+
+

गुल्मीमा १७ प्रतिशत चैते धान रोपाइँ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १७:४२

१९ चैत, गुल्मी । गुल्मी जिल्लाभर १७ प्रतिशत चैते धान रोपाइँ भएको छ । चैतमा रोपेको धान साउनको पहिलो सातासम्म भित्र्याइन्छ र पुनः बर्खे धान रोपिन्छ ।

कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार पछिल्ला ३ वर्षमा लगातार धान रोप्ने खेतको क्षेत्रफल भने घट्दै गएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३५२ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । २०७८/०७९ मा ३५० हेक्टर र २०७९/८० मा ३४१ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो ।

चालु आर्थिक वर्षमा ३१९ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने प्रक्षेपण कृषि ज्ञान केन्द्रले गरेको छ । बसाइँसराइ, वैकल्पिक खेती प्रणालीलगायत कारण खेती गर्ने क्षेत्रफल वर्षेनी घट्दै गएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।

गुल्मीमा स्थानीय मार्सी सिएच ४५ चैते र हर्दिनाथ १ चैतमा रोपिने प्रमुख धान हो । त्यसका साथै हाइब्रिड धान शंकर, उपज, च्याम्पियन, यूएस ३१२ पनि रोपिन्छ ।

हंशराज, आपझोते, झोप्री, काठे, झिंनुवा, सानो भट्टे, ठूलो भट्टे, कोदे, बडियारे, लहरेबडियारे, थापचिनी, गुडुरो, ढल्लोइ, रातो मार्सीलगायत धान गुल्मीमा रोपिंदै आएको केन्द्रका प्रमुख भण्डारीले बताए ।

कम उत्पादन दिने भए पनि स्थानीय जातमा भएका विशेष गुणका कारण कतिपय किसानले यी जात लगाउन छाडेका छैनन् । ‘उन्नत र हाइब्रिड जातका धानमा नपाइने गुण स्थानीय जातमा पाइने र पकाउँदा बास्नादार, खाँदा मिठो पनि हुने गर्छ,’ भण्डारीले भने, ‘कतिपय धान भने किसानले रोप्न छाड्दै जाँदा लोप हुने अवस्थामा पुगेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?