+
+

बहराइनसँग पहिलो पटक खेल्नुअघि के भन्छन् फुटबल प्रशिक्षक एनेस?

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० चैत ७ गते २०:३२

७ चैत, मानमा (बहराइन) । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बिहीबार बहराइनको सामना गर्दैछ ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालले पहिलो पटक बहराइनसँग खेल्न लागेको हो । समूह एच अन्तर्गतको यस खेल बहराइनको स्थानिय समय अनुसार राती १० बजे (नेपाली समय मध्यरात १२:४५) बजे बहराइनको राष्ट्रिय रंगशालमा सुरु हुनेछ ।

होम एण्ड अवेका आधारमा हुने छनोट अन्तर्गत नेपालले बिहीबारको खेल घरेलु मैदान दशरथ रंगशालमा खेल्नुपर्ने थियो । तर दशरथ रंगशालको मैदानको अवस्था छनोटको खेल खेलाउने स्तरको नभएकोले नेपालले होम म्याच पनि बहराइनमै खेल्न लागेको हो । यस्तै नेपालले बहराइनसँगको अवे म्याच बहराइनमै खेल्नेछ ।

नेपालले बहराइनसँग खेल्नुअघि मलेसियासँग उसैको मैदानमा अभ्यास म्याच खेलेर आएको थियो ।

पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको नेपाली टोली उत्साहित छ । प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले पनि नेपाली टोली बहराइनसँग फाइट गर्न तयार रहेको बताए ।

अनलाइनखबरसँगको कुराकानीमा प्रशिक्षक एनेसले अहिले आफ्नो ध्यान याँ खेलाडीमा केन्द्रित भइरहेको  बताए ।

‘तयारी छोटो समयको भयो । तर गुड इनर्जीसहित प्रशिक्षण भइरहेको छ । किनकी टिममा नयाँ खेलाडीहरु धेरै छन् । हामीलाई थाहा छ धेरै खेलाडीसँग सिनियर टिममा खेलेको अनुभव छैन । खेलाडीको लागि यो सिनियर टिममा एक्सपोजर लिने राम्रो अवसर हो ।’

बहराइनसँग खेल्नुअघि मलेसियाको अभ्यास खेलबाट टिमको कन्डिनस बुझ्ने मौका मिलेको प्रशिक्षक एनेसले बताए ।

‘हामीले मलेसियासँग फ्रेण्डली म्याच खेल्यौँ । जसबाट खेलाडीले अन्तर्राष्ट्रिय खेलको कन्डिसन बारे बुझ्ने अवसर पाए ।’ उनले भने । ‘हामीले उक्त खेलमा चार हाफमा खेल्दै सबै नयाँ खेलाडीहरुलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिने प्रयास गर्‍यौँ ।’

उनले बहराइन राम्रो टोली भएकोले बहराइनसँग खेल्दा नेपाली फुटबलको वास्तविकतामा रहेर खेल्नुपर्ने बताए । ‘हामी हा एण्ड अवे दुवै खेल बहराइनमै खेल्दैछौँ । हामी नेपाली फुटबलको वास्तविकतामा रहेर हेर्नुपर्छ हामीले कस्तो खेल्छौँ । मलेसियासँगको खेल हाम्रो लागि अन्तर्राष्ट्रिय खेलको अवसर लिने राम्रो अवसर भयो ।’

 

बहराइनसँग पहिलो पटक खेल्दै

सन् १९८२ मा भारतको नयाँ दिल्लीमा भएको एसियान गेम्समा नेपालले कुवेत विरुद्ध पहिलो पटक औपचारिक खेल खेलेको थियो । त्यसको चार दशक भन्दा बढी समयपछि नेपालले बहराइनसँग पहिलो पटक खेल्न लागेको हो ।

प्रशिक्षक एनेसले बहराइन बलियो टिम रहेको बताए । ‘ बहराइन राम्रो टिम हो । उसले जोर्डनलाई हरायो । जोर्डन एसिया कप फाइनल पुगेको थियो  ।बहराइनमा क्षमतावान खेलाडी छ र शारीरिक रुपमा राम्रो छ । बहराइनको लिग उच्च स्तरको छ ।’ विपक्षीबारे एनेसले भने ।

नेपालले बहराइनको सिनियर टिमसँग पहिलो अफिसियल म्याच खेल्न लागेपनि उमेर समूहको टिमसँग भने खेलिसकेको छ । र बहराइनको टिम विरुद्ध नेपालले ऐतिहासिक जित पनि निकालेको थियो ।

सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नेपालले बहराइन यू-२१ टिमलाई फाइनलमा ३-० ले पराजित गर्दै उपाधि नै जितेको थियो । त्यस प्रतियोगितामा नेपालको सिनियर टिमले खेलेको थियो र त्यसबेला दुई दशकपछि नेपालले जितेको पहिलो उपाधि समेत थियो ।

बहराइन विरुद्ध सेक्रेट ‘विपन’ के छ भन्ने प्रश्नमा एनेसले बहराइनसँग खेल्दा नेपाललाई सहज नहुने भन्दै उनले विपक्षीलाई सरप्राइज पार्ने प्रयास गर्ने पनि बताए । ‘उनीहरुले हामीलाई कठिन बनाउनेछ र हामीलाई सहज हुनेछैन । हामी उनीहरुलाई सरप्राइज दिनेछौँ । म मेरो खेलाडीमा कन्फिडेन् छु। हाम्रो टिम योङ छ । हामीले हार्नुपर्ने केही छैन ।’

यस्तै  नेपाल र बहराइन एएफसी च्याम्पियनसिपको उमेर समूहको प्रतियोगितामा पनि खेलिसकेका छन् ।

२०२३ मा बहराइनमै भएको एएफसी यू२० च्याम्पियनसिप छनोटमा नेपालले बहराइनसँग खेलेको थियो र  ६-० ले पराजित भएको थियो ।

उक्त खेलमा नेपालको यू२० टिमबाट पहिलो रोजाइँमा खेलेका अजय चौधरी र सुमित श्रेष्ठ अहिले सिनियर टिममा छन् । अजय पहिलो पटक सिनियर टिमसँग आएका हुन् भने सुमितले नेपालका लागि डेब्यु गरिसकेका छन् । यस्तै त्यस खेलमा नेपालको कप्तानी गरेका आयुष घलान भने यस पटक टिममा छैनन् ।

यस पटक नेपालले बहराइनसँग उसैको मैदानमा दुई खेल खेल्दा आफ्नो लक्ष्य खेलाडीलाई अनुभव प्रदान गर्ने र निडर भएर खेल्ने एनेसले बताए । ‘मेरो लक्ष्य यो खेलाडीहरुलाई अनुभव दिने र विपक्षीसँग निडर भएर फेस गर्ने । घरेलु मैदानमा खेले जस्तै गरी खेल्नुपर्छ । म टिम कस्तो छ भनेर केयर गर्दिन ।’ एनेसले भने । ‘हामीले नेपाली टिममा धेरै क्षमता छ र त्यसमा विश्वास गर्नुपर्छ ।’

उनले खेलको नतिजा कस्को पक्षमा हुन्छ भन्दा पनि महत्वपूर्ण कुरा भनेको खेलाडीलाई एक्सपोजर दिने भविष्यमा त्यसबाट नतिजा नतिजा आउने विश्वास राखे ।

 

क्वालिफायरकै युवा टिम नेपाल

पछिल्लो समय नेपाली खेलाडी विदेश गइरहने र केही खेलाडीले टिमको क्याम्पमा आउन समेथ अस्वीकार गरेपछि अहिले नेपाली टिममा युवा र नयाँ खेलाडीहरुको वर्चस्व छ । पहिलो पटक टिममा परेका ६ सहित डेब्यु गर्न बाँकी खेलाडी नै ९ जना छन् ।

५० भन्दा बढी खेल खेलेका चार खेलाडी मात्र छन् । कप्तान किरण कुमार लिम्बुसहित अनन्त तामाङ र अन्जन विष्ट अनी पुनरामगमन गरेका भरत खवास टिममा अनुभवी खेलाडीको रुपमा छन् ।

बुबाको निधन भएकाले अनुभवी खेलाडी रोहित चन्द टिममा छैनन् । त्यसैले यस पटक नयाँ खेलाडीहरु डेब्युको प्रतिक्षामा छन् । दुई खेलमा प्रशिक्षकले कति खेलाडीलाई डेब्यु गराउँछन् हेर्न बाँकी छ । तर उनले नयाँ खेलाडीलाई अवसर दिनुपर्नेमा जोड दिएका छन् ।

‘मेरो विचारमा हामी क्वालिफायमा योङ टिम हौँ । उमेर, अनुभव र एक्सपोजरका हिसावले । हामीले डराउनपर्ने केही जरुरी छैन ।’

एनेसले धेरै खेलाडी बाहिर जानु र केही खेलाडी टिममा नआएपनि नयाँ खेलाडीहरुलाई रहेकोले टिम ुगुड प्रोसेसुमा रहेको बताए ।

‘नयाँ खेलाडीहरु छन् र उनीहरुलाई अन्तर्राष्ट्रिय एक्सपिरियन्स दिनुपर्छ । हामी गुड प्रोसेसमा छौँ ।’ उनले भने  । ‘९ खेलाडी डेब्यु गर्न बाँकी छ । हरेक खेलाडी डेब्युका लागि प्रतिक्षा गरिरहेका छन् । १६ खेलाडी २३ वर्ष मुनीका छन् ।’

एनेसले नयाँ खेलाडीअरुमा सम्भावना रहेको बताए । ‘नयाँ खेलाडीहरु सेन्टर ब्याक लाहुरे राई (सन्जित) विशाल बस्नेत र अजय चौधरी पनि सेन्टर ब्याकमा छन् । लेफ्ट ब्याकमा हामरो मेसी (सुमित) छन् । यस्तै मिडमा कार्की (रोहन) र फरवार्डमा समिर छन्,’ उनले भने । ‘समिरले मलेसिया विरुद्ध गोल गरे तर सिनियर टिममा नयाँ छन् । उनले यू१९ बाट मात्र खेलेका छन् । हामीले उनीबाट अपेक्षा गरेका छौँ तर उनलाई एक्सपोजरका लागि अवसर दिनुपर्छ ।’

यस्तै उनले पुनरागमन गरेका भरत अवासको उदाहरण दिँदै टिममा अनुभी खेलाडी पनि चाहिने बताए । ‘खवास अनुभवी खेलाडी छन् । नखेलपनि ग्रुपमा अनुभवी खेलाडी चाहिन्छ वा खेलाडीलाई गाइड गर्नका लागि चाहिन्छ । यस्तै ३४ वर्षीय किरण छन् । जसले टिमलाई बेटर बनाउन मदत गर्छ ।’

यस्तै रोहित नहुँदा उनको अनुपस्थित मिस हुने भएपनि चिन्ता लिन नहुने एनेसको भनाई छ । ‘हामीले रोहितलाईमिस गर्छौँ भनेर चिन्ता लिनु हुन्न । अरुको लागि अवसर हुन्छ । निश्चय उनको अनुपस्थित खड्किन्छ । हामी शतप्रतिशत मिस गर्छौँ तर अरु खेलाडीले अवसर लिनुपर्छ ।’

खेलाडीहरु विदेश पलायन भइरहँदा आफूलाई टिम छान् कठिन भएको पनि उनले स्वीकारे तर आफू सकरात्मक सोच्ने उनले बताए । ‘खेलाडीहरु विदेश गइरहँदा मेरो लागि टिम छान्न धेरै कठिन छ । तर म सधैँ पोजिटिभ छु । मलाई नेगेटेभि सोच्न मन पर्दैन,’ उनले ग्लोबलाइजेसनको असर भन्दै अन्य क्षेत्रका व्यक्तिले पनि देश छाडिरहेको बताए । ‘यो फुटबल मात्र होइन अन्य क्षेत्रमा पनि देश छाड्दैछन् । ग्लोबलाइजेसनले गर्दा खेलाडी इन्जिनियर डक्टर पत्रकार देश छाड्दैछन् । यसमा धेरै सोच्नु हुन्न ।’

 

नेपालको टिम स्पिरिट राम्रो छ

प्रशिक्षक एनेसले नेपाली टिमको स्पिरिट आफूलाई सबैभन्दा मन पर्ने बताए । ‘नेपाली टिममा एक खालको स्पिरिट छ जुन मलाई मन पर्छ । नेपालसँग फाइटिङ स्पिरिट छ । यति धेरै खेलाडी गुमाउँदा पनि नेपालले अन्तिमसम्म फाइट गरेर खेल्छ । अन्तर्राष्ट्रिय स्तरमा अरु टिमसँग यस्तो छैन,’ उनले भने, ‘ तर हाम्रो प्रदर्शन उस्तै छ । हाम्रो टिममा पहिले र अहिले फरक भएपनि क्वालिटी उस्तै छ । टिममा गोर्खाली जोश छ ।’

नेपालले घरेलु मैदानमै खेल्नुपर्ने खेल बाहिर खेल्नुपर्दा समर्थकले प्रत्यक्ष खेल हेर्नबाट बन्चित हुनेछन् । बहराइन आउनुअघि मलेसियासँग खेल्न जाने बिदाई कार्यक्रममै प्रशिक्षक एनेसले घरेलु मैदानमा खेल्न नपाउनु दु:खद भएको भन्दै भावुक बनेका थिए र उनले अब खेल जहाँ भएपनि फाइट गर्नुपर्ने बताएका थिए ।

घरेलु मैदानमा खेल्न नपाउदा प्रशिक्षक एनेसले प्यानलाई धेरै मिस गर्ने बताए । ‘म सपोर्टर र क्राउड मिस गर्छु । हामीले अन्तिममा फुटबल खेल्ने फ्यानकै लागि हो । र उनीहरुले नेपाललाई टिमलाई माया गर्छन् । अहिले धेरै क्रिटिसाइज भइराछ खेलाडी एनेफा मलाई पनि । तर समर्थकले नै फुटबललाई माया गर्छन् । हामी सकरात्मक बन्नुपर्छ ।

प्रशिक्षक एनेसले नेपाली टिमले घरेलु मैदानमा खेल्दा सधैँ समर्थकले राम्रो साथ दिइरहेको बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?