+
+

सफाइ पाएको व्यक्ति पक्रेर एक दिन थुन्यो प्रहरीले

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १७:१६

२८ चैत, विराटनगर । प्रहरीले अदालतबाट सफाइ पाइसकेका व्यक्तिलाई पक्राउ गरेर एक दिन हिरासतमा राखेको छ । विवादास्पद छविका एमाले नेता पर्शुराम बस्नेतमाथि गोली प्रहार गरेको घटनामा प्रतिवादी बनाइएका विराटनगर रानीका शम्भू तामाङलाई प्रहरीले सोमबार राति पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार मंगलबार कार्यालय खुलेपछि जिल्ला अदालतमा पुगेर हेर्दा ज्यान मार्ने उद्योगमा सफाइ पाएको देखियो । ‘ज्यान मार्ने उद्योगको प्रतिवादी वर्षाैंपछि फर्किएको सूचनापछि उहाँलाई ल्यायौं,’ मोरङ प्रहरी प्रमुख नवराज कार्की भन्छन्, ‘तर अदालतबाट सफाइ पाएको देखिएपछि भोलिपल्ट नै छाडेका हौं ।’ सोमबार राति नै अदालतको फैसला देखाएको भए प्रहरीले पक्राउ नगर्ने कार्कीले बताए ।

तामाङले २०७७ माघ ८ गते अदालतबाट सफाइ पाएका थिए । जिल्ला अदालतबाट सफाइ पाएका तामाङलाई उच्च अदालतले पनि सफाइ दिएको थियो ।

कार्कीका अनुसार १६ वर्षअघिको गोली काण्डपछि तामाङ भारतको दिल्लीमा बस्दै आएका थिए । आपराधिक पृष्ठभूमिका तामाङ फर्किएको खबर नेपाल प्रहरीको हेटक्वाटरसम्म पुगेको थियो । त्यसपछि प्रदेश हुँदै जिल्लामा फरार व्यक्ति घर आएको जानकारी पुग्यो ।

प्रहरीका अनुसार सूचनापछि सोमबार राति नै प्रहरी टोली तामाङको घरमा पुग्यो । तर उनी भागे । राति करिब १० बजे प्रहरीले भाग्दै गर्दा उनलाई समात्यो । तामाङलाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी सामान्य घाइते भएका छन् ।

के हो घटना ?

२०६६ साल फागुन २७ गते एमाले नेता पर्शुराम बस्नेतमाथि तत्कालीन विराटनगर उपमहानगरपालिका– १५ (हाल विराटनगर १२) मा अभिषेक गिरीको समूहले गोली प्रहार गरेको थियो । बस्नेत र गिरी त्यसबेला विराटनगरका प्रतिस्पर्धी डन थिए । बस्नेत नेकपा एमाले र गिरी नेपाली कांग्रेसको राजनीतिमा छन् ।

प्रहरीका अनुसार तत्कालीन जिल्ला विकास समितिमा भएको टेण्डर विवादलाई लिएर बस्नेतमाथि गिरीको समूहले विराटनगर उपमहानगरपालिका– १५ मा गोली प्रहार गरेको थियो । बस्नेतको पेटदेखि मुनिको भागमा गोली लागेको थियो । भारतमा लामो समयको उपचारपछि बस्नेत सामान्य अवस्थामा फर्किएका थिए ।

बस्नेतमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले मुख्य योजनाकार अभिषेक गिरी रहेको दाबीसहित उनको समूहका अशोक भुजेल, बलराम घिमिरे, बिक्रम थपलिया, निर्मल पाण्डे र शम्भू तामाङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलाएको थियो ।

जिल्ला अदालत मोरङले अशोक र बिक्रमलाई सात–सात वर्ष कैद सजाय सुनाएको थियो । उनीहरू कैद भुक्तान गरेर छुटिसकेका छन् । अभिषेक गिरीसहित बलराम, निर्मल र शम्भूले सफाइ पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?