+
+

श्रम स्वीकृतिको सेवा ३ सिफ्टमा, एक दिनमै जारी हुने दाबी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १६ गते १५:०४

१६ चैत, काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहचलले ३ सिफ्टमा सेवा दिन थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति दिने व्यवस्था गर्न भनेपछि कार्यालयले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृति दिने सेवा २ वटा सिफ्टबाट ३ वटामा विस्तार गरेको हो । अब सेवाको टोकन जारी भएकै दिनमा श्रम स्वीकृति जारी गर्न सकिने श्रम अधिकारीहरूको दाबी छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेकाअनुसार २ सिफ्टमा कार्यालय चलाउँदा दैनिक आउने सेवाग्राहीको चाप धान्न नसकेपछि ३ सिफ्टमा सेवन थालिएको हो । विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म, दिउँसो २ बजेदेखि राति ९ बजेसम्म र राती ९ बजेदेखि विहान ४ बजेसम्मको ३ सिफ्ट कायम गरेर सेवा थालिएको हो ।

श्रम स्वीकृतिको प्रक्रियालाई छिटो बनाउन अरु पनि विभिन्न सुधारका काम गरिएको उनले बताए । ‘मन्त्रीज्यूकै निर्णय र निर्देशनअनुसार पुनः श्रम स्वीकृतिलाई एक तहबाटै सकाउने गरी विधि तय भएको छ,’ उनले भने,‘सबै कागजात पुगेर आउँदा एकै कर्मचारीले त्यसलाई हेरेर पुनः श्रम स्वीकृति जारी गर्न सक्ने गरी विधि बनाएका छौं ।’ यसले गर्दा कर्मचारीहरुको कार्यचाप घट्ने र त्यसबाट व्यवस्थापन सजिलो बन्ने घिमिरेले बताए ।

कार्यालयले अहिले अनलाइन फराम भरेर टोकन दिने प्रणाली दिउँसो १ बजेपछि मात्रै खुला गर्न थालेको छ । यसअघि १० बजेदेखि प्रणाली खुला गर्दा चाप धेरै भएर पटक–पटक समस्या आइरहेको थियो । विभागले कर्मचारीले प्रयोग गर्ने कम्प्युटरहरु पनि अपडेट गरेर चुस्त बनाएको छ । कम्प्युटरहरुमा र्‍याम र एसएसडीको क्षमता थप गरेर छिटो चल्ने गरी अपडेट गरिएको घिमिरेले बताए ।

कार्यालयले अब कार्यचापअनुसार शनिबार र सार्वजनिक विदाका दिनमा समेत सेवा दिन सुरु गरेको छ । गत ८ चैतमा श्रममन्त्री अर्यालले साँझ वैदेशिक रोजगार कार्यालय ताहाचल पुगेर सेवाबारे जानकारी लिएर छलफल गरेका थिए ।

एकै दिनमा वितरित टोकनअनुसार समेत श्रम स्वीकृति जारी नभइरहेको थाहा पाएपछि उनले कम्तीमा सेवाग्राहीले टोकन लिएकै दिनमा श्रम स्वीकृति जारी गर्ने व्यवस्था गर्न भनेका थिए ।

उनले एक घण्टाभित्रै श्रम स्वीकृति जारी गर्न वैदेशिक रोजगार सूचना प्रणाली सुधार गर्न अहिले प्राविधिक टोली खटाएका छन् । कर्मचारीहरूले प्रणाली नै ‘स्लो’ भएकोले सेवा दिन समस्या भएको गुनासो गरपछि सुधारको काम थालिएको हो ।

हाल दैनिक एक हजार ५०० देखि दुई हजार श्रमिकले पुन श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन् । त्यस्तै एक हजार जनाले नयाँ श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन् । कार्यालयले पनि सोही अनुपातमा दैनिक श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।

कागजपत्र नपुगेका श्रमिकको हकमा भने तीन दिनभित्रका कागजपत्र बुझाएको अवस्थामा सोही टोकनलाई मान्यता दिइँदै आएको छ । तीन दिनभित्र कागजपत्र नबुझाएका नयाँ टोकन लिनुपर्ने व्यवस्था छ ।

गत ४ चैतमा ४ चैत श्रममन्त्री अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिएका थिए । मन्त्री अर्यालले संसारको कुनैपनि कुनाबाट श्रम स्वीकृतिको लागि श्रमिकले आवेदन दिँदा एक घण्टाभित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्न निर्देशन दिएपनि तत्काल त्यो गर्न सम्भव देखिएको छैन ।

प्रविधि, जनशक्ति र स्रोतसाधनको विद्यमान अवस्थाका कारण तत्काल सम्भव नदेखिएको कार्यालयका अधिकारीहरु बताउँछन् । तर, सुस्त चल्ने विभागको अनलाइन प्रणाली चुस्त बनाउन सकए धेरै हदसम्म समस्या घट्ने उनीहरुको दाबी छ ।

त्यसकै आधारमा मन्त्रालयको सुचना प्रविधि परामर्शदाताले विगत एक सातादेखि फेमिस प्रणालीको निगरानी गरिरहेको छ । फेमिस प्रणालीको सफ्टवेयरको आपूर्तिकर्ता ई–बिमा कम्पनी हो भने हार्डवेयर आपूर्तिकर्ता दृष्टि टेक कम्पनी हो । सन् २०१६ मा विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकको तथ्यांक राख्न, अनलाईन टोकन र श्रम स्वीकृति प्रदान गर्नका लागि सफ्टवेयर खरिद गरेको थियो । तर, प्रणालीमा बारम्बार समसया आउँदा सेवा प्रभावित हुने समस्या हल हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?