काठमाडौं । ग्राण्डी अस्पतालका जनरल फिजिसियन डा. अमित गौलीका अनुसार ओपीडीमा अहिले दैनिक करिब ४० जना रुघाखोकी तथा ज्वरोको लक्षण लिएर आइरहेका छन् ।
‘दैनिक ओपीडीमा यतिका मानिस हुनु भनेको समुदायमा भाइरल ज्वरोका बिरामी बढिरहेको बुझिन्छ । अस्पतलामा आउने अधिकांशमा घ्यारघ्यार आउने, रुघाखोकी, जीउ दुख्ने, ज्वरो, थुक निल्न कठिन हुने, घाँटी खसखस हुने लगायतका जस्ता लक्षण देखिएको छ,’ डा. गौली भन्छन् ।
यता, त्रिभुवन शिक्षण अस्पतालमा पनि उस्तै लक्षण लिएर आउने बिरामी दिनहुँजसो ओपीडीमा छन् । उनीहरुको परीक्षणमा कोभिड-१९ र इन्फ्लुएन्जा भाइरस पुष्टि भएको फोक्सो तथा छातीरोग विशेषज्ञ डा. निरज बम बताउँछन् ।
उनका अनुसार वर्षेनी मौसम परिवर्तन भएसँगै यस्ता बिरामी बढ्छन् । दुईदेखि तीन सातापछि यसको चाप घट्छ ।
‘मौसम बढेसँगै भाइरल संक्रमण बढ्छन् । एकबाट अर्कोमा सर्छ । केही सातापछि आफैं घटेर जान्छन् । तर गम्भीर लक्षण कमैलाई देखिने हुँदा डराइहाल्नुपर्ने अवस्था रहँदैन,’ डा. बम भन्छन् ।
यस्तो लक्षण देखिए सिटामोल सेवन गर्ने, झोलिलो पदार्थ खुवाउने, हिंड्दा मास्कको प्रयोग गर्ने र अवस्था कठिन भए अस्पताल जान उनी सुझाउँछन् ।
मौसम परिवर्तनसँगै भाइरल ज्वरो बढनुका कारण के हुन् ?
डा. बमका अनुसार खराब जीवनशैलीकै कारण पहिलेभन्दा बिरामीको संख्या अहिले बढ्दो छ । ‘स्वच्छ वातावारण र पोषिलो खानेकुराको अहिले अभाव छ । खराब जीवनशैलीकै कारण मानिसको प्रतिरोधात्मक क्षमता कम छ,’ उनी भन्छन्, ‘प्रतिरोधात्मक क्षमता कम हुनेबित्तिकै मौसम परिवर्तन हुँदा सक्रिय हुने जीवाणुको सम्पर्कमा आउँदा संक्रमण गराउँछ । संक्रमण एकबाट अर्कोमा सर्छ । जसले गर्दा समुदायमै फैलिन्छ ।’
समुदायस्तरमा संक्रमण बढेपनि अस्पतालमा ज्वरोका लक्षण लिएर आउने बालबालिकाको संख्या स्थिर रहेको कान्ति बाल अस्पतालका डा. रामहरि चापागाईं बताउँछन् । ‘अस्पतालमा नआउनुको कारण संक्रमण फैलिए पनि गम्भीर रुप नलिएको हुनसक्छ,’ उनी भन्छन्, ‘यस पटकको भाइरल संक्रमण त्यति गम्भीर रुप नलिएको बुझिन्छ ।’
भाइरल संक्रमणसँगै कोरोनाको त्रास
अहिले भाइरल संक्रमणसँगै कोरोना भाइरस संक्रमण पुष्टि भइरहँदा जनमानसमा पुनः कोभिडको त्रास उत्पन्न भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका अनुसन्धान शाखाका संयोजक तथा संक्रामकरोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
‘एकबाट अर्को मौसम सुरु हुनेबित्तिकै भाइरल संक्रमण हुनु स्वभाविक हो । तर मौसमी ज्वरोसँगै कोभिड पनि पुष्टि भइरहनु आश्चर्यलाग्दो छ । ज्वरो आउनेबित्तिकै कोभिड होला भन्ने त्रास जनमानसमा उत्पन्न भएको छ,’ डा. पुन भन्छन् ।
यस्तोमा लक्षण मिल्दोजुल्दो हुँदा कोरोनाको लक्षण हो वा मौसमी फ्लुको कारण हो भनेर परीक्षण नगरी छुट्याउन कठिन रहेको डा. पुन बताउँछन् ।
‘खोकी लाग्नु, ज्वरो आउनु, थकान महसुस हुनु र श्वासप्रश्वासमा समस्या हुनु कोभिडको लक्षणभित्र पर्छ । भाइरल फ्लुका कारण समेत यस्तै समस्या आउने हुँदा ज्वरो र खोकी लागेका व्यक्तिलाई कोरोना वा भाइरल फ्लु के हो ? भनेर यकिन गर्न सक्ने आधार नै छैन,’ उनी भन्छन् ।
उनका अनुसार सन् २०२४ को सुरुवातमा ओमिक्रोनको सब-भेरियन्ट पुष्टि भयो जुन बिस्तारै घट्दै थियो । ‘अचानक कसरी देखियो भन्ने जिज्ञासा हाम्रो पनि छ । अहिले यो आक्रमक किन भयो ? किन सक्रिय भयो भन्ने कुरा विचाराधीन छ ? यति शक्ति कसरी प्राप्त गर्यो भन्ने कुरा पनि प्रश्नवाचककै अवस्थामा छ,‘ डा. पुन भन्छन् ।
कति गम्भीर ?
डा. पुनका अनुसार बिरामीमा गम्भीर लक्षण नदेखिएको हुँदा संक्रमण फैलिएपनि अस्पताल जानेभन्दा घरमै आराम गर्नेको संख्या बढी छ ।
‘भाइरल ज्वरोले सिकिस्त पारिहालेको छैन । र, आत्तिएर अस्पताल आउनेको संख्या कम छ । जसबाट अहिले देखिएको भाइरल संक्रमण र कोभिड त्यति गम्भीर नभएको बुझ्न सकिन्छ,’ उनी भन्छन् ।
‘भाइरल ज्वरो जस्तै कोभिड पनि हराउँदैन’
भाइरल ज्वरो जस्तै कोभिड अब मानव समुदायमा नै रहने डा. पुन बताउँछन् । ‘भाइरसहरुले आफ्नो स्वरुप (म्युटेसन) बदलिरहन्छन् । इन्फ्लुएन्जा भाइरस जस्तै कोरोना पनि हामीमाझ सधैं रहनेछ । कोरोनाको तीन-चार महिनामा सबभेरियन्ट आउँछ । प्रत्येक वर्ष केही लहर ल्याउन सक्छ । मौसम परिवर्तन र कोभिडको लहर एकसाथ पनि आउनसक्छ,’ उनी भन्छन् ।
डा. पुन अब केही महिनापछि चरम गर्मी, लामखुट्टेको टोकाइ र मनसुनको प्रभावले यो समस्यासँगै अन्य स्वास्थ्य समस्या पनि जोडिएर आउने बताउँछन् ।
मौसम परिवर्तन हुन लाग्दा जहिले पनि यस्ता भाइरल संक्रमणले सताउने हुँदा समुदायस्तरमा फैलिनुअघि आफैं सरसफाइमा ध्यान दिने, जथाभावी खानेकुरा नखाने, घरबाट बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने र यस्ता फ्लुविरुद्ध खोप लगाउन उनी सुझाउँछन् ।
संक्रमणबाट बच्न के गर्न सकिन्छ ?
भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैं निको हुने मान्यता रहेपनि हाल सात दिनभन्दा पनि बढी समय लिएमा थप जटिलता आउने हुँदा लगातार समस्या भए तुरुन्त चिकित्सकको परामर्श लिनुपर्ने डा. गौली बताउँछन् ।
मौसमी स्वास्थ्य समस्याबाट बच्न आफ्नो प्रतिरोधात्मक क्षमता बढाउने खालका खानेकुरा खाने, झोलिलो पदार्थको सेवनमा बढी जोड दिने, घर वरिपरि सफा राख्ने र लामखुट्टेको टोकाइबाट बच्न शरीर छोप्ने खालका कपडा लगाउन डा. गौली सुझाउँछन् ।
साथै, ज्वरो तथा रुघाखोकी आयो भन्दैमा विना चिकित्समको परामर्श कप सिरप, साइनेक्स र एन्टिबायोटिक जस्ता औषधि सेवन नगर्न उनी सबैमा आग्रह गर्छन् ।
 
                    










 २०८० चैत  २६ गते १३:०२
                        २०८० चैत  २६ गते १३:०२                     
                             
                     
 
 
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                                         
                             
                             
                                         
                             
                                         
                         
                         
                         
                         
                         
                         
                             
                             
                             
                             
                                         
                             
                             
                                        
प्रतिक्रिया 4