 
																			३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई एमालेसँग मिल्न चुनौती दिएका छन् ।
विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले ठूलो दलहरु मिले तेरो हालत के हुन्छ भनेर आफूलाई दबाबमा राख्न खोजेको बताए ।
‘ठूला दलहरु हामी मिल्यौं भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिला पनि भनियो, आज पनि भनियो’ उनले भने, ‘मेरो त कामना छ, तपाईंहरु मिल्नुस् । तपाईंहरु सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा संविधानको पक्षमा, राष्ट्रियता सुदृढीकरणको पक्षमा लडिरहनेछ ।’
प्रचण्डले अगाडि भने, ‘हिजो त तपाईंहरु सबै मिलेर टाउको काट्न खोजैकै हो नि त ।’ ठूला दल मिल्दा आफू नडराउने उनले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संवाद गरौं भनेर कांग्रेस सभापति शेरबहादुर देउवालाई राखेको प्रस्ताव स्मरण गर्दै उनले भने, ‘यहाँ पूर्व प्रधानमन्त्री केपी ओलीजीले बोल्दै गर्दा बोली नचल्ने भाषा एउटा मर्मका साथ प्रयोग गर्नुभयो । उतापट्टि माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब बोल्ने हो भन्नुभो ।’
‘बोल्नुस्, म भन्छु, बोली फुकाउनुस् । बनाउनुस् सहकार्य’ उनले भने, ‘माओवादी केन्द्र, प्रचण्ड वा प्रधानमन्त्री त्यसबाट दबाबमा पर्छ भन्ने भ्रम नराख्नुस् ।’
आफूलाई फाइदा हुन्छ, राजनीतिक रुपमा हित हुन्छ भने मिल्न र त्यस्तो हुँदैन भन्ने लागेमा गठबन्धन छोड्न हरेक दल स्वतन्त्र रहेको उनले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4