 
																			३ चैत, पोखरा । शनिबार नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति पत्र सार्वजनिक हुँदा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई आफू पढेको गोरखाको स्कुलको पूर्वविद्यार्थी समाजको कार्यक्रममा थिए ।
पालुङटारको अमरज्योति माविका पूर्वविद्यार्थी समाजको वनभोज तथा अधिवेशनमा बाबुरामसँगै नेपाल समाजवादी पार्टीबाटै गण्डकी प्रदेशसभा सदस्य रहेका फणीन्द्र देवकोटा पनि सहभागी थिए ।
त्यही बेला पार्टीका अर्का अध्यक्ष महिन्द्रराय यादवको उपस्थितिमा महासचिव रमेशप्रसाद यादव र माओवादी महाचिव देव गुरुङले दुई पार्टीबीच एकता घोषणासहित ४ बुँदे सहमति गरेको खबर पाएपछि उनी कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।
सहमति घोषणा कार्यक्रममा माओवादीका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेसपाका तर्फबाट अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठसहित नेताहरु उपस्थित थिए । भट्टराईले भने यो घटनालाई राजनीतिक ठगी भनेका छन् ।
उनले यस विषयमा पार्टीमा छलफल गर्नै बाँकी रहेको भन्दै संक्षिप्त मात्र प्रतिक्रिया दिए । तर, प्रधानमन्त्रीकै उपस्थितिमा पार्टी एकता भन्नुलाई राजनीतिक ठगी र नैतिकताको खडेरीको रुपमा उनले टिप्पणी गरे ।
‘भोलि कार्यकारिणी र पर्सी केन्द्रीय समितिको बैठक छ । पार्टीमै छलफल नै नगरीकन भएको यो त राजनीतिक ठगी हो । हाम्रो पार्टीलाई पनि थाहा छैन’, डा. भट्टराईले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीले यस्तो गर्नुभयो भने देशमा त नैतिकताको ठूलो खडेरी भयो, बेइमानी भयो ।’
यसअघि डा. बाबुराम भट्टराईले ४ र ५ चैतमा केन्द्रीय कार्यकारिणी र केन्द्रीय समितिको बैठक बोलाएपछि अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षले उक्त बैठक अस्वीकार गरेको थियो । महासचिव रमेशप्रसाद यादवले विज्ञप्ति जारी गरी दुबै पार्टीका अध्यक्षले संयुक्त रुपमा बोलाएको बैठक मात्र आधिकारिक हुने बताएका थिए ।
अहिले भट्टराईले पनि कोही व्यक्तिले पार्टी एकता भयो भन्दैमा त्यो पार्टीको मान्न नसकिने प्रतिक्रिया दिएका छन् । अहिले पार्टी एकताका लागि आफ्नै नेतृत्वमा वार्ता समिति रहेको भन्दै भट्टराईले समितिको बैठक नै नबसी पार्टी एकता हुन नसक्ने बताए ।
‘मेरै नेतृत्वमा वार्ता समिति छ, त्यसको बैठक बसेकैै छैनौं’, भट्टराईले भने, ‘केही मान्छे पार्टी छाडेर जान सक्छन्, बेग्लै कुरा होे । पार्टी नै गयो भन्न मिल्दैन, अध्यक्ष मै छु ।’
हालै बाबुरामले निर्वाचन आयोगलाई एक पत्र लेखी माओवादीको चुनाव चिह्नबाट जितेका आफ्ना सांसदलाई नेपाल समाजवादी पार्टीकै सांसदको रुपमा मान्यता दिन आग्रह गरेका थिए ।
भट्टराईले निर्वाचन आयोगमा दिएको पत्रको छिनोफानो नहुनु पनि ढाँटछल हुन सक्ने भन्दै आक्रोश पोखे ।
‘उहाँहरुको त्यही होला नि ढाँट, छल, तिकडम । खतम भयो देशको राजनीति । पार्टीको कार्यकारिणी र केन्द्रीय समितिको बैठकबाट आवश्यक निर्णय गर्छौं’, भट्टराईले भने ।
२०७९ को मंसिरमा भएको आमचुनावमा गोरखा–२ प्रचण्डलाई छोडेर पार्टी एकताकै तयारी गर्ने भट्टराईले बताएका थिए ।
त्योबेला नेसपाले पनि माओवादीकै चुनाव चिन्ह्बाट उम्मेदवारी गर्दा गराएर संघमा २ जना, बागमतीमा नेसपाका गंगानारायण श्रेष्ठ र गण्डकीमा फणिन्द्र देवकोटा विजयी भएका थिए । उनीहरु माओवादी संसदीय दल अन्तर्गत नै रहेर काम गरिरहेका थिए ।
तर शनिबार पार्टी एकता घोषणामा संघीय सांसद यादव र बागमती प्रदेशसभा सदस्य श्रेष्ठ सहमत भए पनि गण्डकीका सांसद फणिन्द्रमणि भने अझै बाबुराम सँगै छन् । उनले भोलि र पर्सी बस्ने बैठकले जे निर्णय गर्छ, त्यही गर्ने बताएका छन् ।
‘पार्टीमा गडबढ भयो, अब कसरी अगाडि बढ्ने भन्ने पार्टीकोे जे निर्णय हुन्छ त्यहीअनुसार अगाडि बढ्छु’, फणिन्द्रले भने, ‘पार्टी एकता होइन, केही व्यक्ति माओवादीमा गएका हुन् ।’
यसअघि गत भदौमा नेसपाले पार्टी एकताका लागि पहिले सहअध्यक्ष गंगानारायण श्रेष्ठको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । तर, भट्टराई विदेश भ्रमणमा रहेका बेला २५ भदौको माओवादीको बैठकले नेसपासँग पार्टी एकता गर्न सकिने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार भन्दै ३० भदौमा एकताका लागि आह्वान गर्दै माओवादीले अर्का अध्यक्ष यादवलाई पत्र पठाएको थियो । त्यो पत्रपछि नै बाबुराम पार्टी एकता नै गर्न नहुने निश्कर्षमा पुगेका थिए ।
त्यो पत्रपछि नेसपामा भट्टराई–यादवबीच झनै सम्बन्ध चिसिएको थियो । गत मंसिर ६ गते नेसपाको चौथोे केन्द्रीय समितिको बैठकले भट्टराईकै नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गरेको थियो । जसमा अर्का अध्यक्ष यादव, सहअध्यक्ष श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह सदस्य थिए ।
पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष बाबुरामबीच सम्बन्ध सुमधुर थिएन । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा घोषणा गर्दा पनि नेसपालाई बेवास्ता गरिएको थियो ।
पछिल्लो समय बाबुरामले पार्टी एकता नगर्ने र निर्वाचन आयोगमा आफ्ना सांसदलाई अलग गराइदिन पत्र लेखेपछि नेसपाभित्र पनि चर्को मदभेद सिर्जना भइरहेको थियो ।
२० माघमा बसेको नेपाल समाजवादी पार्टीको बैठकले आफ्ना सांसदलाई माओवादी संसदीय दलको सूचीबाट अलग गराइदिन निर्वाचन आयोग र संघीय संसद सचिवालयलाई पत्र पठाउने निर्णय गरेको थियो । तर, त्योबेला नै अर्का अध्यक्ष यादव र सहअध्यक्ष श्रेष्ठले आपत्ति जनाएका थिए ।
‘प्रचण्डले दिएको धोका र पछिल्लो समय सत्ता तथा गठबन्धन, पार्टी एकतामा गरेको बाइपासले बाबुराम कुनै पनि हालतमा माओवादीसँग एकता गर्न नहुने र पार्टीलाई जीवन दिने निश्कर्षमा पुगेका थिए’, नेसपाका एक केन्द्रीय सदस्यले भने, ‘तर, यादव र श्रेष्ठ पार्टी एकता गर्ने मानसिकतामै थिए ।’
माओवादीभित्र वैचारिक द्वन्द्व हुँदा पनि सधैं बाबुरामको पक्षमै उभिएका र नयाँ शक्ति गठनदेखि अहिलेसम्म निरन्तर साथ दिएका नेतामा पर्छन्, गंगानारायण । उनी अहिले माओवादी नेतृत्वकै बागमती सरकारमा मन्त्री छन् । उनी पनि पछिल्लो समय माओवादीसँग नै एकताको पक्षमा उभिए ।
९ असोज २०७२ मा माओवादी परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी गठन गरेका बाबुरामलाई देवेन्द्र पौडेल नेतृत्वको समर्थक समूहले साथ छोडेका थिए ।
पछि नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच २३ वैशाख २०७६ मा एकता भएर जनता माजवादी पार्टी, नेपाल बनेकोे थियो । यो पार्टी पनि फुटेपछि जसपाका महिन्द्रराय यादव बाबुरामको पक्षमा उभिएका थिए । गत साल साउनमा नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । यो पार्टी पनि फुटेपछि बाबुराम फेरि एक्लिएका छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4