+

तिर्खा लाग्दा पानीको साटो कोल्ड ड्रिंक पिउँदा के हुन्छ ?

२०८० चैत  २ गते १२:४६ २०८० चैत २ गते १२:४६
तिर्खा लाग्दा पानीको साटो कोल्ड ड्रिंक पिउँदा के हुन्छ ?

काठमाडौं । गर्मीमा धेरैजसो मानिस सफ्ट ड्रिंक वा चिसो पेय पदार्थ पिउन रुचाउँछन् । कतिले त तिर्खा लाग्दा पानीको विकल्पमा पनि कोल्ड ड्रिंक पिउने गर्छन् । यसलाई पिउनाले केही समयका लागि ताजा महसुस त गराउँछ तर लामो समय सेवन गर्दा शरीरलाई हानि पुर्‍याउन सक्छ ।

चिनी आफैंमा अस्वस्थकर खानेकुरा हो । झन् त्यो तरल रूपमा रूपान्तरण हुन्छ अझ बढी हानिकारक हुने पोषणविद् प्रतिमा सेन केसी बताउँछन् ।

‘कोल्ड ड्रिंक्समा चिनी र क्यालोरीको मात्रा धेरै हुन्छ । त्यसकारण, तिनीहरूलाई नियमित रूपमा पिउनु वा अत्यधिक मात्रामा सेवन गर्नु राम्रो होइन,’ उनी भन्छिन् ।

गर्मीमा तिर्खा मेटाउन मानिसहरू कोल्ड ड्रिंक पिउने गर्छन् । कतिपयले डाइट कोकलाई स्वास्थ्य मानेर पिउने गर्छन् । तर दुवै प्रकारका पेय पदार्थमा कार्बनडाइअक्साइड, चिनी र क्याफिन हुन्छ, जसले धेरै पिसाब उत्पादन गराउँछ र शरीरमा पानी कम गरेर डिहाइड्रेसन हुने केसी बताउँछिन् ।

‘कोकाकोला जस्ता कोल्ड ड्रिंकमा त्यस्ता तत्त्व हुन्छन्, जुन स्वास्थ्यका लागि फाइदाजनक छैन,’ उनी भन्छिन्, ‘कोकाकोलालाई गाढा खैरो रंगको बनाउन मिथाइलिमिडाजोल भन्ने रसायन प्रयोग गरिन्छ । यो रसायनमा क्यान्सरको कारक तत्त्व हुने अमेरिकन हार्ट एसोसिएसनले उल्लेख गरेको छ ।’

‘यस्ता पेय पदार्थले भोक लागेको महसुस हुन्छ र झन् धेरै पिउन मन लाग्छ । यसमा धेरै मात्रामा सुगर र क्यालोरी हुन्छ, जसलाई नियमित पिउँदा मोटोपनको समस्या हुन्छ,’ उनी भन्छिन ।

कोल्ड ड्रिंकमा क्याफिन हुन्छ । जसलाई एक पटक पिएपछि फेरि तलतल लाग्छ । कोल्ड ड्रिंकले शरीरमा डोपामिनको स्तर बढाउने केसी बताउँछिन् । ‘यो हार्मोनले खुसीको अनुभूति गराउँछ, जसकारण पटक– पटक पिउन मन लाग्छ र त्यसको तल नै बस्छ,’ उनी भन्छिन् ।

‘कोल्ड ड्रिंकले मिर्गौलामा पनि नराम्रो प्रभाव पार्छ । जब शरीरमा चिनीको मात्रा अत्यधिक हुन्छ, मांसपेशीहरूले यो चिनीलाई पूर्ण रूपमा प्रयोग गर्न सक्दैनन्, जसकारण मिर्गौलाले पिसाबको माध्यमले शरीरबाट त्यो चिनीलाई बाहिर निकाल्ने प्रयास गर्छ,’ उनी भन्छिन्, ‘तर यो सम्पूर्ण प्रक्रियामा मिर्गौलाले सामान्यभन्दा धेरै गुणा बढी काम गर्नुपर्ने हुन्छ, जसले गर्दा कलेजोमा क्षति हुने सम्भावना बढ्छ ।’

यस्ता पेय पदार्थमा चिनीको मात्रा धेरै हुन्छ । कोल्ड ड्रिंक धेरै मात्रामा पिउँदा शरीरमा रगतमा चिनीको मात्रा बढ्छ । शरीरमा चिनीको मात्रा बढ्दा यसले धेरै गम्भीर रोग निम्त्याउन सक्छ । साथै टाइप-२ मधुमेहको जोखिम पनि बढ्ने केसी बताउँछिन् ।

‘कोल्ड ड्रिंकले शरीरमा कोलेस्टेरोलको मात्रा पनि बढाउँछ । कोलेस्टेरोल बढेपछि रक्तसञ्चारमा असर पुग्छ र रक्तचाप बढ्छ । जसले गर्दा मुटुको धमनीलाई असर गरेर मुटुसम्बन्धी समस्या निम्तिन सक्छ,’ पोषणविद् केसी भन्छिन् ।

‘धेरै मात्रामा कोल्ड ड्रिंक पिउने व्यक्तिलाई फ्याटी लिभरको समस्या पनि हुनसक्छ । यस्ता पेय पदार्थमा दुई प्रकारको चिनी पाइन्छ । ग्लुकोज र फ्रक्टोज ग्लुकोज । फ्रक्टोज ग्लुकोज चाँडै शरीरमा मेटाबोलाइज हुन्छ,’ उनी भन्छिन्, ‘फ्रक्टोज कलेजोमा मात्र भण्डारण हुन्छ । कलेजोमा फ्रक्टोज बढी मात्रामा जम्मा भएर कलेजोलाई असर गर्छ र फ्याटी लिभरको समस्या निम्तिन सक्छ ।’

यस्ता पेय पदार्थले खानाबाट लिइएको क्याल्सियमलाई मात्र नष्ट गरेर शरीरमा पहिलेदेखि नै रहेको क्याल्सियमलाई पनि अवशोषित गर्छ । त्यसैले धेरै सफ्ट ड्रिंक्स, कोल्ड ड्रिंक्स पिउने व्यक्तिको हड्डी कमजोर हुने केसी बताउँछिन् ।

धेरै मात्रामा कोल्ड ड्रिंकको सेवनले ‘भिसेरल फ्याट’ अर्थात् महत्त्वपूर्ण अंगहरु जस्तो मुटु, कलेजो अंगहरुमा बोसो जम्न थाल्छ र यी अंगको कार्यलाई असर पुर्‍याउँछ । जसले गर्दा मधुमेह र कोलेस्टेरोल बढ्ने र मुटुको समस्या निम्तिन सक्ने केसी बताउँछिन् ।

कोल्ड ड्रिंक स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय