरेश सुवेदी, आयोजक संघकी अध्यक्ष शोभा गुरुङ, सचिव विजयतमरत्न बज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
त्यसअघि एकदिने प्रतियोगिताको काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डंगोलले उद्घाटन गरेकी थिइन् । प्रतियोगितामा ६० खेलाडी सहभागी थिए ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4