 
																			१८ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक र प्राध्यापकलाई दलीय आवद्धता त्याग्न आग्रह गरेकी छन् ।
शिक्षा ऐन २०२८ र राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा भएको व्यवस्था उल्लेख गर्दैै मन्त्री श्रेष्ठले शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दलको सदस्यता नलिन आग्रह गरिन् । शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीहरूले राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था रहेको उनले भिडिओ सन्देश मार्फत जानकारी गराएकी छन् ।
कानुन विपरित दलको सदस्यता लिने गरेकाले कारबाहीको माग गर्दै मन्त्रालयमा उजुरी परेको समेत उनले बताइन् । उजुरी उपर प्रक्रिया अघि बढाउन मन्त्री श्रेष्ठले निर्देशन दिइन् । ‘हाम्रा विद्यालय गुणस्तरीय बनाउन शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नु अपरिहार्य हुन्छ।
अन्यथा शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) बमोजिम कानुनी कारबाही गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी गराइन्छ,’ मन्त्री श्रेष्ठले भनिन् ।
शिक्षण संस्थामा दलीय राजनीतिकरण नहटे राम्रो भवन, राम्रो कार्यक्रम लगेपनि नतिजा नदिने उनले बताइन् । सरकारी तथा सामुदायिक संस्थामा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिएको भेटिए उजुरी दिन समेत उनले आव्हान गरिन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4