+
+

सहरी विकास मन्त्रीसँग बालेनको भेट, फोहोर व्यवस्थापनबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १६:३४

२० चैत, काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढा र काठमाडौं महानगरपालिका मेयर बालेन साहबीच भेटवार्ता भएको छ । नुवाकोट बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने विषयमा दुईबीच छलफल भएको हो ।

सिहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा उपत्यकाको फोहोर व्यवस्थापन गर्न दीर्घकालीन योजनामा काम गर्ने र आपसी सहकार्यबाट अघि बढ्ने विषयमा छलफल भएको छ ।

तत्कालका लागि स्थानीयको सरोकार सम्बोधन हुने गरी बन्चरेडाँडामा फोहाेर व्यवस्थापन गर्ने र उनीहरूको माग सम्बोधन गर्ने विषयमा साहसँग मन्त्री बुढाले मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए । मेयर साहले फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको भन्दै महानगरले केही वडावाट ‘शून्य फोहोर’ कार्यक्रम सुरु गर्न लागेको र यसमा मन्त्रालयको सहयोग चाहिएको बताएका थिए । भेटमा मेयर साहले बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहाेर व्यवस्थापन गर्न बनाइएको संरचनामा थप सुधार गर्नका लागि महानगरले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताए ।

मन्त्री बुढाले बन्चरेडाँडामा जाने फोहाेरको परिमाण कम गर्न आफूमातहत निकायलाई निर्देशन दिइसकेको भन्दै फोहाेर व्यवस्थापनको दीर्घकालीन समाधानमा काठमाडौं र ललितपुर महानगरपालिकासँग मन्त्रालयले समन्वय र सहकार्य गर्न चाहेको उल्लेख गरे । मन्त्रालय मातहत निकायबाट काठमाडौं महानगरपालिकाभित्र भइरहेका काम प्रभावकारी बनाउन तथा विकास निर्माणलाई गति दिने विषयमा मन्त्री बुढाले मेयर साहसँग सुझाव समेत मागे ।

‘काठमाडौंको विकासमा महानगरपालिकाले गर्न चाहेका विकास निर्माणको काममा हामी हातेमालो गरेर अघि बढ्न तयार छौं,’ उनले भने, ‘सुन्दर, सफा र व्यवस्थित राजधानी बनाउने अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्छ । ’

जवाफमा मेयर साहले काठमाडौं उपत्यकामा ट्राफिक जाम व्यवस्थापन र उपत्यकाका खोला किनारमा रहेका अव्यवस्थित बस्ती हटाउन आवश्यक समन्वय गरेर अघि बढ्न आग्रह गरे ।

काठमाडौंको ट्राफिक जामलाई कम गर्न नयाँ प्रविधि ‘पोड वे’ सम्भाव्यताबारे समेत मन्त्री बुढाले चासो राखेका थिए । मेयर साहले विकसित मुलुकमा समेत पोड वे सफल भएको भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेर अघि बढ्न मन्त्री बुढालाई सुझाव दिए ।

छलफलमा साहले काठमाडौं उपत्यकाको जाम कम गर्न बानेश्वर, लैनचौर जस्ता बढी जाम हुने क्षेत्रमा फ्लाइओभर वा अन्डरपास बनाउन सके राजधानीवासीलाई ठूलो राहत हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?