युद्धकालमा लेखेका डायरीहरुको संग्रह हालै प्रकाशित गरेको छु। यी डायरी कसरी तयार भए र सबैमा खास के छ भन्ने बारे यहाँ संक्षिप्तमा लेख्दैछु।
डायरी शृंखलालाई मैले यात्रा शृंखलाका रुपमा लिएको छु, युद्धको दशवर्षे समयमा अघिल्ला पाँच वर्ष लेख्न सिक्दै र परिचय स्थापित गर्दै ठिक्क भयो। पत्रकारितामा परिचय स्थापित हुँदै गर्दा र लेख्ने सीप सिक्दै गर्दा जेल यात्राको सुरुवात भयो।
२०५८ मंसीर ११ मा संकटकाल घोषणा हुनुभन्दा केही घण्टा अगाडि हामी पुतलीसडकस्थित जनादेश कार्यालयबाट गिरफ्तार भयौं। २४ दिन महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रको कडा हिरासतमा राखिएपछि २०५८ पुस पहिलो हप्ता भद्र बन्दीगृह सारियौं। यो अलिकति खुलापन प्राप्त गर्ने यात्रा थियो। करिब एक वर्ष भद्र बन्दीगृह बस्दा मैले लेखेका डायरी शृंखलाको पहिलो पुस्तक हो- जेलयात्रा।
यो नेपाली समाजले भोगेको अभिव्यक्ति स्वतन्त्रताको सबैभन्दा सङ्कटपूर्ण अवधिको दस्तावेज हो। डायरी सम्पादनका क्रममा काम गर्दा जेलमा सँगै बसेका र रिहा भएलगत्तै सुरु भएको युद्धमा गुमाएका सहयोद्धाहरूको याद जीवन्त भयो र म भक्कानिएँ। युद्धको भुमरीबाट बचेर यो डायरी यसरी पुस्तकाकृतिमा आउन सर्वप्रथम नेपाल पत्रकार महासङ्घका कर्मचारी साथी टीकाको हात छ। किनकि उनले मेरा डायरी तथा केही महत्वपूर्ण पुस्तक नेपाल पत्रकार महासङ्घको पुरानो भवनको भान्सामाथिको टिनमुनि एक स्टोरभित्र संकटकालीन अवधिभर सुरक्षित राखिदिए।
२०५९ कात्तिक अन्तिमतिर  जेलबाट छुटेपछि नेपाल पत्रकार महासङ्घमा केही समय काम गरें। तत्कालीन सभापति तारानाथ दाहाल, शिव गाउँले, महेन्द्र बिष्ट लगायतले सङ्कटकालमा नेपाली प्रेसले भोगेका पीडा र समस्याबारे पुस्तक प्रकाशित गर्ने एक परियोजनामा मलाई काम दिनुभयो। आफू खाली पनि भएको र सङ्कटकालभित्रै आफूले पनि भोगेको विषयमा पुस्तक लेखनमा सहभागी हुन पाउने भएपछि निकै खुसी लाग्यो र म सङ्कटकालमा राज्यद्वारा दमनमा परेका पत्रकारको तथ्याङ्क सङ्कलनमा लागें।
यही समयमा नेपाल पत्रकार महासङ्घका कर्मचारी साथी टीकासँग गहिरो मित्रता भयो। पछि शान्ति प्रक्रिया पनि सुरु भयो। मैले लामो कर्णाली भ्रमण सकेर फर्केपछि जेलबाट धेरै साथी छुटिसक्नुभएको थियो। त्यो कर्णाली यात्रा सहितको सामग्री डायरी शृंखलाको दोस्रो भाग- बेनी यात्रामा छ तर अलिकति जेलयात्राकै कुरा यहाँ उल्लेख गर्न चाहन्छु।
केही महिनाको शान्ति प्रक्रिया भङ्ग हुने निश्चित भएपछि मैले साथी टीकालाई मेरा जेल डायरी सहितका पुस्तकहरूको एक भारी सुरक्षित राखिदिन अनुरोध गरें। शर्त थियो, ‘म मारिएँ र मारिएको सुनिश्चित भयो भने त्यो बेलाका नेपाल पत्रकार महासङ्घका सभापतिलाई यी सामग्री बुझाइदिनू। म फर्कें भने आफैं मागेर लैजानेछु।’ यो कुरामा उनले सहमति जनाए र मेरा डायरी र केही पुस्तकको झोला राखिदिए।
हामी त्यसपछिको घमासान तीन वर्षको युद्ध समापनलगतै नाफाको जिन्दगी लिएर काठमाडौं फर्कियौं। मैले सुरक्षित राख्न दिएका यी डायरी लगायतका सामग्री साथी टीकाजीसँग फिर्ता लिएँ।
युद्ध भित्रै लेखेर पिठ्युँमा बोक्दै र ओडारमा लुकाउँदै ल्याएका डायरी र टीकाजीको सहयोगमा सुरक्षित डायरीको संरक्षणको अर्को शृंखला सुरु भयो। २०६३ को शान्ति प्रक्रियापछि २०७२ सम्म जेल डायरी सहितका मेरा युद्ध क्षेत्रमा लेखिएका दर्जनौं डायरीले काठमाडौंमा एक दर्जन डेरा सरे। साङ्ला र भुसुना व्यहोरे। भुइँचालो व्यहोरे। २०७२ मा संविधान निर्माणपछि ६ वर्ष प्रवासिंदा यी डायरी केही समय भाइ विष्णुको संरक्षणमा रहे। केही समय राजकुमार कुँवरसँग रहे। युद्धक्षेत्रमै प्रशिक्षार्थी पत्रकारका रुपमा भेटिएका राजबहादुर कुँवरले यी डायरीहरुको पुस्तक बनाउने खाका कोरे र मैले २०५९ देखि २०६३ सम्म लेखेका डायरीको ६ वटा शृङ्खला बनाएर यो रुपमा ल्याउन उनी एक वर्ष निरन्तर खटे। र, यात्रा डायरी शृंखला यो रुपमा तयार भयो।
जेल डायरीको एक चरित्रनायक हुन्- हाम्रा सम्पादक कृष्ण सेन ‘इच्छुक’। हामी जेलमा हुँदा उहाँलाई पक्रिएर हत्या गरेको समाचारले हामी जेलभित्र शोकाकुल भयौं। मैले यो दु:खद् खबर सुनेको रातभरि उहाँले लेखेका शोकाञ्जली, बन्दी र चन्द्रागिरि कविता संग्रह पढें, र इच्छुक मार्गमा हिंड्ने सङ्कल्प गरें। लेखनको रफ्तार बढाएँ।
जेल डायरी जे–जस्तो छ, चौबीस काटेर पच्चीस वर्षेमा पाइला टेकेको माओवादी विद्रोहमा सहभागी एक युवाको बन्दी अवस्थामा मस्तिष्कमा कुँदिएका चित्रको प्रतिबिम्बन हो।
दोस्रो शृंखला- बेनीयात्रा हो। यो मैले माथि नै भने जस्तै शान्तिकालको कर्णाली यात्रा देखि दोस्रो युद्धबिराम भंग भएपछिको नयाँ संवाददातालाई प्रशिक्षण दिंदै र युद्धमोर्चाका रिपोर्टिङ गर्दै अघि बढेको २०६० सालको डायरी हो। यो यात्राको केन्द्रीय परिघटना म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा भएको जनमुक्ति सेनाको विजयी र बलिदानीपूर्ण युद्धमोर्चा हो। जेलयात्राबाट छुटेलगत्तै म जुम्लाको खलङ्गामा भएको जनसभामा भाग लिन गएँ र त्यहाँ एक महिना कर्णालीका जुम्ला, कालीकोट, मुगु हुँदै हुम्ला यात्रा गरें त्यो कर्णालीयात्राका क्रममा जुम्लाको माओवादी मुख्य आधार इलाका भेरीखोला, गोरुखोला घुम्दै पूर्वी–कालीकोटको चरम राज्य दमन व्यहोरेको ऐछेना, शेरावाडा घुम्दै मातृभूमि सिंजासम्म पुगें।
जुम्लाका स्थानीय कार्यकर्ता, कलाकार तथा नेतृत्वसँग संवाद गर्दै सिंजामा केही दिन बिताएपछि मुगुको खत्याड पुगें। त्यहाँबाट बाजुराको रुगिन विछ्या हुँदै हुम्लामा जनमुक्ति सेनाको तालिम केन्द्रमा पुगें। त्यो शान्तिको बेलामा भैरहेको युद्धको तयारी थियो। म त्यहाँबाट हुम्लाको रोडीकोट, सिमकोट हुँदै जहाजमा नेपालगञ्ज झरें। बर्दिया पुगेर फेरि काठमाडौं फर्कें। शान्तिवार्ता तार्किक निष्कर्षमा नपुग्ने अनुमान भइरहेका बेला पार्टीले हामीलाई नेपालगञ्जमा खटायो र हामी नेपालगञ्ज केन्द्रित भयौं। वार्ता दाङको हापुरेमा चल्दै थियो। रामेछापको दोरम्बामा सरकारले शान्तिपूर्ण रुपमा भेला भएका दर्जन बढी कार्यकर्ताको हत्या गर्दै थियो। हामी युद्ध बिराम भंग हुने निश्चित भएपछि नेपालगंजबाट भारततर्फ अलप भयौं।
भारतमा पहिले केही दिन लखनउ र त्यसपछि कानपुरमा मुकाम खडा गरी हामी हाम्रो मिसन पत्रकारिताको आधार तयार गर्न थाल्यौं। त्यही क्रममा मेरो पहिलो प्रवास भूमिगत यात्राको छोटो विवरण अङ्ग्रेजीमा लेखिएको थियो, जुन अनुवादसहित दोस्रो शृंखलामा राखिएको छ। भूमिगत पत्रकारिताको मुकाम कानपुर बनाए पनि हामीसँग संवाददाताहरूको दस्ता व्यवस्थित रूपमा बनेको थिएन। हामी भूमिगत पत्रकारिता तालिमको व्यवस्थापन गर्न कानपुर, लखनउ, लखिमपुरहुँदै कैलालीको फूलबारी नाकाबाट नेपाल आयौं। हामी नेपाल पुगेको भोलिपल्ट २०६० असोज १० गते हाम्रा सिकारु सहकर्मी विनोद सजना थारुको कैलालीमै हत्या भयो। म आफैंले जनपक्षीय पत्रकारितामा उत्प्रेरित गरेका बर्दिया राजापुरका विनोद सजना थारुको हत्याको खबरले हामी स्तब्ध भयौं। यी हरेक कुरा डायरीमा टिप्दै र पिठ्युँको भारीमा बोक्दै गएँ।
आक्रोश र प्रतिबद्धता व्यक्त गर्दै हामी कैलालीबाट पहाडी इलाका उक्लियौं। त्यहाँ क. प्रभाकर, क. सुदर्शन लगायतका नेताहरूसँग भेट भयो। हामी अझैमाथि उक्लियौं अछाम र कालीकोटसम्म। म कालीकोटमा युद्धकै बिचमा भइरहेका जनवादी चुनावको रिपोर्टिङ गर्न पश्चिम कालीकोटका सुदूर बस्ती बाजुरा सिमानासम्म पुगें, फेरि अछाम र दैलेखको सिमाना राकम फर्केर जाजरकोट गयौं। जाजरकोटमा हाम्रो पहिलो र व्यवस्थित पत्रकारिता तालिम भयो। यो तालिमबाट पश्चिमी आधारक्षेत्रका युद्धमोर्चाबाट समाचार लेख्ने संवाददाताहरूको एक दस्ता तयार भयो र हामी फेरि प्रवासियौं।
केही हप्ता प्रवास बसेर म फेरि कपिलवस्तु नाका हुँदै मुख्य आधार इलाका रुकुम/रोल्पा फर्कें, जहाँ मगरात स्वायत्त गणतन्त्र स्थापना र जनसरकार घोषणा कार्यक्रमको तयारी भइरहेको थियो। त्यो मुख्य आधार इलाकामा माओवादीका वरिष्ठ नेताहरु दिवाकर, विप्लव, पासाङ, पम्फा भुसाल, हितराज पाण्डे, रवीन्द्र श्रेष्ठ लगायतको नेतृत्वसँग भेट भयो।
मगरात स्वायत्त जनसरकार घोषणाको समाचार अन्तर्राष्ट्रियकरण गरेर म फेरि प्रवास फर्कें। एक महिनाभित्रै फेरि म कपिलवस्तु हुँदै रोल्पातर्फ यात्रा गर्दा कपिलवस्तु र दाङमा ड्राइभरहरूको खोजी भइरहेको थियो, ड्राइफुड बनाउने कुरा हुँदै थियो, त्यो केका लागि ? त्यो बेला थाहा भएन। पछि थाहा भयो, त्यो युद्ध व्यवस्थापन र आधार इलाकामा परिवहनका लागि थियो। म थवाङ पुगेलगत्तै युद्धको तयारी यात्रामा लाम लागें। यो क्रमको मुख्य फौजी राजनीतिक परिघटना बेनी लडाइँ थियो। पाँच हजारभन्दा बढी जनसैनिक र स्वयंसेवकहरूको लस्करसँग यात्रा गर्दै कलम र क्यामेरा बोकेर म बेनी लडाइँमा पुगें। उक्त लडाइँका मुख्य कमिसार विप्लव र कमान्डर पासाङसँगै सहयात्रा गर्दै, युद्धका जीवन्त अनुभूति सँगाल्दै २०६० चैतको तेस्रो हप्ता म फेरि प्रवास फर्कें।
हुम्लादेखि म्याग्दीसम्म, कैलालीदेखि कपिलवस्तुसम्म र भारत प्रवासको लम्बेयात्रा एक्लै पार गर्दा होस् वा हजारौं फौजमा मैले जस्तो ऊर्जा बटुलेको थिएँ, त्यो हरेक क्षण, व्यक्ति र भूगोललाई डायरीका पानामा उतारेको थिएँ। दिन वा रात, भोको वा नाङ्गो सबै अनुभूति सँगै सँगाल्दै यात्रा गरें तर ती क्षणको खास सम्झना छैन तर मैले नजिकबाट चिनेका, फोटो, भिडियो खिचेका यो धर्तीका असल मानिसको ठूलो लस्कर जो युद्धमा गुम्यो ती सदा जीवित भएर यो मस्तिष्कमा यात्रारत छन्।
मेरो डायरी शृंखलाको तेस्रो पुस्तक हो- आधारयात्रा। यो डायरीमा पत्रकारिता प्रशिक्षण गर्न पाल्पा, स्याङ्जा, तनहुँ, कास्की, पर्वतसम्म यात्रा गर्दै फेरि प्रवास फर्केर कपिलवस्तु, अर्घाखाँची, प्युठान, दाङहुँदै रोल्पासम्मको यात्रा जहाँ माओवादी सुप्रिमो प्रचण्ड, बाबुराम, बादल लगायत सिंगो केन्द्रीय टीमलाई केन्द्रीय आधार इलाकामा भेट्दै, उनीहरुका गतिविधि लेख्दै रुकुम, जाजरकोटसम्मको यात्रा छ। यही शृंखलामा जाजरकोटमा भएको राजनैतिक प्रशिक्षण, उक्त प्रशिक्षण माथि गरिएको हवाई हमला र त्यसपछिको दैलेख, सुर्खेत, बर्दिया हुँदै निकुञ्ज वार ड्रिलसम्मको यात्रा यसमा छ र यही पुस्तकमा प्रवासको जनादेश कार्यालय सारेर हामीले सुर्खेत पश्चिममा सुरु गरेको गुफा प्रेससम्मको यात्रामा मैले लेखेका हरेक दिनका सूचना र अनुभूति छन्।
आफैं रिपोर्टर, आफैं प्रशिक्षक, आफैं सम्पादक, आफैं प्रेसम्यान, आफैं वितरक जस्ता बहुआयामिक कार्यमा सहभागी हुनुपर्ने जटिल परिस्थितिबीच पनि मिसन पत्रकारिताको नयाँ अभियानमा युद्धकालभरि जनादेशसँग सम्बन्धित भएर हामी सबैले नयाँ कदम उठायौं। त्यही सिलसिलामा मैले एक युद्ध–संवाददाता र युद्ध पत्रकारिताको प्रशिक्षकका रूपमा लामो यात्रा गरें। केन्द्रीय आधार इलाकाको यात्राबाट मैले केही सिकें र नयाँ विकासलाई देख्न पाएँ। मेरो आधारक्षेत्रको यात्राको सबैभन्दा लामो विवरण पनि यही शृङ्खलामा छ। रूपन्देही, पाल्पा, नवलपरासी, स्याङ्जा, तनहुँ, कास्की, पर्वतको यात्रा, भूमिगत पत्रकारिता प्रशिक्षण, कास्कीलाई केन्द्रमा राखेर गरिएको विशेष अध्ययन एउटा खण्डमा छ।
सबैभन्दा गतिशील र जोखिमपूर्ण यात्रा पनि थियो, त्यो। त्यो बेला गण्डकभित्र पाइला–पाइलामा जीवन र मृत्युको जम्काभेट भइरहन्थ्यो। बिहान भेटेको साथी दिउँसो र दिउँसो भेटेको साथी साँझ कब्जामा पर्ने, मारिने, घाइते हुने अवस्था थियो। आज भेटेको साथी भोलि मारिने अवस्था पार गर्दै धेरै पटक मृत्युको सम्मुखबाट जोगिंदै यो यात्रा मैले गरें र हरेक अनुभूतिहरू लिपिबद्ध गरें। गण्डकको शहरी आधार इलाका, रुकुम, रोल्पाको मुख्य आधार इलाका, भेरी–कर्णालीको जाजरकोटभित्रका आधार इलाका, सुर्खेत, अछाम डोटीबीचका आधार इलाका र तराईको आधार इलाका जहाँ माओवादी मुख्य शक्ति सुप्रिम कमान्डरदेखि हजारौं फौज दिन रात खटेका इलाकाको जीवन्त यात्रा यो पुस्तकभित्र छ।
यो शृंखलाको चौथो पुस्तक राजमार्गयात्रा हो यसलाई मैले हारभित्र जित खोज्ने राजमार्गयात्रा पनि भनेको छु। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेयता जनस्तरबाट नेपालमा बनेको दोस्रो ठूलो नियमित सेना माओवादी जनमुक्ति सेना नै थियो। यसले आफ्नो स्थापनाको आधा दशकमा सरकारका जिल्लास्तरीय प्रशासनिक तथा फौजी अङ्गहरू खाली गर्न सक्षम भयो र उत्कर्षसम्म आइपुग्दा जनमुक्ति सेनाको प्रभावमा देशको ८० प्रतिशत भू–भाग आयो। फौजी प्रभावमा ८० प्रतिशत भू–भाग आए पनि सरकारको हवाईशक्ति र ब्यारेकको फोर्टिफिकेसन भने विद्रोहीहरूका लागि मुख्य तगारो थिए। ब्यारेक बाहिरका मोर्चाबद्ध लडाइँमा जनमुक्ति सेना हावी भए पनि ब्यारेकभित्र रहेको सरकारी फौजमाथि भने जनमुक्ति सेनाले निर्णायक विजय हासिल गरेको थिएन। त्यसैले सरकारी फौजलाई ब्यारेक बाहिर बोलाउने जनमुक्ति सेनाको रणनीतिक यात्रा नै- राजमार्गयात्रा थियो।
भूमिगत माओवादी युद्ध र नेतृत्वबारे खुला समाजमा भएका भ्रमपूर्ण प्रचारहरू माओवादीभित्रको अन्तरसङ्घर्ष र अन्तरविरोधले युद्धमोर्चामा पारेका असरहरूबीच कसरी पार्टीको फौजीकरण र सेनाको राजनीतीकरण गर्दै गण्डक अभियान अन्त्यतिर पुग्यो, त्यो पनि यो डायरीमा छ
यो पुस्तकभित्र मैले रिपोर्टिङ र सहयात्रा गरेको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका राजमार्ग जनमुक्ति सेनाका कब्जामा थिए। त्यहाँ कुनै सरकारी पोस्ट थिएनन् र अस्पताल बाहेकका कुनै पनि सरकारी नम्बर भएका गाडीहरू राजमार्गमा गुडेका भेट्न मुस्किल थियो। पर्यटन, कूटनीतिक नियोग र गैरसरकारी संस्थाका बाहनहरू भने गुडेका भेटिन्थे। सैन्य अदली–बदली वा ठूलै सामरिक महत्वका सामग्री ओसार–पसार गर्न आकाशमा हवाई गस्ती र जमिनमा ठूलो फौज परिचालन गरेर मात्रै सरकारी फौजको परिवहन चलेको हुन्थ्यो। सरकार प्रायः आकाशमा मात्रै सीमित थियो। जमिन जनमुक्ति सेनाको कब्जामा थियो। यो डायरीमा राजमार्गयात्राका तिनै यथार्थ विवरण प्रस्तुत गरिएका छन्।
यो यात्रामा तत्कालीन जनमुक्ति सेनाले ठूल्ठूला विजय पनि हासिल गर्यो र सँगसँगै ठूला क्षति पनि बेहोर्यो। राजमार्गमा चौबीसै घन्टा उपस्थित भएर गणतन्त्र पक्षधर नेपाली जनताको राजनीतिक मनोबल उच्च बनाउने काम गर्यो भने जनयुद्धविरोधी र राजतन्त्र पक्षधरहरूको मनोबल घटाउने काम गर्यो। पहाडी, हिमाली, दुर्गम ग्रामीण क्षेत्र वा जङ्गलमा मात्रै गुरिल्ला योद्धाहरूको संरक्षण र अभियान सञ्चालन सम्भव छ भन्ने कुरालाई सुगम शहरी इलाका, तराईका समथर फाँट र देशका मुख्य राजमार्ग आसपासमा महिनौंसम्म गुरिल्ला गतिविधि सञ्चालन गर्न र त्यसलाई जनसमर्थन प्राप्त गर्न सम्भव छ भन्ने प्रमाणहरू पनि यो डायरीमा पाउन सकिन्छ। हजारौं जनमुक्ति सेना र पूर्णकालीन कार्यकर्ता राजमार्ग उत्तर–दक्षिण र राजमार्गमै मुकाम खडा गरेर बसेका थिए।
जनमुक्ति सेनाले राजमार्गयात्राकै क्रममा कैलालीको धनगढी कारागार कब्जा गर्यो। त्यहाँबाट आफ्ना नेता तिलक शर्मालाई रिहा गर्यो। उनी सँगसँगै सयौं अरू बन्दी पनि रिहा गरिए। नेपाली सेनाको लडाकु रेन्जर फोर्सविरुद्ध पश्चिम डिभिजनले सबै एकाइहरूबाट लडाकु जनशक्ति एकीकृत गरेर ‘मोबाइल ब्रिगेड’ बनाएको थियो। यो ब्रिगेडले नै धनगढी कारागार कब्जा गर्नुका साथै, राजमार्गमा आफ्नो वर्चस्व कायम राख्यो। जनमुक्ति सेनाले राजमार्गयात्राकै क्रममा आफ्नोतर्फ बर्दियाको गणेशपुरमा ठूलो क्षति बेहोर्यो। गणेशपुरमा भएको लडाइँमा जनमुक्ति सेनाले आफ्ना निडर र युद्धकौशल युद्ध कमान्डर क. जित, क. पशुपति सहितको ठूलो टिम र महत्वपूर्ण हतियार गुमायो। बर्दियाको राजमार्गमा नै भएको रम्भापुर फौजी कारबाहीमा पनि ठूलै क्षति बेहोर्दै जनमुक्ति सेना तराई र राजमार्गका आफ्ना मोर्चामा रहिरह्यो।
जनमुक्ति सेना राजमार्गयात्रामा हुँदा केही समय म जनादेशको ‘गुफाप्रेस’ मा रहें। पश्चिम–सुर्खेतका दुर्गम बस्ती र ओडारहरूमा सञ्चालित जनादेशको कार्यालयमा रहेर राजमार्गयात्रामा रहेको जनमुक्ति सेनाका गतिविधि प्रकाशित गर्ने, जनमुक्ति सेना तथा पार्टीलाई आवश्यक वैचारिक सामग्री प्रकाशनको काममा रहँदाका अनुभूति पनि निकै स्मरणीय छन्।
राजमार्ग यात्राको विजय पराजयका घाउ पखाल्दै जनमुक्ति सेना उत्तरी पहाडतर्फ उक्ल्यो र त्यही समय सरकारले विकास निर्माणका नाममा आफ्ना ब्यारेक विस्तार गर्यो, विस्तार गरिएको मध्ये कालीकोटको पिली ब्यारेक २०६२ साउनमा कब्जा गरियो, जनयुद्धको यो केन्द्रीय परिघटना आसपासका यात्राको डायरी हो- पिलीयात्रा। यो पाँचौं पुस्तक हो।
गणेशपुर मोर्चापछि म गुफाप्रेसमा केन्द्रित भएँ। त्यही क्रममा राजनीतिक प्रशिक्षणका लागि निम्तो आयो। त्यो राजनीतिक प्रशिक्षणको लागि सुर्खेतको गुफाप्रेसबाट जाजरकोट जाँदा पहिले राजनीतिक प्रशिक्षण कि फौजी हमला भन्ने बहस चलेको थियो। तत्कालीन डिभिजन कमान्डर प्रभाकरले पहिले फौजी कारबाही र त्यसपछि राजनीतिक प्रशिक्षणको योजना अघि सार्नुभयो। त्यसपछि सुरु भयो फौजी अभियानको यात्रा। पिली कारबाहीमा हामी आधा दर्जन युद्ध–संवाददाताहरू पनि सहभागी भयौं।
पिली लडाइँको तयारी, लडाइँ र फर्केपछिका गतिविधिहरू सङ्कलन गर्दै हामी जाजरकोटको दशेरामा आयोजित राजनीतिक प्रशिक्षणमा सहभागी भयौं। जनमुक्ति सेनालाई फौजी रूपमा सक्षम बनाउन फौजी कारबाहीमा र राजनीतिक रूपमा सक्षम बनाउन राजनीतिक प्रशिक्षणमा सहभागी हुन आवश्यक थियो। पिली कारबाही र दशेराको राजनीतिक प्रशिक्षण बीचमा माओवादी सुप्रिमो प्रचण्डले एकतर्फी युद्धविरामको घोषणा गर्नुभयो। उक्त युद्धविराम घोषणाले राजनीतिक दलहरू र माओवादीबीच सम्बन्ध निकट भयो र संयुक्त जनआन्दोलनका लागि साझा एजेन्डा निर्माणको चरण पनि सुरु भयो। यो चरणको राजनीतिक विश्लेषण पनि यो पुस्तकमा समेटिएको छ।
पिली यात्रामा मैले लेखनको शैली पनि परिवर्तन गरेको छु। त्यतिबेला जीवित केही पात्रहरू जो क्रान्तिमा नायक नै मानिन्थे, उनीहरूमध्ये केहीले भागेर वा आत्मसमर्पण गरेर धोका दिएकाले मैले लेखनको शैली परिवर्तन गरें। शहीदलाई पत्रशैलीमा केही दिनका डायरी लेखेको छु किनकि शहीद त अब आन्दोलनबाट भाग्दैनन् र धोका पनि दिंदैनन्। भौतिक शरीर परित्याग गरिसकेका मेरा प्रेरणादायी व्यक्तित्वहरू सम्झिंदै उहाँहरूको नाममा पत्र लेख्दै त्यो दिनको यात्रा र डायरी लेखन गरेको छु।
पिली यात्राको कुरा गरिरहँदा पटक–पटक म टक्क अडिएको छु। भावनात्मक अनुभूतिको बहावले म एक पाइला अघि सर्न नसक्ने भएको छु र आँसु धोएपछि मात्रै आफूलाई बाँकी हरफहरू पढ्न सक्ने गरी बलियो बनाउन सकेको छु। जन्मिनुअघि नै बा–आमा गुमाउने ती क्रान्तिभित्र हुर्किएका नानीबाबुहरू जो अहिले बीस वर्षपछि कहाँ छन्, तिनको जीवन कसरी चलेको छ, त्यो कुरा यो पुस्तकका पाठकलाई नै खोजी गर्ने जिम्मा दिन चाहन्छु। पिलीयात्रामा अघिल्ला यात्राका केही पात्रहरू र स्थान दोहोरिन्छन्। पात्र, परिवेश र स्थानहरू सँगसँगै यात्रा गराउँदा म आफ्नै लागि यी डायरी शृङ्खला औपन्यासिक जस्तै पनि भएका छन्।
गण्डक यात्रा मेरो यात्रा शृंखलाको अन्तिम डायरी हो। यो नेपाली युद्धका आखिरी दिनहरूको डायरी पनि हो। सर्वोच्च कमान्डर क. प्रचण्डसँग २०६२ मंसिरतिर भारतमा भएको प्रचार मोर्चाको बैठकपछि मेरो जिम्मेवारी गण्डक क्षेत्रमा जनमुक्ति सेनासँगै भयो। उहाँले यस पटक जनमुक्ति सेना फरक ढङ्गले परिचालित गर्न लागिएको र युद्धका अग्रमोर्चाका घटनाक्रम सङ्ग्रहित गर्न मलाई गण्डक पठाउन लागिएको थाहा पाएपछि म निकै खुसी भएँ।
हामी प्रवासबाट सुनौली हुँदै गण्डक आएर जनमुक्ति सेनाको डेपुटी कार्यालयमा रहेर गण्डकभरि भएका युद्धमोर्चाको रिपोर्टिङ गर्यौं। जनमुक्ति सेनाको गण्डकयात्रा नेपाली जनयुद्धको उत्कर्षको आखिरी अभियान पनि थियो। यो आखिरी यात्राको सहभागीका रूपमा मैले यी डायरीमा अनुभूति सँगालेको छु। राष्ट्रिय राजनीतिमा राजाको निरङ्कुश र प्रत्यक्ष शासनले सात दल र माओवादीबीच सहकार्यको वातावरण बनिरहेको बेला सशस्त्र गतिविधिमा सहभागी फौजभित्र के–कस्तो मनस्थिति र परिस्थिति थियो, त्यो यो डायरीमा पढ्न पाइन्छ। शाही सेनाको विभिन्न चरणको केन्द्रीय अपरेसनलाई जनमुक्ति सेनाले गण्डकमा कसरी असफल बनायो र आफ्नो फौजी श्रेष्ठता कायम गर्यो, त्यो यस डायरीभित्रका एक–एक घटनाको वर्णनबाट थाहा पाउन सकिन्छ।
गण्डक अभियानको केन्द्रमा पाल्पा कारबाही भए पनि त्यो अघि र पछिका फौजी झिनाझपटी, रणकौशल र दाउपेचको विवरण यहाँ पढ्न पाइन्छ। गाउँमा सशस्त्र गतिविधि र शहरमा जनआन्दोलन सँगसँगै अगाडि बढेको र दुवैको समायोजन भएका विवरण यो डायरीमा छन्।
राष्ट्रिय राजनीति र फौजी गतिविधिमा फेरबदल जति तीव्रतामा भएका छन्, यो डायरीभित्र पनि घटना विवरणहरूको सङ्कलन र लेखन यस्तै तीव्रतामा भएका छन्। यही यात्रामा विभिन्न फौजी कारबाही, घेरा–प्रतिघेरा तोड्दाका घटनाक्रमसँगै युद्धकालीन पत्रकारिताको नयाँ अभियान यहाँ चलेको छ।
युद्धभित्रै टेलिभिजन प्रसारणको पहल गरिनु, जनयुद्धसँग जोडिएका सयौं पात्रका अनुभव र अनुभूति जीवन्त रूपमा सुरक्षित राख्नु पनि यो पुस्तकको महत्वपूर्ण पक्ष हो। गण्डकयात्राको क्रममा युद्धभित्रका सय दिन जनमुक्ति सेनासँगै मैले बिताएँ। त्यही क्रममा जनआन्दोलनको विकास र उत्कर्षले शाहीसत्ता गलेपछि जनमुक्ति सेनाको पश्चिम फिर्तीका क्रममा म दाङसम्म गएँ र शान्ति प्रक्रियाको क्रममा राजधानीबाट जनादेश निकाल्ने पार्टी स्थायी समितिको निर्णयपछि म काठमाडौं फर्केसम्म आएको विवरण यसमा छ।
समग्रमा गण्डक यात्रा गणतन्त्र नेपालको पहिलो घाम झुल्किनुअघिको कष्टकर दिन र रातहरूको यात्रा हो। नेपाली जनयुद्धको इतिहासको अध्ययन गर्नेहरूका लागि यो यात्रा विवरण, योभित्र सङ्कलित वीरता र बलिदानका गाथाहरू जीवित प्रमाण हुन्। जनताको सेना र जनताबीच नङ र मासुको सम्बन्ध कसरी कायम भएको थियो र नेपालका विभिन्न भूगोलबाट सबै वर्ग, जात, लिङ्गका मानिस कसरी लम्बे अभियानमा सहभागी भएका थिए भन्ने कुरा पनि यो डायरीमा छ।
भूमिगत माओवादी युद्ध र नेतृत्वबारे खुला समाजमा भएका भ्रमपूर्ण प्रचारहरू माओवादीभित्रको अन्तरसङ्घर्ष र अन्तरविरोधले युद्धमोर्चामा पारेका असरहरूबीच कसरी पार्टीको फौजीकरण र सेनाको राजनीतीकरण गर्दै गण्डक अभियान अन्त्यतिर पुग्यो, त्यो पनि यो डायरीमा छ।

मेरो राजनीतिक, फौजी र पत्रकारिता जीवनको सबैभन्दा गतिशील यात्रा पनि हो, गण्डकयात्रा। यो यात्राभित्र पैदा भएको फौजी चेतना, राजनीतिक विवेक र पत्रकारिताको सिर्जनशीलताले मलाई अहिलेसम्म निर्देशित गरिरहेका छन्।
म हरेक यात्रा शृङ्खलामा प्रवेश गर्दा त्यो भूगोल, त्यो बेलाको समय र भेटेका पात्रहरू सम्झिन्छु। बीस वर्ष पहिलेको त्यो समय अहिले छैन, ती स्थानहरू र त्यहाँ भेटिएका पात्रहरूको राजनीतिक परिचय अहिले फेरिएको छ। मेरो आफ्नै पनि परिचय, परिस्थिति र मनस्थिति फेरिएको छ तर इतिहासप्रतिको इमानदारिताका लागि मेरा ६ वटै डायरी शृङ्खला प्रकाशन गौरवशाली इतिहासप्रतिको जिम्मेवारी हो भन्ने लागेको छ।
यो यात्रा विवरणभित्रका मूल पात्रहरूको तत्कालीन जीवनयात्राको सानै अंश भए पनि यहाँ छ त्यसकारण यो नेपाली जनयुद्धको जीवित इतिहासको एक अंश हो। तिथि–मिति, बार–गते, साँझ–बिहान, पात्रहरूको नाम–थर, त्यो बेलाको सुरक्षा संवेदनशीलताका कारण सेल्फसेन्सर भएर लेखिएको थियो तर नेपाली जनयुद्धभित्रको समग्र समय सीमा र भूगोलभित्रका ती सबै पात्र, स्थान र परिघटना यथार्थ हुन्।
जङ्गल, शहर, गाउँ र प्रवास गर्दै फेरि काठमाडौंसम्म आइपुगेका मेरा पातला र कमजोर कागजका डायरीलाई पुस्तकाकृतिमा फेरिन ठ्याक्कै दुई दशक लाग्यो। २०५९ को जेल जीवन २०६० सालको केही महिने शान्ति र त्यसपछिको युद्धयात्राका तीन वर्षका यी विवरणले पाठकलाई लम्बेतान यात्रा गराए पनि यात्रामा मैले भेटेका जीवित पात्र, परिवेश र तत्कालीन युद्धभूमिभित्रको स–सानो महाभारतको आँखो–देखा विवरण यहाँ छ। साथै, मिडिया अध्येता, चलचित्र निर्माता, आख्यानकारका लागि सयौं जीवित पात्र र परिवेश यी पुस्तकभित्र छन्।
यी पुस्तकले समेटेको समय सीमाभित्रका प्रमुख राजनीतिक घटनाक्रममाथिको मेरो तत्कालीन विश्लेषण पनि यहाँ छ। पूर्ण–प्रतिबन्धको समयमा बीबीसी, नेपालका केही रेडियोहरू, पत्रपत्रिका र राजनीतिक नेतृत्वसँगको संवाद नै त्यसबेला हामीलाई सूचित गर्ने प्रमुख माध्यम थिए। त्यो बेलाको मेरो विश्लेषण सही वा गलत जे थियो, त्यो हजारौं म जस्तै भूमिगत यात्रीहरूको साझा बुझाइ र धारणा भने पक्का थियो।
सिङ्गो युद्धको इतिहास हरेक तह, मोर्चा र जिम्मेवारीमा खटेका पात्रहरूले देखेको, भोगेको र अनुभूति गरेको योगदानका शब्दचित्र उतारेपछि मात्र तयार हुन्छ। यी पुस्तक समग्र जनयुद्धको इतिहासको बृहत् भवन निर्माणको ईंटा मात्र हुन्।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4