+
+

एसईईमा चिट चोर्न ह्वाट्सएप ग्रुप, ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १९:५८

२१ चैत, नेपालगञ्ज । एसईई परीक्षामा ह्वाट्सएप र फेसबुकमा ग्रुप बनाएर चिट चोराउने कार्यमा संलग्न पाँच जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

लोटस इङ्ग्लिस मिडियम हाई स्कुलका प्रधानाध्यापक तपन शर्मा, शिक्षक अफ्ताब खान, ए वान कन्सल्टेन्सीका सञ्चालक इरफान अलि मिकरानी, दिलिप बिक र सन्तोष नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले नेपालगञ्जको जेभिएन स्कुलका विद्यार्थीको मोबाइल नियन्त्रणमा लिएर हेर्दा ह्वाट्सएप र फेसबुक ग्रुपमार्फत चिट चोर्ने गरेको तथ्य फेला पारेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार उनीहरूले ‘तेरा बाप मेरा बेटा’ नामको फेसबुक ग्रुप बनाएका थिए । जसमा एसईई परीक्षा दिइरहेका १९ जना विद्यार्थी छन् । त्यसैगरी ‘अफ्ताब सर’ नामक ह्वाटसएप ग्रुपमा थप २७ जना विद्यार्थी रहेका छन् ।

पोखरेलका अनुसार पक्राउ परेका व्यक्तिहरूले यी ग्रुपमा चिट बनाएर पठाउने गरेका थिए । विज्ञान विषयको प्रश्नपत्र एक जना शिक्षकले ७ बजेर २७ मिनेटमै फोटो खिचेर चिट बनाउने ग्रुपका सदस्यलाई पठाएको पनि भेटिएको छ ।

परीक्षा समिति बाँकेले एसईईमा खट्ने केन्द्राध्यक्ष बाहेक निरीक्षक बस्ने शिक्षक, विद्यार्थीले मोबाइल लिन प्रतिबन्ध गरेको छ ।

यसरी परीक्षाको मर्यादा विपरीत चिट चोराउने कार्यमा संलग्न देखिएपछि ज्ञानोदय विद्या निकेतन केन्द्रका केन्द्राध्यक्ष गणेश भण्डारी सहितको टिमलाई परिवर्तन गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

अनुगमन टोलीले ५ थान मोबाइल, एउटा ल्यापटप, गाइड र सोलुसन बुक, केही मोबाइल नम्बर उल्लेख भएको कागजातसमेत बरामद गरेको छ ।

चिट चोर्ने व्यवस्था मिलाएर शिक्षक तथा कन्सल्टेन्सीका सञ्चालकले विद्यार्थी र उनका अभिभावकबाट पैसा लिएको हुनुसक्ने प्रहरीले जनाएको छ । प्रहरीले ५ दिनको म्याद लिएर अनुसन्धानको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

ज्ञानोदय विद्या निकेतन परीक्षा केन्द्रमा युनाइटेड, बेष्ट जोन, सोफिया, लोटस, युद्ध संस्कृत, स्टार फ्युचर, भेरी विद्या मन्दिर, फ्लोरिडा एकेडेमी र बैजापुर युथ भिजन स्कुलका २ सय ४६ जना विद्यार्थीले एसईई परीक्षा दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?