२० असार, काठमाडौं । ऊर्जा पेय रेड बुल नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स को मुख्य प्रायोजक बनेको छ । सम्झौताअनुसार रेड बुलले आगामी तीन वर्षसम्म सुदूरपश्चिम रोयल्सलाई मुख्य प्रायोजकका रूपमा साथ दिनेछ ।
सुदूरपश्चिम रोयल्स एनपीएलका सबैभन्दा लोकप्रिय तथा ठूलो समर्थक आधार भएका फ्रेन्चाइजमध्ये एक हो । युवामाझ लोकप्रिय ब्रान्ड रेड बुलसँगको यो सहकार्यले टोलीको व्यावसायिक विस्तारका साथै ब्रान्डको पहुँच र पहिचानलाई अझ मजबुत बनाउने विश्वास दुवै पक्षले लिएका छन् ।
‘रेड बुलजस्तो विश्वप्रसिद्ध ब्रान्डलाई मुख्य प्रायोजकका रूपमा स्वागत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं । यो साझेदारीले सुदूरपश्चिम रोयल्सको व्यावसायिक यात्रालाई थप मजबुत बनाउनुका साथै नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास लिएका छौं’ सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले भनेका छन् ।
‘साथै सुदूरपश्चिम रोयल्सले सबैभन्दा पहिले मुख्य प्रायोजक घोषणा गर्न पाउँदा खुसी छौं र यसले तेस्रो सिजनको सुरुवात पनि भएको छ’ उनले भने ।
सारस बेभरेज (रेड बुल) का प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले सुदूरपश्चिम रोयल्सजस्तो ठूलो समर्थक आधार, निरन्तर उत्कृष्ट प्रदर्शन र युवामाझ विशेष लोकप्रियता हासिल गरेको टोलीसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।
उनले रेड बुल र सुदूरपश्चिम रोयल्स दुवैले ऊर्जा, जोश र उत्कृष्टताको भावना बोकेको उल्लेख गर्दै यो साझेदारीले टोलीमा थप ऊर्जा भर्ने र व्यावसायिक रूपमा रेड बुललाई अझ सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
दुवै पक्षले यस साझेदारीले नेपाली क्रिकेटको व्यावसायिक विकास, खेलकुद मार्केटिङको विस्तार तथा एनपीएलको ब्रान्ड मूल्य अभिवृद्धिमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया 4