+
+

दुई महिनापछि नै सुन्तलाले पायो तीन गुणा बढी मूल्य   

रासस रासस
२०८१ वैशाख १ गते १२:५६

१ वैशाख, तेह्रथुम । हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् ।

म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्ता भण्डारण गर्दा प्रतिकिलो ६० रुपैयाँ थियो । अहिले प्रतिकिलो दुई सय रुपैयाँमा बिक्री भइरहेको छ ।

कोशी प्रदेश सरकारको तीन करोड, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको एक करोड ३० लाख रुपैयाँ साझेदारीमा म्याङलुङ–९ साब्लामा एक हजार मेट्रिक टनको शीतभण्डार सञ्चालनमा छ ।

प्रतिकेजी दुई रुपैयाँ ५० पैसा प्रतिमहिना भाडा तिरेर माघको अन्त्यतिर शीतभण्डारमा राखेको दुई महिनामै स्थानीय बजारमा सुन्तलाले तीन गुणा बढी मूल्य पाउँदा किसानलाई फाइदा भएको म्याङलुङ-२ की मेनुकाकुमारी श्रेष्ठले बताइन् ।

‘हिउँदमा सुन्तला बिक्री नभएर बगानमै कुहिने अवस्था थियो । बिक्री भइहाले पनि रु ५० किलो व्यापारीले मागिरहेका थिए । अहिले तीन गुणा बढी मूल्य पायो हामी खुसी छौँ’, श्रेष्ठले भनिन् ।

यसअघि शीतभण्डारमा भण्डारणको अनुभव नभएकाले बिग्रिने हो की भनी डराइडराइ सुन्तला भण्डारण गरेको म्याङलुङ–२ का मोतीराज तुम्बाहाङ्फेले बताए । ‘साथीहरुले बिग्रिन्छ नराख भन्दै थिए तर भण्डारणको समयमा कटिङ र लेबलिङमा ध्यान दिने हो भने नबिग्रिने रहेछ’, उनले भने ।

०७० सालमा दर्ता भएको कियाचु कृषि सहकारीमार्फत मेयङलुङ शीतभण्डार गत सालदेखि सञ्चालित छ । किसानमा शीतभण्डारको उपयोगिताको बारेमा थाहा नभएकाले किसानसँग छलफलमा रहेको शीतभण्डारकी व्यवस्थापक कुमारी लिम्बूको भनाइ छ ।

यस वर्ष शीतभण्डारमा किवि तीन हजार किलो, सुन्तला दुई हजार किलो भण्डारण गरिएको छ । अब आलुको बीउ भण्डारणको तयारी भइरहेको व्यवस्थापक लिम्बूको भनाइ छ । हिउँदमा खान पाइने सुन्तला चैत वैशाखमा किनेर खान पाएकोमा स्थानीय उपभोक्ता समेत खुसी छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?