+
+

पाकिस्तानका राष्ट्रपति जरदारीले छोरीलाई बनाए ‘फर्स्ट लेडी’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १४:३१

३० फागुन, काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले आफ्नी छोरी आसिफा भुट्टो जरदारीलाई ‘फर्स्ट लेडी’ बनाएका छन् । सामान्यतया कुनै देशका राष्ट्रपति या प्रधानमन्त्रीको पत्नीलाई फर्स्ट लेडी मानिन्छ ।

तर पाकिस्तानका राष्ट्रपतिले छोरीलाई फर्स्ट लेडी बनाएपछि अहिले यो विषय चर्चामा छ ।

आसिफ अली जरदारीकी पत्नी एवम् पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको सन् २००७ मा हत्या भएको थियो । त्यतिबेला छोरी आसिफा केबल १४ वर्षकी थिइन् । अहिले आसिफा ३१ वर्षकी छिन् ।

बेनजीर भुट्टो इस्लामिक देश पाकिस्तानको पहिलो प्रधानमन्त्री थिइन् । सन् १९९८ मा प्रधानमन्त्री बनेपछि उनी तीन बच्चाकी आमा बनेकी थिइन् । उनको सन् २००७ मा हत्या भएको थियो । सन् २००८ मा उनका पति आसिफ अलि जरदारी पहिलोपटक राष्ट्रपति बनेका थिए । उनी सन् २०१३ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए । त्यतिबेला आधिकारिक रुपमा कसैलाई पनि फर्स्ट लेडी नियुक्त गरिएको थिएन् ।

तर यसपटक आसिफ अलि जरदारी दोस्रो पटक र देशको १४ औं राष्ट्रपति बनेका छन् । उनले गत आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरे । त्यसपछि उनले छोरी आसिफालाई फर्स्ट लेडीको रुपमा घोषणा गरे ।

बीबीसीका अनुसार आसिफा पाकिस्तानमा सबैभन्दा कम उमेरमा फर्स्ट लेडी बनेकी छन् र उनले फर्स्ट लेडीको रुपमा पाउने सबै सेवा सुविधा पनि पाउने छिन् ।

आसिफा सन् २०२० देखि पाकिस्तान पिपल्स पार्टी (पीपीपी) को राजनीतिमा सक्रिय भएकी थिइन् । उनको राजनीतिको यात्रा पीपीपीको चुनावी र्यालीबाट सुरु भएको थियो ।

उनी पाकिस्तानको विदेशमन्त्री रहीसकेका बिलावल भुट्टोकी बहिनी हुन् । आसिफा प्राय आफ्नो बुवासँग देखिन्छिन् ।

उनले अक्सफोर्ड ब्रुक्स युनिभर्सिटीबाट समाज र राजनीतिक विज्ञान पढेकी छन् । उनी सामाजिक कार्यमा पनि सक्रिय थिइन् । उनी पाकिस्तानमा पोलियो रोगसँग सम्बन्धित अभियानमा बढी सक्रिय रहेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार कतिपयले श्रीमतीलाई फर्स्ट लेडी बनाउनुपर्नेमा छोरीलाई किन फर्स्ट लेडी बनाइएको भनेर प्रश्न उठाइरहेका छन् ।

यस सम्बन्धमा पाकिस्तानको अंग्रेजी अखबार द एक्सप्रेस ट्रिब्युनसँग कानुनका जानकारहरुले बताए अनुसार राष्ट्रपतिसँग आफ्नो परिवारका कुनै पनि सदस्यलाई फर्स्ट लेडी बनाउन सक्ने अधिकार छ । फर्स्ट लेडी श्रीमती वा फर्स्ट हसब्याण्ड श्रीमान नै हुनुपर्छ भन्ने कुनै कानुनी बाध्यता छैन ।

जिओ टिभीको वेबसाइटका अनुसार सैन्य शासनको क्रममा सन् १९५८ मा अयुब खानले श्रीमती जीवित छँदाछँदै पनि आफ्नी छोरी नसिम औरंगजेबलाई फर्स्ट लेडी बनाएका थिए ।

यस्ता उदाहरण विदेशमा पनि छन् । अमेरिकी पूर्वराष्ट्रपति एन्ड्रू ज्याक्सनले आफ्नी भान्जी एमिली डोनेल्सनलाई फर्स्ट लेडी बनाएका थिए । अमेरिकाकै चेस्टर आर्थर र ग्रोवर क्लिभल्याण्डले पनि आफ्ना बहिनीहरुलाई फर्स्ट लेडीको सेवा सुविधा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?