+
+

प्रचण्ड–ओली मिलापको एड्भान्स भर्सन

एमाले अध्यक्ष केपी ओलीले प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रपतिको कोटाबाट राष्ट्रियसभा सदस्य बन्ने बेलामा नामै जुराइदिएका थिए– नारायणकमल दाहाल । ओली यति बेला तिनै दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाउन एमालेका सांसदको समेत मत खपत गर्दैछन् ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० फागुन २८ गते १९:५७

अचेल अमेरिकामा रहेका कवि मित्र नवराज पराजुलीले म्यासेज पठाए, ‘पछिल्लो राजनीतिक नौटंकीबारे तिम्रो केही आएन त ?’

मैले उनलाई उल्टै सोधेको थिएँ, ‘यसमा छक्क पर्नुपर्ने कुरै के छ र ?’

कविहरू शब्दसम्पन्न हुन्छन् । मैले उनलाई भाव बुझाइराख्ने दरकार थिएन । कृत्रिम वर्षाले जलवायु प्रणालीमै उत्रो फरक नपार्ला, तैपनि भुइँका मान्छेहरू धेरथोर भिज्छन् नै । केही दिनअघिसम्म दाँत बजाइरहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले अचानक हात मिलाए ।

शेरबहादुर देउवा र माधव नेपालबाहेक अरुले छक्क नपरिदिए पनि हुने थियो । तर त्यस्तो भएन । राजनीतिक संवाददाताहरू समयमै भेउ पाउन नसकेकामा कोही कुन्ठित त कोही आत्ममुग्ध हुनपुगे, सधैझैं ।

ज्योतिषविज्ञान, मौसमविज्ञानबारे भविष्यमुखी प्रक्षेपण गर्ने मोबाइल एप आइसकेका भए पनि राजनीतिविज्ञानको एप आविष्कार भइनसकेकैले हामी आफ्ना ‘स्रोत’ र ‘उच्चस्रोत’ हरूप्रति निर्भरताको भ्रममा छौं । यद्यपि चलाख राजनीतिज्ञहरू आफ्ना निकट, विश्वस्त ‘स्रोत’ बाट समेत जोगिएर काम गर्न माहिर हुन्छन् । त्यसैले प्रचण्ड–ओली मिलापको एड्भान्स भर्सन थाहा पाउन पछि परियो भनी लघुताभाष नराखे पनि हुने अवस्था छ ।

आखिर मिलाप त भइछाड्यो । बाह्रैमास राजनीतिक बहसमा रुचि राख्ने वर्गले त्यस घटनालाई वाम सहकार्यको सैद्धान्तिक लेप लगाउने मौका पाइहाल्यो । त्यसमा भारत र चीनका भूराजनीतिक बहस नजोडीकन कुनै पनि चियाकप रित्तिंदैनन् । चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाई येनले नेपाली राजदूतलाई बोलाएर सोधखोज गर्नु, अनि भारतभन्दा पहिले चीनको विदेश मन्त्रालयले नेपालबारे वक्तव्य दिनु थप मसला भइहाल्यो ।

भलै यसपल्ट पाँच महिना लामो गृहकार्यलाई सत्ता–समीकरणमा परिणत गर्न ओली–प्रचण्ड आफैं समर्थ भएका किन नहोउन्, स्थिरता, विकास, संविधान र संघीयताको रक्षाका भाष्य तयार गरिदिन वर्षमान पुनदेखि विष्णु पौडेलसम्म छँदैछन् । हिजोआज यस्ता कामबाट ईश्वर पोखरेल र कृष्णबहादुर महराले छुट्टी पाएजस्तो छ । बरु एमाले र माओवादी केन्द्रका अध्यक्षहरू आफ्ना कदमहरूको प्रतिरक्षा आफैं अघि सरेर गर्न थालेका छन् ।

अस्ति शनिबार प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टी माओवादी केन्द्र संसदीय दलको बैठकमा भने, ‘गठबन्धन परिस्थितिवश हुन्छ, विचार मिल्नेहरूबीच सहकार्य हुन्छ । एमालेसँग पुरानै सम्बन्धलाई नयाँ रूपमा निरन्तरता दिएका हौं ।’ माओवादी सांसदहरूले ‘होइन’ भन्नै मिलेन, किनकि आफ्ना अध्यक्षले गल्ती गर्दैनन् भन्ने उनीहरूलाई अन्धताकै स्तरसम्म विश्वास छ ।

प्रचण्डले ‘गठबन्धन’ शब्द प्रयोग गर्दा आम सर्वसाधारणमा आक्रोशजस्तो सुनिएकाले सहकार्य भन्दा अझै राम्रो सुनिने समेत त्यस बैठकमा दाबी गरे । कम्युनिस्टहरू ‘चीजलाई यसरी बुझ्नुपर्छ’ भन्छन् । आम मान्छेले भने माओवादीले कांग्रेससँग मिल्नु र एमालेसँग मिल्नुबीच तात्विक अन्तर खुट्याउन सकेका छैनन् । कम्युनिस्ट गठबन्धन नाम दिए पनि त्यहाँ रास्वपाजस्ता आफूलाई मध्यदक्षिणपन्थी शक्ति बताउनेहरू पनि त्यहीं छन् । पोहोर पुसमा एमाले–माओवादी ‘सहकार्य’ हुँदा अझ त्यहाँ राप्रपा पनि थियो ।

त्यसैले ‘चीजहरू’ लाई रूपमा होइन सारमै बुझ्ने कोसिस गर्दा यी गठबन्धन वा सहकार्यहरू केवल सत्तास्वार्थका लागि भएका गणितीय गठजोड हुन् भनी पुष्टि हुन्छ । यदि गठजोडमा माधव नेपालको लक्की नम्बर १० जरुरी नहुँदो हो त ओलीले उनको नाम लिनेबित्तिकै कुल्ला गर्ने कार्यनीतिलाई निरन्तरता दिइराख्ने थिए । त्यसैले ‘आज होइन भोलिलाई, दुई वर्षपछि ओलीलाई’ सहमतिको कार्यान्वयन गर्ने हो भने माधव नेपाललाई घरैमा पुगेर ‘सम्मान’ दिनैपर्ने थियो ।

उसो त कसैले यसलाई एशियाकै अनौठो राजनीतिक संस्कार भनेर सकारात्मकतावाद फैलाउन सक्छ । यथार्थमा अहिलेको संविधानमा व्यक्त चुनाव प्रणालीका कारण उत्पन्न भएको बहुआयामिक बाध्यता हो । ओली र प्रचण्ड दुवैलाई ज्ञात छ– १० अंक सबथोक नहोला, तर त्यसले उनीहरूको डुङ्गा डुबाउन वा उतार्न सक्छ ।

त्यसैले बालकोट र कोटेश्वरको दूरी केही किमीमात्रै भए पनि ओलीलाई त्यहाँ जानैपर्‍यो । अब कोटेश्वरको ट्राफिकबाट बायाँ नमोडिई ओलीलाई बालकोटबाट सिधै बालुवाटार पुग्न कठिन छ । मिसन ८४ भन्दै कुदिरहेका पहाडका रवि लामिछानेदेखि मधेशका सीके राउतसम्मलाई ‘मिसन आज’ को यो तात्कालिक गठजोडमा आ–आफ्ना लक्की नम्बरहरूसहित दौडिरहन अभिशप्त हुनैपर्ने अवस्था आउनु कुरूप नै भए पनि यथार्थ हो । रेशम चौधरी र रञ्जिता श्रेष्ठको घरझगडामा त झन् छक्क पर्नुपर्ने कुरै के रह्यो र !

जेसुकै भए पनि सत्तास्वार्थको गणितका सामु प्रत्येक शब्दहरूले आफ्नो अर्थ गुमाएको भने सत्य हो । वाम–लोकतान्त्रिक भनिएको ‘कांग्रेस माओवादी गठबन्धन’का ठाउँमा अब ‘वाम सहकार्य’ भएको छ । पोहोर पुस ०७९ मा बनाएकै न्यूनतम साझा कार्यक्रमलाई मिति बदलेर पुनर्जीवित गराए पनि हुने अवस्था छ ।

उपेन्द्र यादवलाई त यति पनि मतलब छैन । संविधान र संघीयताको रक्षा गर्न हामी मिल्यौं भनिएको छ । तीन वर्षअघि तिनै ओलीले संविधानको रक्षा गर्न सकेनन् भनेर नेकपा नै धुजाधुजा भएको, अनि संविधानकै ‘रक्षा’ गर्ने क्रममा अध्यादेशबाट २० प्रतिशत केन्द्रीय सदस्यको बलमा एमाले फुटाई एकीकृत समाजवादी बनाएको इतिहास बिर्सन झगडाका दुवै पक्ष तयार छन् ।

जनता त सधैँ क्षमाशील थिए, छन् । सायद रहनेछन् । राष्ट्रिय विस्मृति अर्थात् नेशनल एम्नेसिया हाम्रो संस्कारमै घुसिसकेकैले गर्दा त अंगुलीमालहरूलाई अभिनन्दन कार्यक्रम राखेरै खादामाला लगाउने हिम्मत हामीलाई सहजै आउँछ । हामी वीर छौं । बाँकी त भूपी शेरचनले भनिसकेका छन् ।

यतिबेला भन्न कर लाग्छ– सायद परिवर्तनहरू रूपमा थिए, सारमा थिएनन् । त्यसैले मृतकको नाम सहिदको सूचीमा चढाइदिएपछि, उसका नाममा गेट, भ्यूटावर वा चौतारो बनाइदिएपछि, वर्षमा एक मिनेट मौनधारण गरिदिएपछि परिवर्तनको कार्यसूची पूरा हुन्छ ।

त्यसपछि प्रचण्डको वंशवृक्षबाट भाइलाई राष्ट्रिय सभा अध्यक्षमा अघि सारिन्छ । ओलीले नारायण दाहालबारे बोलेका पुराना भिडियोलाई टिकटक बन्द गरेजसरी लुकाउन सक्ने सामर्थ्य नयाँ गठबन्धनसँग पनि छैन ।

तैपनि यो स्मरण गर्नुपर्छ, एमाले अध्यक्ष केपी ओलीले प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रपतिको कोटाबाट राष्ट्रियसभा सदस्य बन्ने बेलामा नामै जुराइदिएका थिए– नारायणकमल दाहाल ।

परिवारका एक–एक सदस्यलाई प्रचण्डले कुर्सीमा पुर्‍याउँदा शहीद, घाइते, अपाङ्गता भएकाको उपेक्षा गरेको भन्दै ओलीले तीप्रति अकस्मात् सहानुभूति पनि दर्शाएकै थिए । ओली यति बेला तिनै नारायण‘कमल’ दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाउन एमालेका सांसदको समेत मत खपत गर्दैछन् ।

उसो त प्रचण्डलाई झैं ओलीलाई आफ्नै पारिवारिक सदस्यहरूको पदसोपान चढाउने दबाब त छैन । तैपनि उनी ‘बा’ बन्न पुगेका छन् । बा भइसकेपछि पितृयोचित कर्तव्यहरूको खोजी हुन्छ नै । जहानियाँ गणतन्त्रको अभ्यासमा उनी कम सामेल छैनन् ।

त्यसैले नेपालमा यति बेला जे भइरहेको छ, म आफूमात्रै छक्क नपरिरहेको होइन । कवि मित्र नवराजलाई पनि म छक्क नपर्न आग्रह गर्छु । यो एउटा विशुद्ध संसदीय समीकरण हो, जसका पछाडि सत्ताको अभिप्राय छ । झुक्केर पनि सिद्धान्त नखोज्नुहोला । त्यसो गर्न खोज्नुभयो भने सिद्धान्त शब्दकै अवमूल्यन हुन्छ ।

अर्को आग्रह राजनीतिक विश्लेषकहरूका लागि छ । उनीहरूलाई वाम–दक्षिण आदि सैद्धान्तिक विवेचना गर्नुपर्ने अवस्था आइलागेको छ । कतिले चीन र भारतमध्ये एकलाई नजिक, अर्कोलाई टाढा देखाउन भ्याइसके । एमाले र माओवादीलाई कम्युनिस्ट मान्दिएर चीन देखाउनलाई कम्युनिस्ट सिद्धान्तको फुँदा नजोडिदिए हुन्थ्यो ।

पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, अनि पूर्वी एशिया र अफ्रिकाका थुप्रै देश, जहाँ कम्युनिस्ट पार्टी सत्तामा त के टाढाको प्रतिपक्षमा पनि छैनन्, तर त्यहाँ चीन सामुन्ने छ । अब प्रचण्ड र ओलीको आलिंगनमा सिद्धान्त खोज्ने र त्यसमा चिनियाँ कम्युनिस्ट पार्टीलाई तानेर ल्याउने दुःख गर्न हामीले छाड्ने कि ?

अन्तिममा, न्युयोर्क टाइम्समा केही दिनअघि तेली सरोट र के सन्स्टिनको लेख छ :  हाम्रा वरिपरि घटिरहेका घटनाहरूमा हामी अभ्यस्त हुने होइन, छक्क पर्न सिक्नुपर्छ । ‘यी यस्तै त हुन् नि’ भनेर हरचीजलाई सामान्य मान्दा–मान्दा हाम्रो सोचाइ नै बिस्तारै पथभ्रष्ट हुने खतरा देखेर उनीहरूले यस्तो लेखेका होलान् ।

तर यो नेपाल हो । यहाँ जे पनि सम्भव छ । छक्क पर्नुपर्ने कुरै के छ र ? रमेश लेखकले संसदमा जोडदार भाषण गर्दै आफू प्रचण्ड–ओली ‘सहकार्य’सँग विस्मित भएको बताए । भावुक भएर तिनले शहाब जाफरीको कविता पनि पढे । ठिकै हो, अतिशय दुःखमा काम लाग्ने भनेको कविता नै हो । त्यसैले कवितै नपढ्ने राहुल गान्धी पनि केही समयअघि भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई कटाक्ष गर्न जाफरीको यही कविता पढिरहेका थिए ।

कृष्ण सिटौलाले लेखकझैं कवितापाठ त गरेनन्, तर उनी पनि प्रचण्डबाट धोका भयो भन्दैछन् । प्रेम थियो भने धोका हुने थिएन । धोका भएकै हो भने त्यो प्रेम थिएन । सत्ता सत्य, अरु भ्रम भन्ने चुरो कुरो शेरबहादुर देउवाका घनिष्टहरूले नबुझेका होलान् भनेर म आफ्नै चेतनालाई धोका दिन तयार छैन । त्यसैले कवि मित्र नवराजजी, तपाईंकै एउटा कविता शीर्षक सापट लिएर भनौं– यसपालि यस्तै भयो ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?