+
+

अन्ततः मुख्यमन्त्री जम्कट्टेलले जुटाए बहुमत

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८० चैत १५ गते २१:०३
बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा एमाले, माओवादी केन्द्र, हाम्रो नेपाली पार्टी र एकीकृत समाजवादीका नेताहरु ।

१५ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अल्पमतमा परेको २३ दिनपछि प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाएका छन् ।

२३ फागुनमा नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि बहुमत गुमाएका जम्कट्टेलले बिहीबार आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच लिखित सहमतिपछि प्रदेशसभामा बहुमत सदस्यको समर्थन जुटाएका हुन् ।

सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्छ ।

विश्वासको मत लिनुपर्ने समय नजिकिँदै जाँदा बिहीबार दुई सिट भएको हाम्रो नेपाली पार्टीको समर्थन जुटाएपछि मुख्यमन्त्रीलाई आवश्यक बहुमत पुगेको छ । अब मुख्यमन्त्री जम्कट्टेललाई ११० सदस्यीय प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका २१ सँगै नेकपा एमालेका २७, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरी ५७ सांसदको समर्थन जुटेको छ ।

९ चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी हप्ता दिन नबित्दै सरकारमा सहभागी भएको छ । उक्त पार्टीको संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले बिहीबार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । मन्त्री पदको शपथ लिएपछि बज्राचार्यले भने, ‘मैले संस्कृति र पर्यटनकै क्षेत्रमा काम गर्ने भएकाले यो जिम्मेवारी लिएको हुँ । पार्टीकै सल्लाहमा सरकारमा सहभागी भएको हो ।’

सत्ता गठबन्धनका माओवादी, एमाले र नेकपा एकीकृत समाजवादीको ५५ मात्रै सिट थियो । ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्दछ । कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सरकारमा सहभागी नहुने भएपछि जम्कट्टेललाई हाम्रो नेपाली पार्टी सरकारमा ल्याउनुको विकल्प थिएन ।

हाम्रो नेपाली पार्टीलाई २९ फागुनमै जम्कट्टेलले सरकारमा सहभागी गराउन खोजेका थिए । अघिल्लो दिन काठमाडौंमा बज्राचार्यसँग छलफल गरेर हेटौंडाका फर्किएका जम्कट्टेलले प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहणको तयारी गर्न अनुरोध गरेको प्रदेश प्रमुख कार्यालय स्रोत बताउँछ । तर, बज्राचार्य हेटौंडा आएनन् ।

हाम्रो नेपाली पार्टीले बार्गेनिङ सुरु गरेपछि जम्कट्टेल राप्रपा र नेमकिपासँग छलफलमा जुटेका थिए । राप्रपा र नेमकिपासँग जम्कट्टेलसहित बागमतीका पूर्वमुख्यमन्त्री एमालेका नेता डोरमणि पौडेलले पनि भेट गरेर समर्थन मागेका थिए ।

हाम्रो नेपाली पार्टी तत्काल सरकारमा नजाने भएपछि अन्य दलसँग छलफल भएको माओवादी केन्द्र बागमती प्रदेशका सचेतक रत्नप्रसाद ढकालले बताए । राप्रपा र नेमकिपाले अवस्थाअनुसार समर्थन गर्ने विश्वास दिलाएको उनको भनाइ छ ।

माओवादी एक सांसदका अनुसार मुख्यमन्त्री जम्कट्टेलले बज्राचार्यलाई सरकारमा सहभागी गराएर ढुक्कको बहुमत खोजेका हुन् । ‘सरकारमै सहभागी गराएर बहुमत पुर्‍याउनु पर्ने पक्षमा उहाँ हुनुहुन्थ्यो । सरकार बाहिरै बसेर समर्थन गर्ने कुराले भविष्यमा कुनै समस्या पर्छ कि भन्ने चिन्ता त सरकारमा बस्नेलाई हुनु स्वभाविकै हो नि,’ ती सांसदले भने ।

२५ पुस २०७९ मा एमाले– माओवादीसहितको गठबन्धनमा जम्कट्टेल मुख्यमन्त्री बनेदेखि नै हाम्रो नेपाली पार्टीले सरकारलाई समर्थन गर्दै आएको छ । एमाले–माओवादी गठबन्धन टुटेर कांग्रेस–माओवादी गठबन्धन बन्दा पनि हम्रो नेपाली पार्टीले सरकारलाई समर्थन कायमै राखेको थियो ।

उसले एक मन्त्री र एक संसदीय समितिको सभापति मागेको माओवादी नेताहरुको दाबी छ । तर मुख्यमन्त्री जम्कट्टेलले उक्त पार्टीको माग बेवास्ता गर्दै आएका थिए ।

हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता बज्राचार्यले आफूहरुको योजनामा बजेट नदिएको र सर्वदलीय बैठकमा मानमर्दन गरेको आरोप पनि लगाएका थिए । त्यसैले मुख्यमन्त्री जम्कट्टेलाई समर्थन आवश्यक परेका बेला हाम्रो नेपाली पार्टीले सत्ता बार्गेनिङ गरेको थियो ।

४ चैतमा बज्राचार्यले विज्ञप्ति जारी गर्दै आफूहरुलाई मुख्यमन्त्री दिए मात्र सरकारलाई समर्थन दिन सकिने भनाइ सार्वजनिक गरेका थिए । त्यसपछि ९ चैतमा समर्थन फिर्ता लिएर सरकार र सत्तारुढ गठबन्धनमाथि दबाब सिर्जना गरेका थिए ।

तर निरन्तरको संवादपछि उक्त दल सत्ता गठबन्धनमा सहभागी भएका छन् । बिहीवार नेकपा एमालेका सांसद प्रकाश श्रेष्ठसँगै बज्राचार्य परिवारसहित हेटौंडा आए र मन्त्री पदको शपथ लिए ।

नेतृत्वमा सहकार्य गर्ने चार दलीय सहमति

बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच बिहीबार ५ बुँदे सहमति भएको छ ।

चार दलबीच प्रदेशसभाको बाँकी कार्यकालका लागि सहकार्य गरी राजनीतिक स्थायित्व दिने गरी सरकार निर्माण गर्ने सहमति भएको छ । त्यस्तै सरकारको नेतृत्वमा सत्ता गठबन्धनका दलहरुबीच सहकार्य गर्ने सहमति पनि भएको छ ।

सरकार सञ्चालनका लागि प्रदेशस्तरीय संयन्त्र बनाउने र साझा न्यूनतम नीति कार्यक्रम बनाउने पनि दलहरुबीच सहमति छ । त्यस्तै दलहरुबीच सहमतिका आधारमा मन्त्रिपरिषदको संख्या निर्धारण र मन्त्रालयको जिम्मेवारी विभाजन गर्ने निर्णय पनि भएको छ ।

सहमतिपत्रमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?