+
+

कांग्रेस संसदीय दलको निर्णय- सहकारीको रकम अपचलनबारे संसदीय छानबिन हुनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते ११:०६

२७ चैत, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने सर्वसम्मत निर्णय गरेको छ ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन हुनुपर्ने नेपाली कांग्रेसको मागलाई संसदीय दलले उचित छ भन्ने ठहर गरेको जानकारी दिए ।

बैठकपछि उनले भने, ‘उपप्रधानमन्त्री एवम् गृहमन्त्री माननीय रवि लामिछाने जी सहकारीको रकम अपचलन गर्ने काममा संलग्न भएको कुरालाई हामीले उठाइरहेका छौं । त्यसको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानका निमित्त संसदीय समिति गठन गर्ने माग हामीले गरिराखेका छौं । आजको संसदीय दलले नेपाली कांग्रेसले उठाउँदै आएको काम उचित छ भन्ने ठहर गरेको छ, सर्वसम्मतीले ।’

त्यससँगै आजको बैठकले तत्काल नेपाली कांग्रेसको माग बमोजिम संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णयसमेत गरेको उनले बताए ।

यदि कांग्रेसको माग सम्बोधन नभए संसद अवरोधको जिम्मा सरकारले लिनुपर्ने उनले चेतावनी दिए । नेपाली कांग्रेसले संसद अवरोध नचाहने बताउँदै लेखकले भने, ‘तर नेपाली कांग्रेसले उठाएको मागप्रति यदि सरकार गैरजिम्मेवारपूर्ण ढंगले प्रस्तुत भयो भने कुनै पनि संसदको बैठक अथवा संसदका कामकारबाही अवरुद्ध हुने कुराको जिम्मा नेपाली कांग्रेस होइन, अहिलेको सरकारले लिनुपर्छ भन्ने पनि आजको दलले सर्वसम्मत निर्णय गरेको छ ।’

गृहमन्त्री रवि लामिछानेले संसदमा उपस्थित भएर जवाफ दिन्छु भन्दा किन नमानेको भनेर सोधिएको प्रश्नमा प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीको कुरा सुनिसकेकाले सबैको कुरा सुन्न जरुरी नभएको बताए ।

नेपाली कांग्रेसले संसदीय समितिका बैठकहरुमा अनिवार्य रुपले उपस्थित भएर छलफलमा भाग लिन आफ्नो पार्टीका संसदहरुलाई निर्देशन समेत दिएको छ । साथै कांग्रेसले सामाजिक सदभाव, धार्मिक सहिष्णुता र एकता कायम राख्न सबैलाई आह्वान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?