+
+

दोहोरो दबाबमा जम्मकट्टेल– सरकार टिकाउने, माओवादीका मन्त्री फेर्ने

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८० चैत २ गते १०:०४
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल

२ चैत, हेटौंडा । सत्ता गठबन्धन फेरिएसँगै अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल सरकार टिकाइराख्ने र आफ्नै पार्टीका सांसदहरुको चित्त बुझाउनुपर्ने दोहोरो दबाबमा परेका छन् । माओवादी केन्द्रका सांसदहरुले मन्त्री हेरफेर गर्नुपर्ने आवाज उठाएपछि मुख्यमन्त्री जम्मकट्टेल दोहोरो दबाबमा परेका हुन् ।

प्रदेशमा माओवादीका २१ जना प्रदेशसभा सदस्य छन् । प्रदेशसभाको दोस्रो कार्यकालमा दोस्रो पटक गठबन्धन फेरबदल हुँदा माओवादी केन्द्रमा पुराना मन्त्रीहरुलाई हटाएर नयाँलाई अवसर दिनुपर्ने आवाज उठेको छ । ‘अहिलेका मन्त्रीहरुलाई बिदा गरेर नयाँलाई अवसर दिनुपर्छ भनेर संसदीय दलमै कुरा उठेको छ । अधिकांशले नयाँलाई अवसर दिनुपर्छ भन्ने मत राख्नु भएको छ,’ माओवादीका एक सांसदले भने, ‘एउटैलाई मात्र अवसर दिनु हुँदैन भन्ने पक्षमा हामी साथीहरु छौं । नेतृत्वले के निर्णय गर्छ हेर्छौं ।’

‘कसैले दुई–दुई कार्यकालमा दुई–दुई पटक मन्त्री पाउने, कसैले चाहिँ अवसर नै नपाउने अवस्थाको अन्त्य हुनुपर्छ । सबैले जनताकै हितमा काम गर्ने हो । राम्रो काम गर्छु भनेर आउनेलाई नेतृत्वले बाटो बनाइदिनु पर्छ,’ ती सांसदले भने ।

बागमतीमा हाल भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल (शरद), सामाजिक विकास मन्त्री कुमारी मोक्तान र आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ छन् । मन्त्री श्रेष्ठ बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका हुन् । तर उनले सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रदेशसभा सदस्य निर्वाचन जितेका थिए ।

माओवादी केन्द्रका सिन्धुपाल्चोकका नेता दुलाल प्रदेशसभाको पहिलो कार्यकालमा सामाजिक विकास मन्त्री थिए । मकवानपुरकी मोक्तान पनि दोस्रो पटक सामाजिक विकास मन्त्री बनेकी हुन् । प्रदेशको पहिलो कार्यकालका अन्तिम मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मोक्तानलाई सामाजिक विकास मन्त्री बनाएका थिए । पूर्वमुख्यमन्त्री पाण्डेले सामाजिक विकास मन्त्रालयलाई तीन टुक्रामा विभाजन गरेर युवा तथा खेलकुद र स्वास्थ्य मन्त्रालय बनाएका थिए ।

वायाँबाट- भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल (शरद), सामाजिक विकास मन्त्री कुमारी मोक्तान र आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ

२५ पुस ०७९ मा मुख्यमन्त्री बनेका जम्कट्टेलले ११ माघमा श्रेष्ठ, दुलाल र मोक्तानलाई मन्त्री नियुक्त गरेका थिए । तत्कालीन एमाले र राप्रसासहितको गठबन्धन भत्किएर माओवादीले कांग्रेस तथा नेकपा (एकीकृत समाजवादी)बीचको गठबन्धन सरकार बनाउँदा उनीहरुले निरन्तरता पाएका थिए ।

पार्टीमा नयाँलाई अवसर दिनुपर्ने आवाज उठेको माओवादी केन्द्र बागमती प्रदेशका सचेतक रत्नप्रसाद ढकालले पुष्टि गरे । ‘कुरा उठेको सत्य हो । नयाँलाई पनि अवसर दिनुपर्छ भनेर कुरा आए पनि औपचारिक रुपमा कुरा हुन बाँकी छ,’ उनले भने, ‘अहिले सरकार गठनको विषयमा केन्द्रित भएका छौं । सरकारको कुरा टुंगिएपछि त्यो विषयमा औपचारिक छलफल हुन्छ होला,’ ।

माओवादी सांसद सरल सहयात्रीले पनि नयाँलाई अबसर दिनुपर्ने विषयले पार्टीमा प्रवेश पाएको उल्लेख गरे । उनले पार्टीभित्र औपचारिक छलफल हुन भने बाँकी रहेको बताए ।

सरकार टिकाउन सकस

मुख्यमन्त्री जम्कट्टेल सरकारलाई बहुमत जुटाउने कसरतमा छन् । नेपाली कांग्रेसका ६ जना मन्त्रीले २३ फागुनमा राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेल अल्पमतमा छन् । उनी गठबन्धनमा रहेका तीन दलको सिट संख्याले मात्रै बागमतीमा सरकार बनाउन बहुमत नपुग्ने भएपछि जम्कट्टेल साना दलको समर्थन जुटाउन लागिपरेका छन् ।

उनले दुई सिटको हाम्रो नेपाली पार्टीलाई पनि सरकारमा ल्याउन छलफल गरिरहेका छन् । बिहीवार काठमाडौंमा प्रदेश गठबन्धनको बैठक राखिएको थियो । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आउन नभ्याएपछि बैठक बस्न नसकेको नेकपा एकीकृत समाजवादीका नेता कृष्ण शर्मा खनालले जानकारी दिए ।

११० सदस्यीय बागमती प्रदेशसभामा सरकारले बहुमत सिद्ध गर्न ५६ सांसदको समर्थन आवश्यक पर्छ । गठबन्धनका एमाले, माओवादी र एकीकृत समाजवादीको सिट संख्या ५५ मात्रै छ । बहुमत जुटाउन हाम्रो नेपाली पार्टीको दुई सिट निर्णायक बनेको छ ।

प्रदेशमा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३ (सभामुखसहित), एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?