+
+
विश्व पानी दिवस :

१० वर्ष अघिको ‘काकाकुल’ हेटौंडामा पानी फालाफाल

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८० चैत ९ गते १३:०४

९ चैत, हेटौंडा । तत्कालीन नेपाल खानेपानी संस्थान हेटौंडा शाखाकाे नेतृत्वलाई हरेक वर्ष सुक्खायाममा पानीको माग कसरी पूरा गर्ने भन्ने चिन्ता हुन्थ्याे । स्थानीयको आक्रोश थेग्न नसकेर हाकिमहरूले हेटौंडा छोड्थे । तर अहिले हेटौंडामा खानेपानीको संकट छैन । शुक्रबार (आज)बाट सामरी सम्पवेल सञ्चालनमा आएसँगै पानीको मागभन्दा बढी आपूर्ति हुन थालेको छ ।

२०७० साल अघिसम्म हेटौंडाका चौघडा, कमाने, टिसिएन रोड, पिप्ले, कमाने र भुटनदेवी रोडबाट दैनिक २०–५० जनासम्मको जुलुश पानी माग्दै खानेपानी संस्थानमा आउने र कर्मचारीलाई कार्यालयमै थुन्ने गरेको संस्थानका तत्कालीन उत्पादन तथा वितरण शाखा प्रमुख सुदर्शन ढकाल सम्झन्छन् ।

१६ माघ २०७० मा हेटौंडा खानेपानी बोर्डको निमित्त कार्यकारी निर्देशक बन्दै १ माघ २०७९ मा सेवानिवृत्त भएका ढकाल विगत सम्झन्छन्, ‘चौघडादेखि कमानेसम्मका मान्छे आएर पानी माग्दै मलाई तीन पटक जति कार्यालयभित्रै थुनेका छन् । संस्थानका हाकिमसाबहरू माघ लागेपछि अब सुख्खा लाग्यो, स्थानीयले मार्छन् भनेर काठमाडौं हिंडिहाल्थे अनि सबै तनाव मेरो टाउको माथि ।’

संस्थान हुँदा दैनिक ५५ देखि ६० लाख लिटरसम्म आपूर्ति हुन्थ्यो । खानेपानीको माग भने दैनिक १ करोड लिटरभन्दा बढी थियो । त्यसैले सुख्खा समयमा पानीको ठूलो हाहाकार हुन्थ्यो । संस्थान हस्तान्तरण भएर बोर्ड बनेपछि २०७० यताका १० वर्षको अवधिमा भने हेटौंडाको खानेपानी आपूर्तिमा कायापलट भएको छ ।

८ जेठ २०७० मा नेपाल खानेपानी संस्थान हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएयता बोर्डले पानी आपूर्तिमा ठूलो परिवर्तन आएको छ । बोर्डले हेटौंडा उपमहानगरपालिकाका २, ४, ५, ६, ७, ८, ९ र १० गरी ८ वटा वडाका सबै क्षेत्रमा र १, ३, १४, १५, १६, १७, १८ र १९ वडाका केही क्षेत्रमा बसोबास गर्ने करिब १ लाख ६० हजार जनालाई दैनिक २ करोड ६२ लाख लिटर पानी वितरण गर्दै आएको छ । बोर्डमा रहेको ल्याबबाट हरेक महिना पानीको नमूना संकलन गरेर स्वच्छता जाँच गरी पानी वितरण गर्ने गरेको बोर्ड अध्यक्ष प्रताप विष्ट बताउँछन् ।

हेटौंडामा दैनिक ३ करोड ४० लाख लिटर पानीको माग छ । दशक अघि दैनिक २ घण्टा मात्रै पानी वितरण हुने गरेकोमा अहिले २६ हजार ८७५ वटा धाराबाट सरदर दैनिक ८ घण्टासम्म पानी वितरण हुँदै आएको छ ।

बोर्डको गौरवको योजना सामरी सम्पवेल शुक्रबारबाट सञ्चालनमा आएसँगै दैनिक ६० लाख लिटर पानी थपिएको छ र चौबिसै घण्टा पानी आपूर्ति गर्नसक्ने अवस्था रहेको बोर्ड अध्यक्ष विष्ट बताउँछन् । ‘सामरी सम्पवेल सञ्चालनपछि हेटौंडामा दैनिक ३ करोड २२ लाख लिटर खानेपानी वितरण हुन्छ र हामी २४ सै घण्टा धारामा पानी पठाउन सक्छौं,’ अध्यक्ष विष्ट भन्छन् ।

२०२३ सालमा निर्माण गरिएको बुङ्दल सतहगत मुहान हालसम्म पनि चालु छ । मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सीमा क्षेत्रमा पर्ने मुहानबाट प्रतिघण्टा करिब १२ सय लिटर पानी उपलब्ध भइरहेको छ । हेटौंडामा पहिलो पटक यही बुङ्दल सतहगत मुहानबाट व्यवस्थित रुपमा पानी ल्याइएको थियो ।

त्यतिबेला पानीको भण्डारण क्षमता १,६०० घनमिटर मात्रै रहेकोमा अहिले ५,९०० घनमिटर रहेको बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाले जानकारी दिए । हाल बोर्ड मातहत एउटा सतहगत मुहानसहित ३७ वटा डिप बोरिङ्ग र १३ वटा सम्पवेल छन् ।

संस्थान हस्तान्तरण हुँदा ८ हजार ५ सय ३७ वटा धारा रहेकामा हाल २६ हजार ८७५ पुगेको सापकोटाले बताए । उनका अनुसार खानेपानीको पाइपलाइन नेटवर्क करिब ४७० किलोमिटर छ ।

संस्थान हुँदा ३५ प्रतिशत पानी चुहावट रहेकोमा बोर्डको १० वर्षे अवधिमा १२ प्रतिशतमा झरेको अध्यक्ष विष्टले दाबी गरे । संस्थानले उपभोक्ताबाट सरदरमा १६ लाख रुपैयाँ मासिक महशुल उठाउने गरेकोमा हाल बोर्डले मासिक १ करोड रुपैयाँ महशुल संकलन गर्दै आएको छ । बोर्डले सुरुमा ६० लाख रुपैयाँ बक्यौता दायित्व बोकेकोमा अहिले १५ लाखमा झरेको जनाएको छ ।

पुराना संस्थान वा सरकारी कार्यालय खारेज भएकाले जोखिम बक्यौता हालसम्म पनि कायम रहेको बोर्डका लेखाप्रमुख सञ्जय न्यौपानेले जानकारी दिए । रोपवे लगायतका संस्थानको नाममा अझै १५ लाख जोखिम बक्यौता देखिएको छ ।

बोर्डले नगरबासीको विश्वास पाएकोमा अध्यक्ष विष्ट खुशी देखिन्छन् । नगरबासीले बिहीबारसम्मको तथ्यांकअनुसार ५७ लाख रुपैयाँ अग्रिम महशुल भुक्तानी गरेका छन् । ‘पहिला संस्थान हुँदा पानी नदिने पैसा किन दिने भनेर दिनकै झगडा हुन्थ्यो । अहिले ५७ लाख ६ हजार रुपैयाँ अग्रिम भुक्तानी गरेका छन् । यो बोर्डलाई विश्वास गरेर पहिल्यै महशुल तिरेका हुन्,’ प्रताप विष्टले भने, ‘बोर्डको सेवाकै कारण यति विश्वास गरेको पाएका छौं ।’ बोर्डले सबै कारोबार चेकबाट गर्दै आएकाले बेरुजू र पेश्की शून्य कायम राख्न सकेको उनले दाबी गरे ।

बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म पानी महशुल बिलिङ्ग रकम ८ करोड ८३ लाख २९ हजार मध्येमा ८ करोड ३६ लाख ७४ हजार अर्थात् ९४ दशमलव ७३ प्रतिशत उठाउन सफल भएको छ ।

बोर्डले मासिक ३७ लाख रुपैयाँ विद्युत् महशुल र ३५ लाख रुपैयाँ तलबमा खर्चिने गरेको छ । बोर्डमा ८५ जना कर्मचारीह छन् । तीमध्ये ७५ जना प्राविधिक क्षेत्रका मात्रै छन् ।

बोर्डको प्रतियुनिट पानी उत्पादनमा १३ रुपैयाँ लागत परेको छ भने बिक्री १९ रुपैयाँमा गरिएको छ । मासिक पानी महशुल रकम १ करोड ४५ लाख ९ हजार रुपैयाँ उठ्ने गरेको बोर्डले उल्लेख गरेको छ ।

मासिक सेवा सञ्चालन खर्च ७४ लाख ४४ हजार रुपैयाँ रहेको लेखा प्रमुख सञ्जय न्यौपानेले बताए । बोर्डले चालु आवको फागुनसम्म ११ करोड ५४ लाख ४६ हजार आम्दानी गरेको छ ।

बोर्डमा गाभिंदै उपभोक्ता समिति

हेटौंडा उपमहानगरपालिकाले न्यूनतम १० हजार लिटरसम्म खानेपानी महशुलमा छुटको व्यवस्था गरेपछि बोर्डमा उपभोक्ता समितिहरू गाभिने क्रम चलिरहेको छ ।

चालु आवको दोस्रो चौमासिकसम्म हेटौंडा–१८ हर्नामाडीमा रहेको मौडी खोला खानेपानी, हेटौंडा–१६, स्थित शक्तिखोला खानेपानी, हेटौंडा–१५ को शिखरपानी खानेपानी र वडा नम्बर १४ स्थित टसिलिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बोर्डमा आवद्ध भएको कार्यकारी निर्देशक सापकोटाले बताए ।

हेटौंडा–१ को मैनटार, हेटौंडा–३ को लेवट र हेटौंडा–१३ को पदमपोखरी ठूलोथली खानेपानी, हेटौंडा–१७ को राजदेवी खानेपानी र वडा नम्बर–१८ को मानेडाँडा भौडी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बोर्डमा हस्तान्तरण हुने क्रममा छन् ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ, बोर्ड अध्यक्ष विष्टसहित १८ वटा वडाका वडाध्यक्ष र बोर्डका पदाधिकारीको बैठकले भदौ २०७९ मा १० हजार लिटरसम्मको खानेपानी महशुल निःशुल्क गर्ने निर्णय गरेको थियो । १० हजार लिटरसम्म पानी प्रयोग गर्नेले मासिक ८५ रुपैयाँ महशुल तिर्दै आएकोमा उपमहानगरले निःशुल्क बनाएको हो । निःशुल्क खानेपानी उपलब्ध गराएबापत् उपमहानगरले खानेपानी व्यवस्थापन बोर्डलाई उपभोगको आधारमा हुन आउने रकम उपलब्ध गराउँदै आएको बोर्डले जनाएको छ ।

तत्काललाई पानी अभाव छैन, स्थायी मुहान आवश्यक

हेटौंडामा २०७६ मा गरिएको एक अध्ययनले २९ वर्षसम्म पानीको अभाव नहुने देखाएको थियो । नेपाल पानी सदुपयोग फाउण्डेसनले हेटौंडा उपमहानगरपालिका भित्र पानी सन्तुलन, अवस्था र भविष्यबारे अध्ययन गरेको थियो ।

६ महिनाको अध्ययनपछि विज्ञ टोलीले २९ वर्षसम्म पानीको स्रोत र सन्तुलनका कारण अभाव नहुने निष्कर्ष निकालेको अध्यक्ष विष्टले बताए । अध्ययनमा संलग्न जलस्रोत विज्ञ गोविन्द शर्मा पोखरेलले हेटाैंडामा ४ वर्षअघि ७८ करोड २६ लाख घनमिटर पानीको उपलब्धता रहेको औंल्याएको बोर्डले जनाएको छ । सन् २०५० सम्म आवश्यकभन्दा २ दशमलव ३ गुणा बढी पानीको उपलब्धता हुने अध्ययनले देखाएको हो ।

हेटौंडाको मुख्य पानीको स्रोत राप्ती, सामरी र कर्रा खोला हुन् भने भूमिगत पानीको रुपमा चुरे क्षेत्र रहेको छ । वातावरण र पानीको स्रोत बचाउने हिसाबले सम्पवेलबाट पानी संकलन गरेर वितरण गर्नु उपयुक्त भएको बोर्डले उल्लेख गरेको छ । जसकारण विगतका डिप बोरिङलाई विस्थापन गर्दै सम्पवेलमा जोड दिइएको अध्यक्ष विष्टले बताए ।

सम्पवेल, डिप बोरिङहरु पानीको अस्थायी स्रोत रहेको तत्कालीन निर्देशक ढकाल बताउँछन् । उनले भीमफेदी गाउँपालिका–१, भैंसेबजार माथिको खोलाबाट पानी ल्याएर स्थायी स्रोत बनाउनुपर्ने जनाए । भैंसेको राप्ती खोलालाई स्थायी मुहान बनाएर पानी ल्याउँदा लामो समयसम्म पानी अभाव नहुने यसअघिको अध्ययनले देखाएको उनले बताए । भैंसेबाट हेटौंडासम्म पानी पुर्‍याउन ठूलो बजेट लाग्ने भएकाले तीनै तहका सरकारले लगानी गर्नुपर्ने बोर्डको माग छ ।

बोर्डले भूमिगत पानीको प्रयोग बढाएपनि भूमिगत जलभण्डारको ‘रिचार्ज’ गर्ने गरी काम थाल्न सकेको छैन । कंक्रिट शहरका रुपमा विकास भइरहेको हेटौंडा र आसपास निजी तवरका बोरिङहरु पनि चलिरहेकाले भूमिगत जलभण्डारण बढाउने गरी योजनाहरू बनाउन आवश्यक रहे पनि सरोकारवाला कसैले यसतर्फ ध्यान पुर्‍याएका छैनन् ।त्यसैले भविष्यमा हेटौंडामा पानीको संकट ननिम्तेला भन्न सकिने अवस्था भने छैन ।

लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?