+

पेटको बोसो घटाउन यी ५ योगासन (भिडियो)

२०८० चैत  ३ गते ६:५० २०८० चैत ३ गते ६:५०
पेटको बोसो घटाउन यी ५ योगासन (भिडियो)

पेटमा बोसोको मात्रा बढ्दै गएपछि पुट्ट देखिन्छ । यो आजको भोलि नै भएको हुँदैन । तर हामी पेट घटाउने कुरामा आजको भोलि नै नतिजा खोज्न थाल्छौं । आज व्यायाम गर्छौं र भोलि नै पेट घटोस् भन्ने चाहन्छौं । आज खानाको मात्रा घटाउँछौं र भोलि नै पेट पनि घटोस् भन्ने अपेक्षा राख्छौं । वास्तवमा यस्तो हुँदैन ।

खानेकुरा छाड्नासाथ वा व्यायाम गर्नासाथ तुरुन्तै नतिजा प्राप्त हुँदैन । यसको लागि एक निश्चित प्रक्रिया जरुरी हुन्छ ।

के गर्ने त ?

बजारमा पेटको बोसो घटाउने अनेक उपाय छन् । त्यसमध्ये प्राकृतिक र प्रभावकारी तरिका हो, योग र व्यायाम । केही योगाभ्यास छन्, जसले पेटको बोसोलाई घटाउन सहयोग गर्छ ।

योगाभ्यासले पेटको बोसो मात्र घटाउँदैन, पाचन प्रणालीलाई स्वस्थ राख्छ । शरीरको बनावटलाई एउटा लयमा ढाल्छ । शरीरलाई सदाबाहर उर्जाशील र अनुहारमा चमक पनि बढाउँछ । त्यसका लागि यी पाँच योगासन जरुरी हुन्छ ।

ष्ट्रासन

सर्वप्रथम, उष्ट्रासनका लागि म्याटमा घुँडाको सहारा लिएर बस्नुपर्छ । त्यसपछि श्वास लिंदै मेरुदण्डलाई पछाडि झुकाउँदै दुवै हातलाई श्वास छाड्दै खुट्टामा राखेर कुर्कुच्चा समाउने र हिपलाई अगाडि ठेल्नुपर्छ ।

केही समय श्वास लिंदै छोड्दै बस्ने र त्यसपछि टाउकोलाई पछाडितर्फ लगेर आकाशमा हेर्ने वा चिम्लिने गर्नुपर्छ ।

यसरी प्रत्येक आसन गर्दा पाँचदेखि दशपटक गहिरो सास लिने र त्यसपछि बिस्तारै सामान्य अवस्थामा आउनुपर्छ । घाँटीमा अत्यधिक दबाब हुनु हुँदैन र कम्मरदेखि घुँडासम्मको भाग सिधा रहनुपर्छ ।

हस्तासन

उष्ट्रासन गरिसकेपछि पाद-हस्तासन योगाभ्यास गर्न सबैभन्दा पहिले सिधा उभिनुपर्ने हुन्छ । अब सास लिंदै दुवै हातलाई माथि लिएर जाने र त्यसपछि दुवै हात सास छोड्दै विस्तारै तल लिएर म्याटसम्म लैजानुपर्छ । त्यसपछि हत्केला खुट्टाको साइडमा राखेर यदि निहुरिएर हात तन्काउँदा हत्केलाले खुट्टासम्म पुग्दैन भने घुँडालाई थोरै खुम्चाउन सकिन्छ ।

यो प्रक्रियामा पेटले तिघ्रामा हल्का छुवाएर केही समय सास तान्दै छोड्दै आँखाले खुट्टामा हेर्ने र त्यसपछि हल्कासँगले पुनः सिधा उभिनुपर्छ । केही समय यही अवस्थामा बस्नुपर्छ ।

सन्तुलनासन

यो आसनको लागि पहिला सिधा बस्ने र दुवै हातलाई काँधभन्दा तल राख्नुपर्छ । त्यसपछि हत्केलाहरू काँधमुनि राखेर माथिल्लो शरीर, टाउको र घुँडाहरू उठाउनुपर्छ ।

आफ्नो घुँडा, टाउको र मेरुदण्ड सिधा राख्न खुट्टा र हातका औंलाको प्रयोग गर्नुपर्छ । यो आसनमा केही समय बस्नुपर्छ ।

नौकासन

सन्तुलनासन गरिसकेपछि नौकासन गर्न सिधा म्याटमा सुत्नुपर्छ । त्यसपछि आफ्नो कम्मरको हड्डीको सहयोग लिएर माथिल्लो र तल्लो भागलाई ६० डिग्रीमा उठाउनुपर्छ । यो अभ्यास गर्दा हातखुट्टाको औंलाहरू आँखाको स्तर अनुसार हुनुपर्छ ।

पेटको मांसपेशीमा ‘फोकस’ गर्ने र शरीरलाई डुंगाजस्तो बनाएर १० सेकेन्ड त्यही स्थितिमा गहिरो सास लिने र श्वास छोड्ने गर्नुपर्छ ।

नौकासन पेट तथा कलेजो सफा गर्न उपयोगी मानिन्छ । नौकासनलाई ढुंगामुद्रा पनि भनिन्छ । शरीरलाई डुंगाजस्तो बनाएर गरिने यो आसन पेटको बोसो घटाउन पनि निकै उपयोगी हुन्छ ।

हलासन

सबैभन्दा पहिले  पिठ्युँमा भार लगाएर म्याटमा सुत्नुपर्छ । दुवै हात भुईंमा राख्नुपर्छ । अब खुट्टालाई कम्मरबाट ९० डिग्रीको कोण बनाउँदै माथितिर उठाउनुपर्छ ।

खुट्टालाई टाउको पछाडि सार्ने प्रयास गर्नुपर्छ । यस्तो गर्दा खुट्टाको औंलाहरुले जमिन छुनेछन् । यो पोजिसनमा केही समयसम्म रहने र श्वासमा ध्यान केन्द्रित गर्नुपर्छ । त्यसपछि बिस्तारै पछाडि सरी आफ्नो खुट्टा जमिनमा राख्ने प्रयास गर्नुपर्छ । त्यसपछि सामान्य मुद्रामा फर्कनुपर्छ ।

फाइदा

-यसले पेटको बोसो घटाउने मात्र होइन, प्याङ्क्रियाज, कलेजो र आन्द्रासहित सम्पूर्ण पाचन प्रणालीलाई बलियो बनाउँछ ।

-समग्र शरीरलाई लचिलो राख्छ ।

-रक्तसञ्चारमा सुधार ल्याई सम्पूर्ण शरीरमा अक्सिजनको प्रवाह राम्रो गर्न सक्छ ।

-पाद-हस्तासनले उचाइ बढाउन र तिघ्राको मांसपेशीलाई लचिलो बनाउँछ ।

-हिप, तिघ्रा, घाँटी र चिउँडो जस्ता शरीरका प्रमुख अंगहरूको बोसो घटाउँछ ।

यी आसन जुनसुकै उमेर समूहले गर्न सक्छन् । बिहानको समयमा यी योगाभ्यास गर्नु उपयुक्त हुन्छ, किनभने बिहान खाली पेट हुन्छ, जसकारण शरीरमा यो समयमा ऊर्जा र लचिलोपन दुवै हुन्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

योग योगासन सन्ध्या नेपाल
सन्ध्या नेपाल
लेखक
सन्ध्या नेपाल
योग प्रशिक्षक

नेपाल काठमाडौंको पेप्सीकोलास्थित यानया योगा स्टुडियोकी सञ्चालक हुन् । उनले देश तथा विदेशमा योग प्रशिक्षण दिंदै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय