+
+
ब्लग :

सिक्किममा निर्वाचन : पवन चाम्लिङ कि पीएस गोले ?

मैले सिक्किमलाई उत्सुकतापूर्वक हेरिरहेको थिएँ। मेरा केही जिज्ञासामूलक प्रश्नहरू थिए- निर्वाचनमा विजयी भए, मुख्यमन्त्री भए तर पीएस गोलेले आफ्नो विद्रोहको औचित्य पुष्टि गर्न सक्लान् कि नसक्लान् ?

तेजेन्द्र लावती तेजेन्द्र लावती
२०८० चैत २७ गते ९:३९
पवन चाम्लिङ र पूर्णसिंह तामाङ (पीएस गोले)

पाँच वर्षअघि बहालवाला मुख्यमन्त्री पवन चाम्लिङको पार्टी ‘सिक्किम डेमोक्र्याटिक फ्रन्ट’ (एसडीएफ) निर्वाचनमा दोस्रो दलमा सीमित भएपछि मलाई एकसाथ दुईवटा कुराले वशीभूत गरेको थियो- पहिलो कुरा त म आश्चर्यचकित भएको थिएँ। दोस्रो कुरा, थोरै उत्सुक जस्तो पनि थिएँ।

आश्चर्यचकित यसकारण कि मुख्यमन्त्रीका रूपमा लगातार २५ वर्ष शासन गरेका पवन चाम्लिङले सिक्किमलाई एउटा उचाइ र परिचय दिएका थिए। खासै ठूला जनअसन्तुष्टिहरू पनि सुनिएको थिएन। वैकल्पिक शक्तिका रूपमा सिक्किम ‘क्रान्तिकारी मोर्चा’ को उदय भइसकेको सङ्केत पनि खासै थिएन। त्यस्तो अवस्थामा एक्कासी सत्ताधारी पार्टी पराजित भएको सुन्दा किञ्चित आश्चर्यचकित नहुने कुरा भएन। म आश्चर्यमा पर्नुको कारण जम्माजम्मी यति मात्रै थियो।

थोरै उत्सुक चाहिं यसकारण कि स्वयं पवन चाम्लिङ पनि ‘सिक्किम सङ्ग्राम परिषद्’ सँग विद्रोह गरी नयाँ पार्टी मार्फत उदाएका थिए। हालका मुख्यमन्त्री पीएस गोलेले पनि एसडीएफबाट विद्रोह गरेका थिए। उनीहरू दुवैको राजनीतिक उदय एकैखालको थियो- मूल पार्टीसँग विद्रोह। तर, फरक यसमा थियो कि पवन चाम्लिङले कुशासनका विरुद्धमा विद्रोहको झण्डा उठाएका थिए। पीएस गोलेलाई चाहिं पवन चाम्लिङभन्दा सक्षम र उन्नत उत्तराधिकार बन्ने चुनौती थियो।

त्यसकारण मैले सिक्किमलाई अतिथिका रूपमा नै सही थोरै उत्सुकतापूर्वक हेरिरहेको थिएँ। यसका पछाडि मेरा केही जिज्ञासामूलक प्रश्नहरू थिए- निर्वाचनमा विजयी भए, मुख्यमन्त्री भए तर पीएस गोलेले आफ्नो विद्रोहको औचित्य पुष्टि गर्न सक्लान् कि नसक्लान् ?

सिक्किममा चाम्लिङ युगको बदलामा अझ उन्नत सिक्किम बनाउन सक्लान् कि नसक्लान् ? अथवा पवन चाम्लिङले भन्दा फरक किसिमको सिक्किमको विकासको नयाँ मोडेल कस्तो देलान् ? यदि यी काममा प्रमाणित भए भने पीएस गोलेको उदय सिक्किमका लागि लाभदायी नै हुने ठानेको थिएँ।

२५ वर्ष शासनको बागडोर सम्हालेका पवन चाम्लिङकै हाराहारीमा राखेर पीएस गोलेको मूल्याङ्कन गर्ने बेला भएको छैन। तर, पाँच वर्ष पनि कम समय होइन। एउटा राजनीतिक नेतृत्वले पाँच वर्षमा सबै गर्न सक्दैन, यद्यपि सङ्केत देखाउन चाहिं पाँच वर्ष पर्याप्त समय हो।

पवन चाम्लिङले धेरै कुरामा सिक्किमलाई माथि उठाएका थिए। यसमा धेरै विमतिहरू देखिंदैन। उनले सिक्किमलाई अर्गानिक राज्यका रूपमा विश्वमा चिनाएका थिए। पर्यावरण संरक्षणमा सिक्किम राज्यले थुप्रै अन्तर्राष्ट्रिय अवार्डहरू नै प्राप्त गर्‍यो।

पवन चाम्लिङले लिएको समावेशी विकासको नीति र हासिल गरेको उपलब्धि समाजवादको धेरै नजिक थियो। प्रति व्यक्ति आयमा सिक्किम धेरै अगाडि थियो। गरिबीलाई शत्रु करार गरेर शहर र गाउँबीचको अन्तरलाई ज्यादै न्यून बनाएका थिए।

पवन चाम्लिङले भारतका थुप्रै राज्यहरूभन्दा सिक्किमको सूचकाङ्क माथि उठाएका थिए। कतिपय कुरामा सिक्किम उत्कृष्ट राज्यमा पर्दथ्यो।

यस्ता धेरै सूचकहरूमा उत्कृष्ट सिक्किमलाई अझ माथि उठाएर नेतृत्व प्रदान गर्नु कम चानचुने कुरा थिएन। त्यसकारण, पवन चाम्लिङलाई भन्दा पीएस गोलेले आफूलाई प्रमाणित गर्नु धेरै कठिन थियो। बरु पवन चाम्लिङलाई सजिलो थियो किनभने सुशासन र विकासमा थोरै सङ्केत देखाउनासाथ उनीप्रति जनताको विश्वास बढ्ने अवस्था थियो। उनले त्यो मौकाको सदुपयोग गरेर लगातार २५ वर्ष सिक्किमका मुख्यमन्त्री भए। जनताबाट लगातार २५ वर्ष विश्वास जित्नका लागि थोरैथोरै गरेर पुग्दैन, राम्रो र धेरै राम्रो नै गरेको हुनुपर्छ।

यही कारण, वर्तमान मुख्यमन्त्री पीएस गोलेले जनताको विश्वास जित्न पवन चाम्लिङले भन्दा अझ धेरै गर्न सक्छु भन्ने देखाउनुपर्ने अवस्था थियो। थोरै कमजोरी हुनासाथ जनविश्वास घट्ने र आशङ्का सुरु हुने संवेदनशील परिस्थितिमा उनी सिक्किमका मुख्यमन्त्री भएका थिए।

अहिले उनी यही कुराको चपेटामा परेका छन्। उनले आफूलाई पवन चाम्लिङभन्दा फरक र अब्बल छु भनेर प्रमाणित गर्न चुकेका छन्। उनले पवन चाम्लिङ नेतृत्वको सिक्किमभन्दा कुनै पनि तथ्याङ्कमा आफूलाई राम्रो देखाउन सकेका छैनन्। बरु सिक्किममा घटेका र घटिरहेका केही विवादास्पद गतिविधिका कारण प्रश्नको घेरामा परेका छन्।

केही समयअघि नेपालबाट सिक्किम घुमघाम गर्न गएकी उमा चाम्लिङले ‘साकेला मनाऊँ’ भनेर ‘फेसबुक आह्वान’ गरेकै कारण हिरासतमा राखिइन्। चौतर्फी आलोचना भएपछि उनलाई रिहाइ गरियो।

केही समयअघि सिक्किम विधानसभाका पूर्वसभामुख तथा पूर्वमन्त्री केदारनाथ (केएन) राईमाथि मरणासन्न हुने गरी बीच सडकमा आक्रमण भयो। अहिले उनी अस्पतालमै उपचार गराइरहेका छन्। स्वयं पवन चाम्लिङमाथि पनि साङ्घातिक आक्रमणका प्रयासहरू भइरहेका छन् भनिन्छ।

यस्ता केही सन्दर्भहरूले पीएस गोले अत्तालिए झैं देखिन्छ। यसले पीएस गोलेको विद्रोह र विजय प्रमाणित हुँदैन। पवन चाम्लिङ भन्दा पछाडि हट्ने होइन, अगाडि डट्ने राजनीतिकर्मी मात्रै सिक्किमको कुशल वैकल्पिक नेतृत्व हुनसक्छ। मुख्यमन्त्रीका रूपमा पीएस गोलेलाई हेरिसकेपछि मलाई चाहिं लागेको छ- सिक्किमले पवन चाम्लिङभन्दा राम्रो राजनीतिक नेतृत्व दिन सक्ने उत्तराधिकारी प्राप्त गरिसकेको छैन।

सम्भवत: पवन चाम्लिङभन्दा पनि सक्षम नेतृत्व खोजी गर्ने क्रममा सिक्किमेली जनताले पीएस गोलेलाई रोजेका थिए। सिक्किमेली जनताले विकल्पको खोजी गर्नुलाई गलत भन्न मिल्दैन। तर, उनीहरूले रोजेको विकल्प त्यति सफल भएको देखिएन। त्यसैले, पवन चाम्लिङको विकल्प पवन चाम्लिङ नै हुन् भने जस्तो पो देखिंदै रहेछ।

सिक्किमको राजनीतिक परिस्थिति नजिकबाट अवलोकन गरिरहेकाहरूबाट थाहा पाउँदा पनि सिक्किममा पवन चाम्लिङको पुन: उदय हुने सम्भावना बढेको छ। यदि त्यस्तो भयो भने पवन चाम्लिङको अबको गहन उत्तरदायित्व सक्षम उत्तराधिकारी तयार गर्नु हुनेछ। कुशल राजनीतिकर्मीले अवश्य कुशल उत्तराधिकारी जन्माउन सक्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?