+
+

एक अन्तरलिङ्गीको प्रश्न : संसारमा म मात्रै यस्तो मान्छे हुँ ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० चैत १३ गते १९:४५

काठमाडौं । बाजुराका इसान रेग्मी छोरीको रुपमा जन्मिइन् । उनलाई घरमा छोरी भनेर नै हुर्काइयो । तर किशोरावस्थामा पुग्दै गर्दा हुने शारीरिक परिवर्तन भने ‘छोरी’को जस्तो नभएर ‘छोरा’को जस्तो हुन थाल्यो ।

उनको आवाज धोत्रो भयो, महिनावारी भएन, स्तन पनि अन्य साथीको तुलनामा बढेन अनि दाह्रीजुँगा आउन थाल्यो ।

शारीरिक परिवर्तनसँगै समाजमा उनलाई हेरिने दृष्टि पनि परिवर्तन हुन थाल्यो । उनको त्यस्तो शारीरिक परिवर्तन समाजले परिभाषित गरेको ‘महिला’ र ‘पुरुष’भित्र अटाएन ।

उनलाई छोरी भनेर हुर्काइरहँदा शारीरिक विकास भने छोराको जस्तो हुँदा समाजमा उनलाई र उनको परिवारलाई विभिन्न लाञ्छना लगाउने,  ‘पूर्वजन्मको पाप’हो भन्ने, कुनै समस्या होला उपचार गर्नुपर्छ समेत भने ।

अन्तरलिङ्गी भएकै कारण थुप्रै विभेद सहनुपर्‍यो

आफूमा देखा परेको परिवर्तन फरकपन हो भन्ने इसानले बुझेका थिएनन् । तर विद्यालयमा साथीहरूबाट उनले दुर्व्यवहार, विभेद सहनुपर्थ्यो । साथीहरूले कपाल तान्दिने, जिस्काउने गर्थे । यस्तो विभेदले उनलाई विक्षिप्त बनाउँथ्यो ।

‘संसारमा म मात्र यस्तो रहेछु । मलाई किन भगवानले यस्तो बनाएको भन्ने लाग्थ्यो,’ इसान भन्छन् ।

उनी अगाडि भन्छन्, ‘म किशोरी भएर पनि अरू किशोरीहरू जस्तो महिनावारी किन भइनँ, किन मेरो स्तन बढेन भनेर तुलना गर्थे । म किन यस्तो भए भनेर जान्न मन लाग्थ्यो ।’

‘म आफैं पनि अन्योलमा थिएँ । जुन हिसाबले ममा शारीरिक विविधता देखियो त्यसको बारेमा पढ्नका लागि न कुनै शैक्षिक सामग्री थियो, न कुनै रेडियो, टेलिभिजन र पत्रिकामा नै छापिन्थ्यो,’ उनी भन्छन्, ‘यो संसारमा म मात्र अरू भन्दा फरक रहेछु त्यसैले मैले यो संसार नै छोड्नुपर्छ भनेर कति पटक आत्महत्या गर्ने सोच समेत आयो ।’

समाजको यही विभेदको कारण उनले पढाइ समेत छोडे, साथीहरूसँग संगत छोडे र आफूलाई ‘आइसुलेट’ गर्न थाले । तर उनका बुबाले उनलाई हौसला दिएर पढाइलाई निरन्तरता दिन लगाए ।

बुबाको हौसलाको कारण उनले पढाइलाई निरन्तरता दिए । एसएलसी, प्लस टु सकाएर उनी स्नातक पहिलो वर्ष पढ्दै थिए । त्यही बेला अचानक उनको बुवाको मृत्यु भयो । बुवाको मृत्युपछि उनले झन् एक्लो महसुस गरे । उनलाई घरमा बस्न मन लाग्न छोड्यो ।

त्यसपछि आफू के हो भनेर बुझ्न र जागिर खोज्न उनले घर छोडिदिए । त्यसबेला एकजना साथीले ‘फलानो ठाउँमा तिमीहरू जस्ताको लागि काम गर्ने संस्था छ त्यहाँ जाऊ’ भनेर सुझाए ।

उनी त्यहाँ गए र पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि काम गर्ने संस्थाहरूको बारेमा त्यही समयमा थाहा पाए ।

त्यहाँ पनि तेस्रोलिङ्गी, समलिङ्गीहरू भेटे तर अन्तरलिङ्गी भने भेटेनन् । ‘उहाँहरूले विभिन्न लैङ्गिक पहिचान भएको व्यक्तिहरूको बारेमा कुरा गरिरहँदा म त्यसमध्ये कुनैमा पनि अटाएको महसुस गरिनँ,’ भन्छन् । ‘इन्टर सेक्स भनेर अलि-अलि कुरा हुन्थ्यो ।  त्यस बेला चाहिं म यो भित्र चाहिं परे कि भन्ने लाग्यो,’ उनले सम्झिए ।

यसबारे थप जानकारी लिन उनी उत्सुक थिए । त्यो समयमा इन्टरनेट चलाउन साइबर जाने चलन थियो । त्यसैले साइबरमा गएर ‘इन्टर सेक्स’ भनी सर्च गरेर हेरे । नेपाल र भारतमा यसबारे उनले खासै केही भेटेनन् ।

खोज्दै जाँदा ‘इन्टर सेक्स सोसाइटी अफ नर्थ अमेरिका’ भन्ने वेबसाइट भेटे । उनी भन्छन्, ‘त्यहाँ चाहिं अलि बढी डिटेलमा अन्तरलिङ्गीको कुरा भएको हो कि जस्तो लाग्यो । त्यहाँबाट धेरै कुरा थाहा पाएँ ।’

त्यसपछि भने उनले आफूलाई अन्तरलिङ्गी भनेर चिनाउन थाले अनि बिस्तारै त्यही संस्थासँग आबद्ध भएर स्वयंसेवकको रूपमा काम गरे । त्यहाँ काम गर्दा आफ्नो कहानी उनी अरू साथीहरूलाई सुनाए ।

उनले कामसँगै अध्ययनलाई पनि निरन्तरता दिइरहेका थिए । उनका बुबाले पढ्नुपर्छ पढेर जागिर खाइयो आत्मनिर्भर भयो भने विभेद कम हुन्छ भनेर भनेका थिए । त्यसैले उनले लोकसेवाको तयारी गरे । उनले त्यो बेला आठवटा सामान्य ज्ञान कण्ठ पारेका थिए ।

नायब सुब्बाको लागि परीक्षा दिन २०६८ साल जेठ ३१ गते डोटीको दिपायल गए । उनी परीक्षा दिंदै थिए । प्रवेश पत्र जाँच गर्दै आउने व्यक्तिले उनको पनि प्रवेशपत्र जाँच गरे ।

‘प्रवेश पत्रमा नाम महिलाको थियो । तर मेरो शारीरिक बनावट पुरुषको थियो । त्यसैले मलाई परीक्षा हलबाट नै बाहिर निकालियो । नक्कली विद्यार्थी हो भनेर मलाई परीक्षा दिन दिइएन,’ उनी भावुक हुँदै सुनाउँछन्, ‘मैले मेरो अवस्थाको बारेमा उहाँहरूलाई बुझाउन चाहें, तैपनि उहाँहरूले मेरो कुरा सुन्नु भएन ।’

पटक-पटक विभिन्न प्रकारको विभेद र दुर्व्यवहार भोगेका इसानलाई यो कुराले झन् धेरै विक्षिप्त बनायो । ‘यो समाजले मलाई गर्ने विभेद कहिल्यै कम हुँदैन, त्यसैले मैले आफूलाई सिध्याउनैपर्छ भन्ने समेत सोच आयो,’ उनी भन्छन् ।

उनीमाथि भएको विभेद यतिमै कहाँ सकिन्थ्यो र ! हरेक पाइलामा इसानले विभेद भोग्नुपर्‍यो । स्नातकोत्तरको परीक्षामा पनि उनलाई नक्कली विद्यार्थी भनेर परीक्षा हलबाट बाहिर निकालियो ।

त्यसपछि केही वर्ष उनले पहिलेकै संस्थामा निरन्तर काम गरे । काम गर्ने क्रममा इसानले तीन-चार जना साथीहरू भेटे । यसबारे धेरै जानकारी थाहा हुँदै गएपछि उनी काठमाडौं आए ।

विभिन्न संस्थासँग जोडिएर काम गर्न थाले । काम गर्दागर्दै सन् २०१५ मा एसियामा नै पहिलो अन्तरलिङ्गी भेला ताइवानमा हुन लागेको उनले थाहा पाए । भेलामा सहभागी हुन गए । अन्तर्राष्ट्रिय रूपमै उनले अन्तरलिङ्गी मुद्दा र आन्दोलनको बारेमा जानकारी लिए ।

त्यहाँबाट फर्किएपछि भने उनले सन् २०१६ मा नेपालमै पहिलो पटक अन्तरलिङ्गीको भेला पनि आयोजना गरे । त्यसमा १३ जना अन्तरलिङ्गीहरू सहभागी भए । सन् २०१७ मा भने अन्तरलिङ्गीहरूको हकहितका लागि काम गर्ने भनेर ‘क्याम्पेन फर चेन्ज’ संस्था नै दर्ता भयो । इसान अहिले पनि यस संस्थाको सहसंस्थापक तथा कार्यकारी निर्देशक छन् ।

अन्तरलिङ्गी भएकै कारण स्वास्थ्यमा समस्या

‘अन्तरलिङ्गी व्यक्तिको मुख्य समस्या स्वास्थ्य पनि हो । बच्चा जन्मिने बित्तिकै उसको लैङ्गिक चिन्ह स्पष्ट भएन भने विभिन्न किसिमको मेडिकल प्राक्टिसहरू हुने गरेको छ,’ इसान भन्छन्, ‘त्यसमा धेरै जटिलता आउने गर्छ । त्यस्तो बेलामा त्यो बच्चाले चाहेमा आफ्नो शरीरको निर्णय लिन सक्ने भएपछि मात्र गरिनुपर्छ भन्ने कुराबारे सचेतना फैलाउनुपर्छ ।’

उनी अगाडि सुनाउँछन्, ‘म पुरुष हुँ तर मेरो शरीरको सबै अंग पुरुषको जस्तो छैन । जसले गर्दा अस्पताल गएर कुन चिकित्सकलाई देखाउने भन्ने समेत अन्योल हुन्छ । किनकि, मेरो शरीरको अंग फरक भएकै कारण चिकित्सकहरूले पनि प्रयोगशाला जस्तो रूपमा लिने गर्छन् ।’

सार्वजनिक शौचालयको समस्या

इसान लामो समय धनगढीमा बसे । धनगढीबाट काठमाडौं आउन कम्तीमा २४ घण्टा बसमा यात्रा गर्नुपर्ने हुन्थ्यो । बाटोमा शौचको लागि रोकिने ठाउँमा पुरुष र महिलाको लागि मात्र शौचालय बनेको हुन्थ्यो, जहाँ महिला र पुरुष ग्रुपमा जाने गर्थे ।

‘म फरक विशेषता भएको मान्छे महिलाको शौचालयमा पनि जान मिलेन र पुरुषको शौचालयमा पनि जान मिलेन,’ उनी भन्छन्, ‘मेरो शारीरिक संरचना पुरुषको थियो । तर मैले उठेर पिसाब गर्न मिल्दैन थियो बसेर पिसाब गर्नुपर्थ्यो त्यसैले म पुरुषको शौचालयमा जान मिलेन । दाह्री जुँगा आएका कारण महिलाको शौचालयमा जान मिलेन ।’ जसले गर्दा त्यो समस्याबाट बच्न उनी कम पानी पिउने गर्थे । यसैकारण पत्थरीको समस्या समेत भोग्नुपर्‍यो ।

भर्खरैको घटना सम्झिंदै इसान भन्छन्, ‘भृकुटी मण्डपमा ‘वर्ल्ड सोसल फोरम’ भइरहेको थियो । त्यसैले म त्यहाँ सहभागी हुन गए । त्यही बाहिर शौचालय गए । पुरुषको शौचालयको भित्रपट्टि म गएँ । मेरो साथीले १० रुपैयाँ दियो र पाँच रुपैयाँ फिर्ता माग्यो । त्यहाँ पैसा उठाउन बसेको व्यक्तिले जवाफमा भने ‘उहाँ भित्रपट्टि जानुभयो ठिक्क भयो पैसा’ । मैलै उहाँलाई सम्झाउन चाहे मभित्र गएर पिसाब नै गरेको हो, मलाई बसेर गर्नुपर्छ त्यसैले भित्र गएँ भनेर सम्झाए । उहाँले जवाफमा भन्नुभयो- त्यो तपाईंको समस्या हो हाम्रो होइन ।’

पहिचान अनुसारको नागरिकता नहुँदा शिक्षा, स्वास्थ्य लगायत मौलिक हकबाट पनि वञ्चित हुनु परेको इसान दु:खेसो पोख्छन् ।

के हो अन्तरलिङ्गी ?

अन्तरलिङ्गी एक छाता शब्द हो, जसले प्राकृतिक यौन विशेषताको विविधतालाई जनाउँछ । जुन विविधता हाम्रो समाजले महिला र पुरुषको लागि छुट्टाएको परिभाषा भन्दा फरक हुन्छ । यौनाङ्गको ढाँचा, आन्तरिक र बाह्य प्रजनन् ग्रन्थीको विकासको ढाँचा, हार्मोन र क्रोमोजोमको ढाँचा फरक भएको व्यक्तिलाई अन्तरलिङ्गी भनिन्छ ।

अन्तरलिङ्गीको यौन विशेषता सानोमै पनि देखिन्छ । केहीको भने एकैचोटि किशोरावस्थामा मात्रै देखिन्छ ।  अनि केही भने कहिल्यै नदेखिने पनि हुनसक्छ ।

एक्सवाई क्रोमोजोम भएकोलाई ‘पुरुष’ र एक्सएक्स क्रोमोजोम भएकोलाई ‘महिला’ भनेर परिभाषित गरिएको  छ । तर त्यसबाहेकका क्रोमोजोम विविधता भएकाहरू पनि जन्मिन्छन् । त्यस्तो विविधता भएका अन्तरलिङ्गी हुन् ।

जस्तै– एक्स, एक्सएक्सवाई, एक्सएक्सएक्सवाई लगायत अहिलेसम्म पहिचान भएकोमा अन्तरलिङ्गीको ४७ वटा यौन विशेषता छ ।

सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घद्वारा जारी तथ्यांकअनुसार अन्तरलिङ्गी विविधता भएकाहरूको संख्या विश्वकै जम्मा जनसङ्ख्याको करिब शून्य दशमलव पाँच प्रतिशतदेखि एक दशमलव सात प्रतिशतसम्म रहेको छ । तर नेपालको हकमा भने यसको यकिन तथ्यांक राखेको देखिंदैन ।

केही बच्चाहरू किशोरावस्थामा पुग्दै गर्दा उनीहरूको आन्तरिक र बाह्य शारीरिक परिवर्तनसँगै केही प्रजनन् ग्रन्थीहरूको पनि विकास हुने गर्छ । हामीले छोरा छोरी भनेर जसरी हुर्काइएको छ, उनीहरूको शारीरिक विकास त्यो भन्दा फरक हुनसक्छ । यसरी छोरा र छोरी भन्दा फरक यौन विशेषता भएका व्यक्तिलाई हाम्रो समाजमा ‘असामान्य’, ‘अप्राकृतिक’ वा ‘पूर्वजन्मको पाप’ भन्ने सोच व्याप्त छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?