+

दिनभर एसीमा बस्दा बढ्न सक्छ स्वास्थ्य समस्या, कसरी बच्ने ?

२०८३ साउन  २७ गते १५:०७ २०८३ साउन २७ गते १५:०७

कोठाको हावा अत्यधिक सुख्खा भए उपयुक्त ह्युमिडिटी कायम राख्न सकिन्छ ।

Shares
दिनभर एसीमा बस्दा बढ्न सक्छ स्वास्थ्य समस्या, कसरी बच्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसीको फिल्टर सफा नहुँदा धुलो र फङ्गसले एलर्जी बढाउन सक्ने भएकाले नियमित सरसफाइमा ध्यान दिनुपर्छ।
  • शरीरलाई आरामदायी बनाउन एसीको तापक्रम २४ देखि २६ डिग्री सेल्सियसमा राख्नुका साथै हावा सिधै अनुहारमा नपर्ने गरी मिलाउनुपर्छ।

चर्को गर्मीबाट राहत पाउन अहिले धेरैको दिनको ठूलो हिस्सा एयर कन्डिसनर (एसी) बनेको छ । घर, कार्यालयदेखि गाडी र पसलसम्म एसी सामान्यजस्तै बनेको छ । तर लामो समय एसीमा बसेपछि कतिपयलाई नाक बन्द हुने, लगातार हाच्छ्युँ आउने, टाउको भारी हुने वा अनुहार वरिपरि दुख्ने समस्या देखिन्छ । धेरैजसोमा भने साइनुसाइटिस हुने गर्छ ।

साइनसको समस्या भनेको नाक वरिपरि रहेका हावाले भरिएका खाली ठाउँ सुन्निनु वा संक्रमण हुँदा हुने समस्या हो । यसलाई साइनुसाइटिस भनिन्छ । यसका कारण नाक बन्द हुने, नाकबाट बाक्लो सिँगान आउने, निधार, गाला वा आँखाको वरिपरि दुख्ने, भारी हुने र टाउको दुख्ने हुन्छ ।

के त्यसोभए, एसी चलाएर बस्नै हुँदैन ? 

एसी आफैंले साइनस संक्रमण गराउने होइन । तर धेरै चिसो वा सुख्खा हावा र लामो समयसम्म एसीको सम्पर्कमा रहँदा केही व्यक्तिमा साइनससँग सम्बन्धित लक्षण बढ्न सक्छन् । लामो समयसम्म सफा नगरिएको एसीको फिल्टरमा धुलो, फङ्गस तथा अन्य सूक्ष्म कण जम्मा हुन्छ । यसले एलर्जी भएका व्यक्तिमा समस्या बढ्न सक्छ।

चिसो हावाले नाकमा कसरी असर गर्छ ?

नाक र साइनसको भित्री भागमा प्राकृतिक रूपमा ओसिलोपन हुन्छ । यसले धुलो, एलर्जीका कारण तथा अन्य कणलाई बाहिर निकाल्न मद्दत गर्छ ।

तर धेरै चिसो वा सुख्खा हावामा लामो समय बस्दा नाकको भित्री सतह भएको झिल्ली, नशा र रक्तनलीलाई अवरोध गर्छ ।  सुख्खा हावाले रक्तनली ठुलो हुने र सुन्निने हुन्छ  । यसले नाकमा पोल्ने र सुन्निने समस्या बढाउन सक्छ । त्यसपछि नाक बन्द हुने, हाच्छ्युँ आउने, नाकबाट पानी बग्ने वा टाउको भारी हुनेजस्ता समस्या देखिन सक्छन् ।

विशेषगरी पहिले नै एलर्जिक राइनाइटिस वा साइनससम्बन्धी समस्या भएका व्यक्तिमा यसको असर बढी देखिन सक्छ ।

दिनभर एसी चलाउँदा हानि हुन्छ ?

एसी दिनभर चलाउँदैमा सबैलाई हानि हुन्छ भन्ने होइन । मुख्य कुरा तापक्रम, हावाको गुणस्तर, कोठाको भेन्टिलेसन र एसीको सरसफाइ हो । कोठालाई अत्यधिक चिसो बनाएर लगातार बस्दा शरीरले बाहिरको गर्मी र भित्रको चिसोबीच बारम्बार अनुकूलन गर्नुपर्ने हुन्छ । यसले केही व्यक्तिमा नाक बन्द हुने, घाँटी सुख्खा हुने वा एलर्जीका लक्षण बढाउन सक्छ ।

त्यसैले, दिनभर एसी चलाउनुपर्ने अवस्था छ भने पनि बीच–बीचमा कोठामा ताजा हावा आउने व्यवस्था गर्नु राम्रो हुन्छ । सम्भव भए केही समय एसी बन्द गरेर प्राकृतिक हावा चलाउनु पनि उपयोगी हुन्छ ।

एसी कति तापक्रममा राख्ने ?

एसीको तापक्रम अत्यन्त कम राख्नु उचित हुँदैन । सामान्यतया २४–२६ डिग्री सेल्सियस वरिपरि राख्दा आरामदायी तापक्रम कायम गर्न सकिन्छ । बाहिर अत्यधिक गर्मी भएको अवस्थामा पनि एसीलाई एकैपटक धेरै कम तापक्रममा राख्नुको सट्टा बिस्तारै आरामदायी तापक्रममा ल्याउनु राम्रो हुन्छ । विशेषगरी साइनस वा एलर्जीको समस्या भएका व्यक्तिले १८–२० डिग्री सेल्सियसमा एसी राखेर लामो समय बस्नु हुँदैन ।

एसी कति समय चलाउने ?

एसी चलाउने निश्चित घण्टा सबैका लागि एउटै हुँदैन । कोठाको तापक्रम र बाहिरको मौसमअनुसार आवश्यकता हेरेर चलाउन सकिन्छ । तर लगातार एसी चलाउनुपर्ने अवस्था भए कोठालाई अत्यधिक चिसो नबनाउने, बीच–बीचमा भेन्टिलेसन गर्ने र एसीको हावा सिधै अनुहार वा नाकमा नपर्ने कुरामा ध्यान दिनुपर्छ ।

रातभर एसी चलाएर सुत्ने हो भने पनि तापक्रम धेरै कम नराख्नु राम्रो हुन्छ । शरीरलाई आरामदायी हुने मध्यम तापक्रममा राखेर सुत्न सकिन्छ ।

एसीको हावा सिधै अनुहारमा नपार्ने

एसीको चिसो हावा सिधै अनुहार, नाक वा घाँटीमा पर्ने गरी बस्दा नाक र घाँटीको भित्री भाग सुख्खा हुन सक्छ । त्यसैले, एसीको एयरफ्लो सिधै शरीरमा पर्नेभन्दा कोठाभरि हावा फैलिने गरी राख्नु राम्रो हुन्छ ।

एसीको फिल्टर सफा नगर्दा पनि साइनस बढ्न सक्छ । लामो समयसम्म सफा नगरिएको एसीको फिल्टरमा धुलो, फङ्गस र अन्य सूक्ष्म कण जम्मा हुनसक्छन् । एसी चलाउँदा ती कण हावासँगै कोठाभरि फैलिन सक्छन् ।

विशेषगरी धुलो वा फङ्गसबाट एलर्जी हुने व्यक्तिमा यसले हाच्छ्युँ आउने, नाकबाट पानी बग्ने, नाक बन्द हुने र घाँटीमा पोल्ने समस्या बढाउन सक्छ । त्यसैले, एसीको फिल्टर नियमित रूपमा सफा गर्नु अत्यन्त आवश्यक हुन्छ ।

नाक सुख्खा हुन नदिन के गर्ने  ?  

– एसीमा लामो समय बस्दा पर्याप्त पानी पिउनुपर्छ । यसले शरीरमा पानीको मात्रा कायम राख्न मद्दत गर्छ ।

– नाक अत्यधिक सुख्खा हुने वा पोल्नेसमस्या भए चिकित्सकको सल्लाहमा नुनिलो पानीको नाकमा प्रयोग हुने स्प्रे पनि प्रयोग गर्न सकिन्छ ।

– कोठाको हावा अत्यधिक सुख्खा भए उपयुक्त ह्युमिडिटी कायम राख्न सकिन्छ । तर धेरै आद्र्रता पनि फङ्गस बढाउन सक्ने भएकाले सन्तुलनमा ध्यान दिनुपर्छ ।

– हरेक पटक नाक बन्द हुनु साइनस होइन, एसीमा बसेपछि नाक बन्द भयो भन्दैमा त्यसलाई साइनस संक्रमण नै भन्न मिल्दैन । एलर्जी, सुख्खा हावा वा तापक्रममा अचानक भएको परिवर्तनले पनि नाक बन्द हुन सक्छ ।

यदि अनुहार वा टाउकोमा लगातार दुखाइ वा दबाब, बाक्लो पहेँलो–हरियो नाकको स्राव, ज्वरो, गन्ध थाहा पाउने क्षमता कम हुनु वा समस्या बारम्बार दोहोरिनु जस्ता लक्षण छन् भने चिकित्सकसँग जाँच गराउनु आवश्यक हुन्छ ।

त्यसैले, एसीलाई पूर्ण रूपमा दोष दिनुपर्ने मिल्दैन । २४–२६ डिग्री सेल्सियसको आरामदायी तापक्रम, सफा फिल्टर, सिधै नाकमा नपर्ने हावा र पर्याप्त भेन्टिलेसन अपनाएमा एसीका कारण हुन सक्ने धेरै समस्या कम गर्न सकिन्छ ।

एसी साइनुसाइटिस स्वास्थ्य समस्या
डा. ओमप्रकाश यादव
लेखक
डा. ओमप्रकाश यादव
नाक, कान तथा घाँटीका सिनियर शल्यचिकित्सक

मेडिकल काउन्सिल दर्ता नम्बर : ७९४१ एमबीएस, एमएस हाल वीर अस्पताल र बीपी स्मृति अस्पताल, बसुन्धरामामा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

दिनभर एसीमा बस्दा बढ्न सक्छ स्वास्थ्य समस्या, कसरी बच्ने ?

दिनभर एसीमा बस्दा बढ्न सक्छ स्वास्थ्य समस्या, कसरी बच्ने ?

स्वास्थ्य बीमा बोर्डले हटायो १८७ थरी औषधि

स्वास्थ्य बीमा बोर्डले हटायो १८७ थरी औषधि

भावना तपाईंमाथि हाबी छ कि तपाईं भावनामाथि ?

भावना तपाईंमाथि हाबी छ कि तपाईं भावनामाथि ?

रजोनिवृत्ति : महिलाको जीवनको स्वाभाविक परिवर्तन, चुनौती र समाधान

रजोनिवृत्ति : महिलाको जीवनको स्वाभाविक परिवर्तन, चुनौती र समाधान

एकराज परियारको उपचारका लागि सहयोग प्राप्त

एकराज परियारको उपचारका लागि सहयोग प्राप्त

रक्सी पिएपछि शरीरभित्र कहाँ–कहाँ पुग्छ ? के–के हुन्छ ?

रक्सी पिएपछि शरीरभित्र कहाँ–कहाँ पुग्छ ? के–के हुन्छ ?