५ चैत, काठमाडौं । नेपाल राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान तथा सेटर इमबहादुर रानामगर अहिले ४० वर्षका भए । उनी अहिले पनि नेपाल पुलिस क्लबबाट कप्तानी गर्दै सक्रिय रुपमा भलिबल खेल्दै आएका छन् । उनको लागि उमेर एउटा अंक मात्रै हो । पुलिसकै टोलीमा १८ वर्षीय युवा स्पाइकर पहल गहतराजले राम्रो प्रभाव छाडेका छन् ।
इम भन्दा पहल २२ वर्षले कान्छा छन् । अर्थात इमले भलिबल खेल्न सुरु गर्दा पहल जन्मिएका नै थिएनन् । अहिले इम र पहल एउटै टिमबाट खेल्दै आएका छन् । दुई महिनाअघि सुर्खेतमा सम्पन्न ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिसलाई जिताउन यी दुई खेलाडीको तालमेल राम्रो थियो ।
इम भन्दा पछि भलिबल खेल्न सुरु गरेका चन्द्र कुँवर पुलिसका मुख्य प्रशिक्षक बनिसकेका छन् । ‘मैले विभाग हुँदै नेपालबाट खेलेपछि ल है भाइहरु बाहिर त्यति केही छैन । विभागबाट खेल्नुपर्छ भनेर चन्द्र र कुलबहादुर थापालाई सुझाव दिँदै भर्ना गराउन सहयोग गरेको थिएँ’, इमले विगत सम्झिए । इमले २०६४÷६५ सालदेखि नेपालबाट खेल्न सुरु गरेका थिए ।
काठमाडौंमा जारी आठौं आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सोमबार बुढानीलकण्ठलाई हराउन इमले प्लेयर अफ द म्याच प्रदर्शन गरे ।
पहल जस्ता युवा खेलाडीसँग खेल्दाको अनुभव बताउँदै इमले भने, ‘तालमेल मिलाउन अलिकति समय लाग्ने रहेछ । किनभने म पुरानो जमानाको खेलाडी र उनीहरु अहिलको युवा पुस्ता । हामीसँग खेल्दा अलिकति डर र दबाब लिएको जस्तो देखे ।’

खानपिनमा ध्यान दिँदा अहिलेसम्म खेल्न सम्भव भएको इम बताउँछन् । ‘खानपान र फिटनेसमा ध्यान नदिएको भए यतिको लामो समयसम्म खेल्नलाई अलि गाह्रो नै हुन्छ’, उनले भने ।
यद्यपि उमेर बढ्दै जाँदा पहिलेजस्तो खेल्न नसकिने अनुभव पनि इमसँग छ । ‘पहिला त्यो बल म भेटाई हाल्छु र उठाई हाल्छु भन्ने हुन्थ्यो । अहिले मैले भेट्छु भनेपनि हात खुट्टा जादैन’, उनले भने ।
उनले २०७२ देखि २०७९ सम्म नेपाली भलिबल टोलीको नेतृत्व गरे । डेढ दशकसम्म नेपाली टोलीबाट निरन्तर खेले । एभीसी सेन्ट्रल जोन बंगलादेश २०२१ नै नेपालको जर्सीमा उनको अन्तिम खेल रह्यो ।
९ महिनाअघि मात्रै कीर्गिस्तानमा सम्पन्न काभा भलिबलमा इम टोलीमा नरहेसँगै हरिहजुर थापा नेपालको १० औं भलिबल कप्तानमा बनेका छन् ।
तर कप्तान बनेको अर्को महिनामै सातौं प्रधानमन्त्री कप भलिबलमा गण्डकी प्रदेशविरुद्ध आफ्ना खेलाडीले समर्थक कुटेको घटनामा अनुशासन कारबाहीमा हरिहजुरको कप्तानी गुमेको थियो । आर्मीकै मानबहादुर श्रेष्ठले त्यसपछि नेपालको कप्तानी जिम्मेवारी सम्हाल्दै आएका छन् ।

इम अब धेरै खेल्ने मनसायमा छैनन् । तर त्यसको लागि आफूलाई प्रतिस्थापन गर्ने राम्रो सेटर खोजेका छन् । पुलिसमा इमको विकल्पमा बलराम गुरुङ छन् । तर उनी इमले खोजे जस्ता हाइट भएका सेटर होइनन् । सामान्य खेलमा बलरामलाई बढी मौका दिँदै इमले विश्राम गर्ने गर्छन् ।
‘अलिकति हाइट भएको सेटर आएमा मैले खेलिराख्नु आवश्यक छैन । मैले नयाँलाई पनि मौका दिनुपर्छ । मेरो ठाउँ लिने अहिले नभएको भएर मात्रै खेलेको हुँ’, उनले भने ।इमले राष्ट्रिय टोली र खेल करिअरबाट राम्रो बिदाइ चाहेका छन् ।
‘सन्न्यासको विषयमा मैले संघका पदाधिकारीसँग कुरा गरेको छु । एउटा खेल वा कुनै कार्यक्रम गरेर सरसम्मान बिदाइ गर्छौं भन्ने जवाफ आएको छ’, उनले भने, ‘राष्ट्रिय टोलीबाट भन्दा पनि एउटा राम्रो बिदाइको आशामा छु ।’

सन्न्यासपछिको योजनाबारे उनले भने, ‘खेलपछि मैले अहिले नै यो गर्छु भनेर योजना बनाएको छैन । भलिबल राम्रो हुँदै गयो र हाइट लियो भने यसमा पनि केही गर्न सकिन्छ ।’

                        
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4