+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लगानी सम्मेलनमा भारतीय लगानीकर्ता बोलाउन दिल्लीमा ‘इन्डस्ट्री मिट’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २९ गते १९:५५

२९ चैत, काठमाडौं । नेपालले आगामी वैशाख १६ र १७ मा गर्न लागेको ‘तेस्रो लगानी सम्मेलन’ मा भारतीय लगानीकर्ता आकर्षित गर्न नयाँदिल्लीमा ‘इन्टस्ट्री मिट’ आयोजना गरेको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावास र पीएचडी चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा भएको इन्डस्ट्री मिटमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय व्यापारका लागि नेपाल प्राकृतिक रूपमै उपयुक्त गन्तव्य रहेको बताए ।

‘यसैबीच हुन लागेको लगानी सम्मेलन भारतीय लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने र पुनर्लगानी योजना बनाउन छलफल गर्ने तथा ठूला व्यापारको आइडिया फुराउने एउटा उपयुक्त अवसर हुने विश्वास छ,’ डा. शर्माले भने, ‘नेपालमा लगानी भित्र्याउन सरकारले व्यापार कानुनदेखि प्रक्रिया सबै सरलीकरण गरिरहेको छ । नेपालमा सञ्चालित व्यापारिक समूह र नेपालको बजार प्रवेश गर्न चाहनेलाई सरकारले सदैव स्वागत गर्ने छ । हामी भारतीय लगानीकर्तालाई नेपालको औद्योगिक क्षेत्रको अंग बन्न आमन्त्रण गर्दछौं ।’

त्यसैगरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले लगानी सम्मेलनमा भारतबाट बहृत सहभागिता हुने अपेक्षा रहेको बताए ।

‘नेपाललाई अन्तर्राष्ट्रिय स्तरको उदीयमान लगानी गन्तव्यका रूपमा हेरेर सहयोग गरिदिन भारतीय औद्योगिक अगुवाहरूसँग आग्रह गर्दछु,’ भट्टले भने, ‘हामी भारतीय लगानीकर्तालाई स्वागत गर्न आतुर छौं ।’

नेपालका लागि भारतका पूर्व राजदूत तथा दिल्लीस्थित भारत-नेपाल केन्द्रका अध्यक्ष मञ्जीवसिंह पुरीले नेपाल सार्वभौम मुलुक भएकाले जुनसुकै मुलुकसँग काम गर्न स्वतन्त्र रहेको बताए ।

भारतीयहरुमाझ नेपालको नयाँ गठबन्धन चीनतर्फ ढल्केको भन्ने बुझाइ रहेकोमा त्यसलाई चिर्न पनि यो कार्यक्रमले महत्वपूर्ण योगदान दिएको सहभागीहरुले बताएका छन् ।

लगानी सम्मेलनमा प्रमुख नीति निर्माता, उच्च सरकारी अधिकारी, प्रभावशाली व्यापारीदेखि विश्वव्यापी वित्तीय संस्थाहरू सहभागी हुनेछन् । जहाँ लगानी विविधीकरणका अवसर, जलविद्युत्मा आकर्षक आयोजनाका सम्भावना, पर्यटन, कृषि, निर्माण, सहरी विकास लगायतमा बृहत छलफल हुनेछ ।

त्यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनको भिडियो सन्देश प्रस्तुत गरिएको थियो ।

इन्डस्ट्री मिटमा नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रे, भारतीय उद्योगपतिहरू अनिल खेतान, अजय पोद्दार, कमलेश जैन र अनुकूल भटनागर, भारत–नेपाल केन्द्रका सचिव अतुल ठाकुर, क्लास्पका वरिष्ठ निर्देशक (भारत) विशाल थापालगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?