+

भावना तपाईंमाथि हाबी छ कि तपाईं भावनामाथि ?

२०८३ साउन  २७ गते ११:४१ २०८३ साउन २७ गते ११:४१
Shares
भावना तपाईंमाथि हाबी छ कि तपाईं भावनामाथि ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानसिक स्वास्थ्यमा सुधार ल्याउन र दैनिक जीवनका निर्णयहरूलाई प्रभावकारी बनाउन आफ्ना भावनामाथि नियन्त्रण राख्नु अत्यन्त आवश्यक हुन्छ।

राम्रो मानसिक स्वास्थ्यका लागि आफ्ना भावनामाथि नियन्त्रण हुनु अत्यन्त आवश्यक हुन्छ । धेरै पटक भावना यति धेरै हाबी हुन्छ कि हामी सही निर्णय लिन सक्दैनौं, न त कुनै विषयमा स्पष्ट रूपमा सोच्न नै सक्छौं । हतारमा गरिएका गलत निर्णयले पछि मानसिक तनाव निम्त्याउँछन् ।

यस्तो तनावले शारीरिक र मानसिक दुवै स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । त्यसैले भावनालाई नियन्त्रण गर्न सकियो भने आजको व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीमा मानसिक रूपमा स्वस्थ रहन धेरै सहज हुन्छ ।

दिनभर कस्तो महसुस हुन्छ – खुसी, दुःखी, उत्साही वा निरुत्साहित – यो धेरै हदसम्म भावनामै निर्भर हुन्छ । भावनाले हाम्रो सोच, व्यवहार र मनोदशालाई प्रत्यक्ष प्रभाव पार्छ । एउटै परिस्थितिमा पनि कसैलाई खुसी र कसैलाई दुःखी बनाउने शक्ति भावनामै हुन्छ । यही भावनाले कुनै काम सफल बनाउन सक्छ भने बिगार्न पनि सक्छ ।

आजभोलिको तनावपूर्ण र दौडधुपयुक्त जीवनमा डिप्रेसन, डर, रिस, चिन्ता तनाव र बेचैनीजस्ता भावनाले धेरै मानिसलाई कुनै न कुनै समयमा सताइरहेका हुन्छन् । वर्तमान वा विगतका नसुल्झिएका घटनाले मनमा असर पार्दा शरीर र मनबीचको सन्तुलन बिग्रन सक्छ । यस्ता भावनाले मानसिक स्वास्थ्यलाई कमजोर बनाउने मात्र होइन, शारीरिक स्वास्थ्यमा समेत असर पुर्‍याउन सक्छन् ।

जीवनमा भावनाको अत्यन्त महत्त्वपूर्ण भूमिका हुन्छ । यसले हाम्रो दैनिक व्यवहारदेखि शरीरको कार्यप्रणालीसम्म प्रभाव पार्छ । यदि हामीले भावनालाई नियन्त्रण गर्न सिक्यौं भने धेरै समस्या आफैं समाधान हुन सक्छन् । तर भावना नियन्त्रणबाहिर गए मानसिक समस्या उत्पन्न हुन सक्छन् र दैनिक जीवनका सामान्य कामसमेत कठिन बन्न सक्छन् । त्यसैले केही सरल उपाय अपनाएर तनाव, चिन्ता र एन्जाइटीलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।

धेरैजसो मानिसले परीक्षा दिन जाँदा, अन्तर्वार्तामा सहभागी हुँदा वा चिकित्सककहाँ जाँदा अनावश्यक डर अनुभव गर्छन् । ‘परीक्षा कस्तो होला ?’, ‘प्रश्न आउला कि नआउला ?’, ‘डाक्टरले गम्भीर रोग त देखाउँदैनन् ?’ जस्ता अनेकौं सोचले मन भरिन्छ । यिनै नकारात्मक सोचले एन्जाइटी बढाउँछ र तनाव सिर्जना गर्छ । यदि यस्तो अवस्थामा भावनामाथि नियन्त्रण गर्न सकिएन भने पढेको विषय पनि बिर्सिन सकिन्छ, अन्तर्वार्तामा बोल्न गाह्रो हुन सक्छ वा चिकित्सककहाँ पुग्दा रक्तचापसमेत बढ्न सक्छ ।

एन्जाइटीलाई यसरी नियन्त्रण गर्न सकिन्छ

–आफ्नो समस्या वा मनको कुरा विश्वासिलो व्यक्तिसँग खुलेर साझा गर्ने ।

–नियमित योग र ध्यान गर्ने । यसले मनलाई शान्त राख्न र एन्जाइटी कम गर्न मद्दत गर्छ ।

–आत्मविश्वास कायम राख्ने र सधैं सकारात्मक सोच्ने बानी बसाल्ने ।

–आफ्नो ध्यान चिन्ताको विषयबाट हटाएर अन्य सिर्जनात्मक कामतर्फ केन्द्रित गर्ने ।

–आफूले महसुस गरिरहेको भावनालाई लेख, चित्र वा पेन्टिङमार्फत अभिव्यक्त गर्ने ।

रङ भर्नु, पजल हल गर्नु वा डायरी लेख्नु पनि उपयोगी हुन्छ । कुन परिस्थितिले यस्तो प्रतिक्रिया ल्यायो भन्ने कुरा लेखेर राख्ने । यसले आफ्ना भावना बुझ्न र कठिन अवस्थाबाट बाहिर निस्कन सहयोग पुर्‍याउँछ ।

रिसलाई नियन्त्रण गर्ने उपाय

धेरै पटक कुनै कुरा मन नपर्दा वा अप्रत्याशित घटना हुँदा हामीलाई अत्यधिक रिस उठ्छ । यस्तो बेला भावनामाथि नियन्त्रण गर्न कठिन हुन्छ र आवेशमा आएर गलत निर्णय लिन पुगिन्छ । पछि त्यही निर्णयका कारण पछुताउनुपर्ने अवस्था आउन सक्छ ।

जब रिस उठ्छ, त्यसबेला आफ्नो मनमा आएका विचारप्रति सचेत हुनुपर्छ । कुन सोचले थप आक्रोशित बनाइरहेको छ र कुन सोच उपयोगी छैन भन्ने बुझ्ने प्रयास गर्नुपर्छ । साथै, रिसाउँदा शरीरमा आउने परिवर्तनलाई पनि ध्यानपूर्वक महसुस गर्नुपर्छ । जस्तै– मुटुको धड्कन बढ्नु, पसिना आउनु, सास छिटो चल्नु, दाँत किटकिटाउनु, जबडा कसिनु, शरीर तनावग्रस्त हुनु वा अनुहार रातो हुनु आदि ।

रिसको प्रतिक्रिया सबैमा फरक–फरक हुन्छ । कसैले मनभित्रै दबाएर राख्छन् भने कसैले खुलेर व्यक्त गर्छन् । केही मानिसले रिसलाई हिंसात्मक व्यवहार, सामान तोडफोड वा अरूमाथि आक्रमण गर्ने माध्यम बनाउँछन् । यस्ता व्यवहारले सम्बन्ध बिगार्नुका साथै मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पुर्‍याउँछन् ।

यदि रिसले आफू वा आफ्ना वरपरका मानिसलाई नोक्सान पुर्‍याइरहेको छ भने त्यसलाई समयमै नियन्त्रण गर्नु आवश्यक हुन्छ । यद्यपि, रिस शान्त पार्नु सजिलो काम भने होइन ।

यस्तो अवस्थामा गहिरो सास लिने, तुरुन्त प्रतिक्रिया नदिने । आफूलाई केही समय दिनुपर्छ । यसले तनाव कम गर्न, मन शान्त बनाउन र सही निर्णय लिन सहयोग गर्छ । लामो समयसम्म रिस मनमा राखिरहँदा उच्च रक्तचाप, मुटुको धड्कन बढ्ने, मांसपेशी दुख्ने जस्ता समस्या देखिन सक्छन् । यसले मानसिक स्वास्थ्यमा पनि असर पारेर चिडचिडापन, डिप्रेसन र निरन्तर चिन्ताजस्ता समस्या निम्त्याउन सक्छ । यदि भावनात्मक तनाव अत्यधिक बढेको छ र आफैंले त्यसलाई व्यवस्थापन गर्न सकिरहनुभएको छैन भने मनोपरामर्शदाता वा चिकित्सकको सहयोग लिनु उपयुक्त हुन्छ ।

उदासीलाई नियन्त्रण गर्ने उपाय

उदासी एउटा यस्तो भावनात्मक अवस्था हो, जसमा मानिसले निराशा महसुस गर्छ र खुसी हुन सक्दैन । कहिलेकाहीँ यो भावना निकै तीव्र हुन सक्छ भने कहिलेकाहीँ सामान्य मात्र हुन्छ । सामान्य अवस्थामा केही समयपछि यो आफैं कम हुँदै जान्छ । तर लामो समयसम्म उदासी कायम रहिरहेमा त्यसले डिप्रेसनको रूप लिन सक्छ, जुन मानसिक रोग हो । त्यसैले समयमै यसलाई व्यवस्थापन गर्नु आवश्यक छ ।

यदि उदासीले घेर्दै गएको महसुस हुन्छ भने यी उपाय अपनाउन सकिन्छ:

–आफूलाई मनपर्ने कुनै काम गर्ने ।

–सकारात्मक पक्ष र राम्रा कुरामा ध्यान केन्द्रित गर्ने ।

–घरबाहिर घुम्न वा खुला वातावरणमा केही समय बिताउने ।

–आफूलाई मनपर्ने परिकार बनाएर खाने ।

–मनपर्ने संगीत सुन्ने ।

–साथीभाइ वा परिवारका सदस्यसँग खुलेर कुरा गर्ने

–उदासीको वास्तविक कारण पत्ता लगाएर त्यसको समाधान खोज्ने प्रयास गर्ने ।

आफ्ना भावनालाई बुझ्नुपर्छ

भावना जुनसुकै प्रकारको भए पनि त्यसलाई नियन्त्रण गर्ने पहिलो कदम भनेको आफूभित्र के भइरहेको छ भन्ने पहिचान गर्नु हो । भावना कहिले नियन्त्रणबाहिर जान थालेको छ भन्ने थाहा पाउनु नै त्यसलाई व्यवस्थापन गर्ने सुरुआत हो । त्यसका लागि माइन्डफुलनेस अर्थात् वर्तमान क्षणमा सचेत रहने अभ्यास र तर्कसंगत सोच आवश्यक हुन्छ ।

आत्मविश्वासका साथ आफैंसँग संवाद गर्ने

परीक्षा, अन्तर्वार्ता वा खेल प्रतियोगिताजस्ता महत्त्वपूर्ण अवसरमा कहिलेकाहीँ डर र निराशाले मन ढाक्न सक्छ । यस्तो अवस्थामा आफूलाई कमजोर ठान्नुको सट्टा आत्मविश्वासका साथ सकारात्मक कुरा भन्नुपर्छ । जस्तै: ‘मैले राम्रो तयारी गरेको छु । म परीक्षा राम्रोसँग दिन सक्छु । अन्तर्वार्ता राम्रो हुनेछ । हामी जित्न सक्छौं ।“

यस्ता सकारात्मक आत्मसंवादले आत्मविश्वास बढाउनुका साथै नकारात्मक भावनालाई कम गर्न मद्दत गर्छ ।

भावनामा स्वस्थ र सकारात्मक प्रतिक्रिया दिन सिक्ने

यदि रिस हाबी हुन थालेको छ भने त्यसलाई शान्त पार्ने प्रयास गर्नुपर्छ । तुरुन्त प्रतिक्रिया दिनुको सट्टा आफ्नो ध्यान केही समयका लागि अर्को कामतर्फ मोड्नुपर्छ ।

उदाहरणका लागि, परिवारका सदस्य वा श्रीमान् –श्रीमतीबीच कहिलेकाहीँ विवाद हुनु स्वाभाविक हो । तर त्यही क्षणको आवेशमा बोलेका कठोर शब्द वा गरिएका गलत निर्णयले सम्बन्धमा गम्भीर असर पर्न सक्छ । यदि त्यसबेला भावनामाथि नियन्त्रण गर्न सकिएन भने सम्बन्ध बिग्रनु मात्र होइन, कहिलेकाहीँ पूर्ण रूपमा टुट्न पनि सक्छ । त्यसैले रिस उठेको अवस्थामा केही समय मौन बस्ने, अनावश्यक बहस नगर्ने र सकारात्मक रूपमा समाधान खोज्ने बानी विकास गर्नु आवश्यक हुन्छ ।

ध्यानलाई दैनिक जीवनको हिस्सा बनाउने

आफ्ना भावना र व्यवहारलाई नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी उपायमध्ये ध्यान ‘मेडिटेसन’ पनि एक हो । नियमित ध्यान गर्ने व्यक्तिको मानसिक स्थिरता बढ्छ, तनाव कम हुन्छ र कठिन परिस्थितिमा पनि संयमित रहन सक्ने क्षमता विकास हुन्छ ।

ध्यानले केवल मनलाई शान्त बनाउने मात्र होइन, आत्मविश्वास बढाउने, नकारात्मक सोच घटाउने र भावनात्मक सन्तुलन कायम राख्न पनि मद्दत गर्छ । त्यसैले हरेक दिन केही समय ध्यानका लागि छुट्याउने बानी बसाल्नु राम्रो हुन्छ ।

विचार, शब्द र व्यवहार परिवर्तन गर्ने

हाम्रा भावना हाम्रा विचार, बोल्ने शैली र व्यवहारसँग गहिरो रूपमा जोडिएका हुन्छन् । यदि हामी सधैं नकारात्मक सोच राख्छौं, कठोर शब्द प्रयोग गर्छौं वा आवेशमा आएर व्यवहार गर्छौं भने त्यसले नकारात्मक भावनालाई अझ बलियो बनाउँछ । तर सकारात्मक सोच, संयमित बोली र जिम्मेवार व्यवहारले भावनालाई पनि सकारात्मक दिशामा लैजान मद्दत गर्छ । त्यसैले आफूले के सोच्दैछु, के बोल्दैछु र कसरी व्यवहार गरिरहेको छु भन्ने कुरामा सचेत रहनु अत्यन्त आवश्यक छ ।

ध्यान दिनुपर्ने कुरा

भावना मानव जीवनको स्वाभाविक र अपरिहार्य हिस्सा हो । खुसी, दुःख, रिस, डर वा चिन्ता—यी सबै भावना अनुभव गर्नु सामान्य कुरा हो । तर जब यी भावनाले हामीमाथि नियन्त्रण जमाउन थाल्छन्, तब त्यसले मानसिक स्वास्थ्य, सम्बन्ध, निर्णय क्षमता र समग्र जीवनमा नकारात्मक असर पार्न सक्छ ।

त्यसैले भावनालाई दबाउने होइन, बुझ्ने र स्वस्थ तरिकाले व्यवस्थापन गर्ने बानी बसाल्नुपर्छ । आफ्ना भावनालाई पहिचान गर्ने, सकारात्मक सोच विकास गर्ने, नियमित ध्यान गर्ने, आवश्यक पर्दा विश्वासिलो व्यक्तिसँग मनको कुरा साझा गर्ने र समस्या गम्भीर बनेमा मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग लिनु बुद्धिमानी हुन्छ ।

एन्जाइटी भावना मानसिक तनाव
डा. सुमनप्रसाद अधिकारी
लेखक
डा. सुमनप्रसाद अधिकारी
वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ

अध्ययन : एमबीबीएस, एमडी नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९१२० हाल काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

भावना तपाईंमाथि हाबी छ कि तपाईं भावनामाथि ?

भावना तपाईंमाथि हाबी छ कि तपाईं भावनामाथि ?

रजोनिवृत्ति : महिलाको जीवनको स्वाभाविक परिवर्तन, चुनौती र समाधान

रजोनिवृत्ति : महिलाको जीवनको स्वाभाविक परिवर्तन, चुनौती र समाधान

एकराज परियारको उपचारका लागि सहयोग प्राप्त

एकराज परियारको उपचारका लागि सहयोग प्राप्त

रक्सी पिएपछि शरीरभित्र कहाँ–कहाँ पुग्छ ? के–के हुन्छ ?

रक्सी पिएपछि शरीरभित्र कहाँ–कहाँ पुग्छ ? के–के हुन्छ ?

रगत बाक्लो हुँदा शरीरमा के हुन्छ ? कसलाई बढी जोखिम, कसरी बच्ने ?

रगत बाक्लो हुँदा शरीरमा के हुन्छ ? कसलाई बढी जोखिम, कसरी बच्ने ?

नेशनल प्याथ ल्याबमा सुरु भयो विशेष प्रोटिन परीक्षणको अत्याधुनिक सेवा

नेशनल प्याथ ल्याबमा सुरु भयो विशेष प्रोटिन परीक्षणको अत्याधुनिक सेवा