११ चैत, काठमाडौं । सोह्रखुट्टे चोकमा रहेको लेखनाथ साहित्य सदनमा प्रायः साहित्यउत्सव हुन्थ्यो । भानु जयन्ती, मोती जयन्ती, लेखनाथ जयन्तीको अवसर पारेर साहित्यकारहरु उनीहरुका योगदानको चर्चा गर्थे । गीत, गजल र मुक्तक वाचन गर्थे ।
तर, शनिबार लेखनाथ साहित्य सदनमा फरक दृश्य थियो । त्यहाँ म्युजिक भिडियो सार्वजनिक कार्यक्रम थियो । कार्यक्रम आयोजना गरेको थियो नेपाली शिक्षा परिषदले ।
कार्यक्रमकी सभापति एवम् नेपाली शिक्षा परिषदकी अध्यक्ष प्राध्यापक रमा शर्मा, समालोचक एवम् गीतकार डा. कृष्णहरि बराल, त्रिभुवन विश्वविद्यालय संगीत विभागका पूर्वप्रमुख संगीता प्रधान लगायतले कविशिरोमणि लेखनाथ पौड्यालले रचना गरेको गजल ‘हे मातृभूमि’को म्युजिक भिडियो सार्वजनिक गरे ।
यसलाई विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले तयार पारेका थिए । सन्तोषले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको शताब्दी पुरानो गजल ‘आकाशमा शशी छन्’लाई पनि म्युजिक भिडियोमा सार्वजनिक गरेका थिए । त्यसको ठ्याक्कै दुई महिनापछि उनले कविशिरोमणिको गजललाई पनि म्युजिक भिडियोको रुपमा ल्याएका हुन् ।
‘हे मातृभूमि’मा स्वर र संगीत सन्तोष श्रेष्ठको छ । संगीत संयोजन र ध्वनि मिश्रण राजु कार्कीले गरेका छन् भने स्टुडियो किङमा रेकर्डिस्ट सुरेश राई र मनोज साङसोन राईले रेकर्ड गरेका थिए । हेमप्रभास अधिकारीको निर्देशनमा राज पोख्रेलको छायांकन र विपेन्द्र भाट विपिनले म्युजिक भिडियो सम्पादन गरेका छन् ।
नेपाली शिक्षा परिषदकी अध्यक्ष प्राध्यापक शर्माले लेखनाथ सदनको हलमा १० वर्षपछि म्युजिक भिडियो सार्वजनिक भएको बताइन् । उनका अनुसार पहिलो पटक शिक्षासेवी गोपाल पाँडे (असिम)को जन्मशताब्दीको अवसर पारेर २०७० सालमा उनको भजन भिडियोको रुपमा सार्वजनिक गरिएको थियो । त्यसपछि म्युजिक भिडियो सार्वजनिक भएको यो नै पहिलो थियो ।

‘हे मातृभूमि’ कविशिरोमणि लेखनाथ पौड्यालको लालित्य कविता संग्रह भाग २ मा संग्रहित छ । तर यो कहिले लेखिएको हो भन्ने एकिन छैन । लालित्य कविता संग्रहको दोस्रो भाग वि.सं. २०२५ मा र पहिलो भाग वि.सं. २०१० मा प्रकाशित भएको थियो ।
कार्यक्रममा सहभागी धेरैलाई कविशिरोमणि लेखनाथ पौड्यालले गजल पनि लेखेका छन् भन्ने थाहा थिएन । पाण्डुलिपी पढ्नेहरुले ‘दशैं’ कविताको तल कविशिरोमणि लेखनाथ पौड्याल आफैंले ‘गजल’ भनेर लेखेको देखेका थिए । तर ‘मातृभूमिको प्रार्थना’ शीर्षक दिएर लेखिएको ‘हे मातृभूमि’लाई कविताकै रुपमा पढ्दै आएका थिए । त्यसैले कविशिरोमणिको कविता गजलको रुपमा सार्वजनिक हुँदा नौलो लाग्नु स्वाभाविक थियो ।
यसकारण हो गजल
कविशिरोमणि लेखनाथ पौड्यालले ‘मातृभूमिको प्रार्थना’ शीर्षक दिएर पाँच शेरको गजल लेखेका छन् ।
‘‘हे मातृभूमि ! तिम्रा हामी सबै पुजारी
गिरिराजकी सुपुत्री तिमि पार्वती दुलारी
शिव भावना छ मनमा बस्छ्यौ पवित्र वनमा
हिम–भूति त्यो वदनमा झल्कन्छ चित्तहारी
मेची जया सखी छन् विजया विशाल काली
बस्छन् दुवै बगलमा तिम्रै प्रभा निहारी
सादा छ वेशभूषा सादा छ वन्य खाना
तर इष्टसिद्धि–खातिर तपको प्रयास भारी
देखी विचार–धारा स्तुति गर्छ विश्व सारा
साना ठुला सबै छन् गुण शक्तिका भिखारी’’
यो कवितामा देश बन्दना अर्थात् राष्ट्रिय भाव छ । कविशिरोमणिले नेपाललाई प्राकृतिक र धार्मिक रुपमा वर्णन गरेका छन् । कुनै एक विषयवस्तुमा केन्द्रित भएर वर्णन गरिएको गीतलाई उर्दू भाषामा ‘नज्म’ भनिन्छ । नज्ममा कुनै एउटा विषयको सिलसिलेवार वर्णन हुन्छ । नज्ममा हरेक पङ्क्ति अनुप्रासयुक्त हुन्छन् तर अनुप्रास फरक-फरक हुन सक्छन् ।
प्रा.डा. सनतकुमार वस्तीका अनुसार कविशिरोमणिको यो रचना नज्म भए पनि गजलको बाह्य संरचनासँग मिल्ने भएकाले यसलाई गजल भन्दा हुन्छ । हिन्दी, उर्दू र नेपाली गजलबारे जानकार डा. वस्ती भन्छन्, ‘गजलमा दुई किसिमको संरचना हुन्छ । एउटा बाह्य र अर्को आन्तरिक । बाह्य संरचना अनुसार यसमा बहर मिलेको छ, गजलकै जस्ता दुई–दुई लाइनका पाँच वटा शेर छन् । रदिफ नभए पनि काफियाको प्रयोग गरिएको छ । त्यसैले बाह्य संरचनाका दृष्टिले यो गजल हो ।’
गजल विधामा विद्यावारिधि गरेका प्रा.डा. कृष्णहरि बरालले पनि हे मातृभूमि कविता गजलको संरचनामा रहेको बताए । उनले यो कुरा आफ्नो पुस्तक ‘गजल सिद्धान्त र परम्परा’मा पनि उल्लेख गरेका छन् । उनी भन्छन्, ‘कविशिरोमणिले लक्ष्मीपूजा नाटकमा पनि गजल समावेश गरेका छन् । अन्तरकुन्तर केलाउँदा केही न केही खोट त भेटिएला तर पौड्यालका अरु रचनाभन्दा हे मातृभूमि धेरै हिसाबले गजलको रुपमा छ ।’
नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक एवम् समालोचक, गीतकार र गजलकारका रुपमा समेत परिचित नारायण नेपाल पनि कविशिरोमणिको ‘हे मातृभूमि’ बहरमा लेखिएको गजल भएको बताउँछन् ।
उनका अनुसार यो गजलका हरेक पंक्तिमा २४ मात्रा छन् । (ह्रस्वलाई १ र दीर्घलाई २ मात्रा गनिन्छ) । यसको मात्रा २२१+ २१२२+ २२१+ २१२२ हुन्छ ।
नेपाल भन्छन्, ‘कविशिरोमणिले हे मातृभूमि गजल मुजारे मुसम्मन अखरब बहरमा लेख्नु भएको छ । अर्थात् मफ्ऊल+फाइलातुन्+मफ्ऊल+फाइलातुन् सूत्रमा छ । यो सोह्रै आना गजल हो ।’
आधुनिक नेपाली कविताका प्रवर्तक कवि शिरोमणि लेखनाथ पौड्याल (वि.सं १९४१–२०२२) परिष्कारवादी धाराका कवि हुन् । २००८ सालमा राजा त्रिभुवनले लेखनाथ पौड्याललाई ‘कविशिरोमणि’को उपाधि दिएका थिए । उनका गंगा गौरी महाकाव्य, ऋतुविचार खण्डकाव्य, बुद्धिविनोद, तरुण तपसी, लालित्य लगायत थुप्रै कालजयी रचनाहरु छन् ।
कविशिरोमणिका सबै रचनाहरुलाई एकत्रित गरी पाँच भागमा प्रकाशन गरेर सार्वजनिक गरेका प्रा.डा. सनतकुमार वस्तीका अनुसार पौड्यालका मुक्तकदेखि महाकाव्यसम्मका काव्य कृतिहरू छन् । फुटकर कविताका क्षेत्रमा महत्वपूर्ण स्थान राख्ने लालित्य (भाग १) पौड्याल जीवित छँदै र लालित्य (भाग २) उनको मृत्युपश्चात् प्रकाशित भएको थियो ।
‘गौरवको क्षण’
कविशिरोमणिको वर्षौं पुरानो कृति म्युजिक भिडियोको रुपमा सार्वजनिक हुनु गौरवको क्षण भएको डा. वस्ती बताउँछन् ।
कवित्वको प्रचार प्रसार गर्ने, सुन्ने, बुझ्ने, अनुभूति गर्ने संस्कार हराउँदै गएकोमा चिन्तित डा. वस्ती भन्छन्, ‘नेपालमा छन्दमा लेखिएका राम्रा राम्रा कविताहरु छन्, तर कसैले गाउँदैन । न सुन्छन्, न प्रचार गर्छन् । हामीमा कवित्वको प्रचार प्रसार गर्ने, सुन्ने, बुझ्ने, अनुभूति गर्ने संस्कार नभएको बेलामा सन्तोष श्रेष्ठले प्रेमपूर्वक गाएर अगाडि ल्याए । यो अत्यन्तै गौरवको कुरा हो ।’
उनी छन्दोबद्ध अरु कविताहरु पनि म्युजिक भिडियोको रुपमा सार्वजनिक गर्न नयाँ पुस्तालाई सुझाव दिन्छन् । वस्ती भन्छन्, ‘सँस्कृतबाट आएको छन्द १०–१५ हजार वर्ष पुरानो हो । एउटा कानबाट अर्को कान हुँदै अहिलेसम्म पनि छन्दको उस्तै किसिमको लय हाम्रोमा जीवित छ । सँस्कृतबाट हिन्दी, बंगाली अरु थुप्रै भाषा बने । तर आजसम्म यो छन्द नेपालीबाहेक अरु कसैले लेख्न, भन्न जान्या छैन । यो हामीलाई हाम्रा पुर्खाले दिएको हाम्रो आफ्नै अनमोल सम्पत्ति हो । छन्दमा लेखिएका एक से एक नेपाली कविताहरु छन् । ती कविताहरुलाई प्रेमले गाइनुपर्छ र प्रचार गरिनुपर्छ ।’

नेपाली शिक्षा परिषदकी अध्यक्ष प्राध्यापक रमा शर्मा कविशिरोमणि लेखनाथ पौड्याललाई नयाँ पुस्ताले बिर्सिंदै गएको बेला उनको गजलको म्युजिक भिडियो सार्वजनिक कार्यक्रमको साक्षी बन्न पाउँदा खुसी लागेको बताउँछिन् ।
‘उहाँलाई नयाँ पुस्ताले बिर्सिसकेको जस्तो थियो, सन्तोष जीले त्यसलाई बाहिर ल्याइदिएर राम्रो काम गर्नुभएको छ,’ प्राध्यापक शर्मा भन्छिन्, ‘श्रव्यदृष्यको रुपमा कवि शिरोमणिको रचना पहिलोपटक सार्वजनिक भयो, त्यो पनि लेखनाथ सदनमै, कार्यक्रम आयोजना गर्न पाउँदा र यो ऐतिहासिक क्षणको साक्षी बन्न पाउँदा खुसी लागेको छ ।’
गीतकार, गजलकार र समालोचक समेत रहेका नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक नारायण नेपाल शताब्दीपछि पूर्वजहरुलाई गीत संगीतको माध्यमबाट सम्मान गर्ने परम्परा सन्तोष श्रेष्ठले सुरु गरेको र यो निकै नै प्रशंसनीय रहेको बताउँछन् ।
महाकविको गजल सार्वजनिक गरेपछि सन्तोषलाई कविशिरोमणिको पनि गजल गाउन नेपालले नै सुझाव दिएका थिए । कविशिरोमणिको गजलमा सन्तोषले जसरी गाउनुपर्ने हो त्यसैगरी गाएर न्याय गरेको उनी बताउँछन् ।
‘कविशिरोमणिको गजल सन्तोषजीले गाउँदै मलाई अडियो पठाउँदै गर्नुभयो, सुनेर सुझाव दिँदै गएँ,’ छन्दकासमेत जानकार सहप्राध्यापक नेपाल भन्छन्, ‘मैले दसौंपटक सुनें हुँला । शब्दको स्वरुप अनुसार जसरी गाउनुपर्ने हो त्यसैअनुसार गाउनु भएको छ । अहिले जुन रुपमा तयार भएको छ, यसमा अब परिमार्जन गर्ने ठाउँ छैन ।’
गायक तथा संगीतकार सन्तोष श्रेष्ठ ओझेलमा परेका रचनाहरुलाई उधिन्ने क्रममा कविशिरोमणि लेखनाथ पौड्यालको गजल फेला पारेको र त्यसलाई म्युजिक भिडियोको रुपमा सार्वजनिक गरेर पछिल्लो पुस्तालाई चिनाउने प्रयास गरेको बताउँछन् ।
राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, महाकवि लक्ष्मीप्रसाद देवकोटा हुँदै पछिल्लोपटक कविशिरोमणिका रचनाहरुमा स्वर र संगीत दिएर सार्वजनिक गरेका सन्तोष ओझेलमा परेका अरु रचनाहरु सार्वजनिक गर्ने तयारीमा छन् । उनी भन्छन्, ‘मानिसहरु धर्म कमाउन विभिन्न धार्मिकस्थल धाउँछन् । मेरा लागि धाम यिनै हुन् । अझै अरु धामहरुमा पुग्नु छ ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4