+
+

आगलागीपछि कर्णाली पुलको अवस्था अध्ययन हुँदै, बुधबारसम्म प्रतिवेदन आउने

खम्बासँग लठ्ठाको सहायतामा पुल अड्याइएको यो नमुना पुलका लठ्ठामा आगलागीबाट क्षति पुग्दा पुलको समग्र भौतिक संरचनामा असर पर्ने भएकाले विभागले विज्ञ टोली पठाएर अध्ययन गर्न लागेको हो ।

अच्युत पुरी अच्युत पुरी
२०८० फागुन २९ गते १८:३२

२९ फागुन, काठमाडौं । सोमबार ट्रकमा लागेको आगोले लठ्ठामा क्षति पुगेपछि सुदूरपश्चिम प्रदेशलाई अन्य प्रदेशसँग जोड्ने कर्णाली पुल बन्द भएको छ ।

आगलागीले पुलमा पुगेको क्षतिबारे विज्ञ टोलीबाट अध्ययन भइरहेको सडक विभागले जनाएको छ । विभागका उपमहानिर्देशक तथा प्रवक्ता रामहरि पोखरेलका अनुसार अहिले विज्ञ टोली पुल पुगेको छ । टोलीले बुधबारसम्म प्रारम्भिक प्रतिवेदन बुझाउने छ ।

‘आगलागीबाट पुलमा कति क्षति भएको छ, त्यो कति जोखिमपूर्ण हो भन्नेबारे विज्ञ टोलीले अध्ययन गर्छ,’ पोखरेलले अनलाइनखबरसँग भने, ‘त्यसपछि हामी निर्णय गर्छौं ।’

अहिले कर्णाली पुलमा आवतजावत बन्द गरिएको छ । यसलाई विभागले गम्भीरता साथ लिएर अध्ययन गरिरहेको समेत उनले बताए । ‘हामी निकै गम्भीरता साथ यसलाई अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘छिट्टै अध्ययन सकाएर प्रतिवेदन आउने छ ।’

सोमबार वीरगञ्जबाट पश्चिमतर्फ गइरहेको ना५ख ५२९७ नम्बरको ट्रकमा आगलागी भएको थियो । चालकले ट्रक पुलमाथि नै छाडेर भाग्दा आगोले पुलमा समेत क्षति गरेको हो ।

आगो नियन्त्रणमा लिन चार घण्टा लागेको थियो । ग्यास लाइटर बोकेको ट्रकसमेत जलेर नष्ट भएको छ । एकमात्र खम्बाको भरमा अडिएको यो पुल नमुना पुलका रूपमा चर्चित छ ।

खम्बासँग लठ्ठाको सहायतामा पुल अड्याइएको यो नमुना पुलका लठ्ठामा आगलागीबाट क्षति पुग्दा पुलको समग्र भौतिक संरचनामा असर पर्ने भएकाले विभागले विज्ञ टोली पठाएर अध्ययन गर्न लागेको हो ।

राष्ट्रिय समाचार समितिले सडक विभिजन कार्यालय नेपालगञ्जलाई उद्धृत गर्दै जनाए अनुसार आगलागीबाट पुलको कुल १४ सपोर्ट डोरीमा आंशिक क्षति पुगेको छ । कार्यालयको टिमसमेत सोमबार नै घटनास्थल पुगेर अवलोकन गरेको थियो ।

विकल्प प्रयोग गरी यातायात व्यवस्थापन

सडक विभागका प्रवक्ता पोखरेलका अनुसार कर्णाली पुलबाट सवारी आवागमन अवरुद्ध भएसँगै वैकल्पिक मार्ग प्रयोग गरी यातायात व्यवस्थापन गरिएको छ ।

सदूरपश्चिमबाट पूर्वतर्फ जाने र काठमाडौंसहित पूर्वबाट सुदूरपश्चिम जाने सवारी साधनलाई कैलालीको सत्ति पुलबाट आवतजावत गर्न सकिने गरी यातायात व्यवस्थापन मिलाइएको उनले जानकारी दिए ।

किन महत्वपूर्ण छ यो पुल ?

जापानी कम्पनीले सन् १९९३ मा कर्णाली पुल निर्माण सम्पन्न गरेको थियो । यो पुल ५ सय मिटर लामो छ । बीचमा ठडिएको अग्लो खम्बामा दुवैतर्फ स्टिलका लठ्ठाले बाँधेर पुल निर्माण गरिएको छ । नमुना डिजाइनका कारण यो पुल यातायात मात्र नभई पर्यटकका बीचमा समेत उत्तिकै लोकप्रिय छ ।

यस भेग भ्रमणमा पुग्नेले पुल नजिक सवारीसाधन रोकेर सेल्फी लिने गर्छन् । यो पुल बनेसँगै चिसापानी बजारको विकास समेत तीव्रतासाथ भएको हो । यहाँ कर्णाली नदीमा मारिएका माछा खान, पौडी खेल्न र र्‍याफ्टिङ गर्न वर्षेनि हजारौं पर्यटक पुग्ने गर्छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?