+
+

भलिबल छाडेर विदेशिंदै उदीयमान खेलाडी रवि

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० चैत ८ गते १९:२०

८ चैत, काठमाडौं । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका युवा स्पाइकर रवि केसीलाई अब नेपाली दर्शकले कोर्टमा देख्न पाउने छैनन् ।

राष्ट्रिय प्रतियोगिताहरुमा गण्डकी प्रदेशबाट खेल्ने २४ वर्षीय रवि दुई सातापछि जापान जाँदैछन् ।

काठमाडौंमा जारी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ उनको टिम गण्डकी प्रदेश सेमिफाइनल पुगेको छ ।

गण्डकीले जितेको तीनै खेलमा कप्तान रवि नै प्लेयर अफ द म्याच चुनिएका थिए । नेपालमा उनको यो अन्तिम प्रतियोगिता हो । कलिलो उमेर, ६ फिट २ इन्च उचाइ र शक्तिशाली स्पाइक रविका विशेषता हुन् ।

‘विदेशबाट भलिबलको अफर आइराख्दा खेलकै लागि विदेश जाँदैछु । नेपालको अवस्था यस्तै हो । खेलाडीलाई जीवनयापन गर्न गाह्रो नै छ’, रविले विदेश जानुपर्नाको कारणबारे भने ।

चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) र कीर्गिस्तानमा भएको काभा पुरुष भलिबल नेसन्स लिगका लागि रवि राष्ट्रिय टिममा परेनन् ।

बन्द प्रशिक्षणमा परेका रवि अन्तिम १८ बाट बाहिरिएपछि भलिबल संघ र छनोटकर्ताले समर्थकको आलोचना खेप्नुपरेको थियो ।

‘गतवर्ष नेशनल टोलीको क्लोज क्याम्पमा परेँ तर टोलीमा परिन । त्यसपछि मलाई डिमोरलाइज (मनोबल घट्ने) भयो । मेरो स्तरका खेलाडीहरु टोलीमा पर्नुभयो । विभागमा बेन्चमा बस्नेहरु पनि पर्नुभयो । हामी नपर्दा नेपालमा हाम्रो स्थान छैन जस्तो लाग्यो’, रविले भने ।

सन् २०२१ मा छैटौं एनभीए कपमा गल्कोटबाट खेल्दै उनले राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेका थिए । सन् २०२१ को टाइगर कपमा गण्डकीले आर्मीलाई हराएर उपाधि जितेको खेल उनले टेलिभिजनमा प्रत्यक्ष प्रशारण हेरेका थिए ।

सन् २०२२ को टाइगर कपदेखि भने रविले गण्डकीबाट खेल्न थाले । तेस्रो संस्करण २०२३ मा गण्डकीलाई उपाधि जिताउन उनी सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

६ महिनाअघि वीरजङ स्मृति र लामाचौर कप भलिबलमा गण्डकीलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका रवि सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

कृषि विज्ञानमा प्लस टु सकेर स्नातक अध्ययन गरिरहेका रवि जेठ, असार र साउनबाहेक अरु समय भलिबलमा ब्यस्त हुन्छन् । एक वर्षमा उनले गण्डकीबाट राष्ट्रिय र स्थानीय गरी ३५/४० वटा प्रतियोगिता खेल्छन् ।

समर्थकको हिसाबमा गण्डकी प्रदेश नेपाली भलिबलमा सर्वाधिक लोकप्रिय मानिन्छ । विदेशबाट समर्थकले पठाएको सहयोग रकमबाटै गण्डकीले प्रतियोगिता खेलिरहेको छ, तर यसबाट मात्र खेलाडीको जीविका चल्न सकेको छैन । तर सधैं यसरी त चल्दैन । तर खेलाडी घाइते भएमा पुरै करिअर नै सकिने सम्भावना हुन्छ ।

‘हामीले भलिबल खेलेर पाउने भनेको नै नाम र सम्मान हो । पूर्वदेखि पश्चिमसम्म जहाँ जाँदा पनि गण्डकी प्रदेशको राम्रो केज पाएँ । नाम पाउनु नै खेलाडीको ठूलो सफलता हो’, उनले भने ।

बाग्लुङको गलकोट नगरपालिका–७ मल्ममा २०५७ सालमा जन्मिएका रवि स्कुल समयबाहेक विहान र बेलुका भलिबल नै खेल्थे ।

सानोमा टालोको बलबाट भलिबल खेलेका उनले स्पाइकर भएरै खेल्थे । सानोमा उचाइ कम भएका बेला सेटरको रुपमा पनि खेलेका थिए । तर गण्डकीबाट उनी स्पाइकरकै रुपमा खेल्दै आएका छन् ।

काठमाडौं बाहिर आउटडोरमा हुने खेलमा गण्डकी उत्कृष्ट टिम मानिन्छ । गण्डकीले बुधबार आठौं एनभीएको क्वार्टरफाइनलमा एपीएफलाई ३–० को सोझो सेटमा हरायो ।

गण्डकीले यसअघि पनि राष्ट्रिस्तरका प्रतियोगिताहरुमा विभागीय टिमलाई हराउँदै आएको छ । गण्डकीले लगातार राम्रो प्रदर्शन गरेपनि यहाँका खेलाडी राष्ट्रिय टोलीमा पर्न सकेका छैनन् । विभागीय टिमको बेन्चमा बस्ने खेलाडीहरु राष्ट्रिय टिममा पर्ने तर गण्डकीबाट उत्कृष्ट प्रदर्शन गर्नेहरु नपर्ने अवस्थाले खेलाडीको मनोबल घट्ने रवि बताउँछन् ।

‘गण्डकीले पनि नतिजा दिइराखेको छ । सबै विभागीय टिमलाई हराइराखेको हो । तर एकजना खेलाडी पनि पर्दैनन्, क्षमता नभएर चाहिँ होइन जस्तो लाग्छ । तर प्लेयर पर्न के चाहिन्छ मलाई थाहा भएन’, उनले भने ।

गण्डकी भलिबल टिमका मुख्य प्रशिक्षक रमेश केसी रवि राष्ट्रिय टोलीमा पर्नुपर्ने खेलाडी भएको बताउँछन् । ‘रवि क्षमतावान हुँदाहुँदै राष्ट्रिय टोलीमा नपारिएको हो । ऊ गण्डकीको राम्रो खेलाडी हो’, उनले भने, ‘उसको भविष्य हामीले बिगार्ने कुरा भएन । हामीले उसको रोजीरोटी दिन नसक्ने भएपछि बाध्यताले (विदेश जान) दिनुपर्छ ।’

रविले गतवर्ष पुसमा बंगलादेशमा सम्पन्न काभा यू–२३ भलिबल नेपालबाट खेलेका थिए । त्यही नै उनले नेपालका लागि खेलेको एकमात्र खेल हो ।

‘कतिपय ठाउँमा मेरो आफ्नै समस्या होला । तर दर्शकहरुले मूल्याङ्कन गर्नुहुन्छ । म नपर्दा धेरैले आवाज उठाउनुभयो’, उनले भने, ‘…भलिबलबाट नै माथि आउन नसकेपछि म छिट्टै हराउछु होला भनेर पहिला नै भनेको थिएँ ।’
आफ्नै भविष्य सम्झेर र घरपरिवारको दबाबले आफू विदेश जान लागेको उनी बताउँछन् ।

‘५/६ वर्ष नेपालबाट मिहिनेत गरेर खेल्छु भनेर चाहँदा चाहँदै पनि घर परिवारले भलिबलमा रहन दिनुभएन, एक पटक नेपालबाट खेल्ने एकदम ठूलो सपना हो । त्यो चाहिँ पूरा हुन सकेन’, उनले भने ।

आफू नपरे पनि आगामी दिनका छनोटमा युवा प्रतिभालाई महत्व दिन उनले भलिबल संघलाई आग्रह गरेका छन् ।
रविले जापान जाने घोषणा गरिसकेका छन् । तर भलिबल संघका पदाधिकारी र खेलाडी छनोटकर्ताहरुले उनलाई स्वदेशमै बस्न आश्वासन दिन सकेका छैनन् ।

‘म राष्ट्रिय टोलीको सदस्य भएको भए त्यो चासो पनि हुन्थ्यो होला । सरकारी क्लबको सदस्य पनि होइन । गण्डकी प्रदेशको खेलाडी म । आफ्नो इच्छा अनुसार जाँदै छुु’, उनले भने ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?