+
+
Shares

तेह्रथुमको सुङनाममा गुञ्जियो बेठी (तस्वीरहरू)

यदि यस्ता प्रयासलाई निरन्तरता दिन सकियो भने बेठी केवल इतिहासका पानामा सीमित रहने छैन । नयाँ पुस्ताले पनि हिलोमाटोको सुगन्ध, असारे भाकाको लय र नौमती बाजाको तालसँगै आफ्नो मौलिक संस्कृति प्रत्यक्ष अनुभव गर्न पाउनेछन् ।

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ असार १७ गते ९:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमको लालीगुराँस नगरपालिकाले लोपोन्मुख कृषि संस्कृति ‘बेठी’लाई पुनर्जीवित गर्ने उद्देश्यले राष्ट्रिय धान दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
  • नगरप्रमुख अर्जुन माबोहाङले बेठी केवल धान रोप्ने विधि नभई सामाजिक एकता, सामूहिक श्रम र स्थानीय पहिचानसँग जोडिएको जीवन्त सम्पदा भएको बताउनुभयो ।
  • बसाइँसराइ र आधुनिक प्रविधिको प्रयोगका कारण संकटमा परेको यो परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न नगरपालिकाले पहल गरेको हो ।

१७ असार, तेह्रथुम । असार लागेसँगै पहाडका फाँटहरू हरियालीले ढाकिन्छन् । खेतबारीमा धान रोपाइँको चटारो सुरु हुन्छ । तर, तेह्रथुमको लालीगुराँस नगरपालिका-६ सुङनामको माझखर्कमा यस वर्षको राष्ट्रिय धान दिवस २०८३ विशेष बन्यो । यहाँ केवल धान रोपाइँ मात्र भएन, लोपोन्मुख अवस्थामा पुगेको एक पुरानो कृषि संस्कृति ‘बेठी’लाई पुनर्जीवित गर्ने प्रयाससमेत गरियो ।

धान दिवस १५ नै भएपनि पूर्णिमा दिन भएकाले १६ गते लालीगुराँस नगरपालिकाले बेठी लगाएर धान रोपाइँ गरेपछि गाउँमा पुरानो पुस्ताको सम्झना ताजा भएको छ भने नयाँ पुस्ताले आफ्नो समाजको एक ऐतिहासिक परम्परा प्रत्यक्ष देख्ने अवसर पाएको छ ।

नगरप्रमुख अर्जुन माबोहाङका अनुसार बेठी केवल धान रोप्ने विधि मात्र होइन, गाउँको सामाजिक एकता, सामूहिक श्रम, कृषि संस्कृति र स्थानीय पहिचानसँग जोडिएको जीवन्त सम्पदा हो । ‘हाम्रा पुर्खाले जोगाएर ल्याएको संस्कृति हराउने अवस्थामा पुगेको छ’, उनले भने, ‘बेठी संरक्षण गर्नु भनेको हाम्रो इतिहास, संस्कृति र पहिचान जोगाउनु हो । यो नेपालीहरूको जीवन जिउने कला हो । लोप हुँदै गएको बेठीलाई आउँदो पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौँ। हामीले देखेका, भोगेका र जानेका कला, संस्कृति र परम्पराप्रति भोलिको पुस्ताको पनि चासो र संरक्षणको भावना विकसित होस् भन्ने हाम्रो चाहना हो ।’

७६ वर्षीया स्थानीय अजिमाया खत्रीले विगतका दिन सम्झिँदै भनिन, ‘पहिले हुनेखाने महाजनहरूले ठूलो खेतीमा बेठी लगाउँथे। हामी पनि सहभागी हुन्थ्यौँ । गाउँका सबै जना भेला भएर नौमती बाजा बजाउँदै, नाच्दै र गाउँदै धान रोप्ने चलन थियो । अहिले त त्यस्तो दृश्य देख्नै पाइँदैन ।’

स्थानीय ओममाया बरालले पनि बाल्यकालका सम्झना सुनाइन् । ‘सानो हुँदा बेठीमा असारे गीत गाउँदै रमाएका दिनहरू अझै सम्झना छन्। धेरै वर्षपछि आज फेरि बेठीमा सहभागी हुन पाउँदा पुराना दिनहरू आँखाअगाडि आए’, उनले भनिन् ।

कृषि प्राविधिक हिमबहादुर थापाका अनुसार नगरपालिकाले रैथाने कृषि, स्थानीय बाली र परम्परागत ज्ञानको संरक्षणलाई प्राथमिकता दिँदै आएको छ । ‘स्थानीय बाली र कृषि संस्कृतिको संरक्षणले कृषकलाई उत्साहित बनाउनुका साथै भावी पुस्तालाई आफ्नो इतिहास र मौलिक पहिचानसँग परिचित गराउँछ’, उनले बताए ।

आजका सहरिया नयाँ पुस्ताका लागि ‘बेठी’ शब्द नै आश्चर्यको विषय बन्न सक्छ । तर, केही दशकअघिसम्म पूर्वी पहाडका गाउँबस्तीमा बेठी किसान जीवनको अभिन्न हिस्सा थियो । असारे भाका गाउँदै, नौमती बाजा बजाउँदै, बाउसे र रोपाहारबीच दोहोरी खेल्दै धान रोप्ने परम्परा गाउँको सबैभन्दा ठूलो सामूहिक उत्सव मानिन्थ्यो। धान रोपाइँलाई केवल कृषि कार्य नभई पर्वकै रूपमा मनाइन्थ्यो ।

बेठी लगाउने दिन गाउँभरिका मानिसहरू खेतमा भेला हुन्थे । पहिले नै पर्याप्त पानी भएको खेत तयार पारिन्थ्यो । दर्जनौं हलगोरुले खेत जोत्थे। कसैले धानको बेर्ना उखेल्थ्यो, कसैले गरामा पुर्‍याउँथ्यो, कसैले पानीको मात्रा मिलाउँथ्यो भने रोपाहारले लहर मिलाएर धान रोप्थे। नौमती बाजाको तालमा असारे गीत गुञ्जन्थ्यो । बाउसे र रोपाहारबीचको दोहोरीले खेतलाई उत्सवस्थल बनाउँथ्यो । दिनभरको श्रमपछि भोज खाने, माटोको टीका लगाउने, चेलीबेटीलाई दक्षिणा दिने तथा हिलो छ्यापाछ्याप गरेर रमाउने चलनले बेठीलाई किसानको पर्वका रूपमा स्थापित गरेको थियो ।

स्थानीय एकबहादुर बराका अनुसार बेठी केवल श्रम व्यवस्थापनको माध्यम थिएन, यो गाउँ समाजको एकताको प्रतीक पनि थियो । तत्कालीन मुखिया, जिम्मावाल वा ठूला जमीनदारहरूले बेठी आयोजना गर्दा गाउँका प्रत्येक घरबाट एक जना श्रमिक पठाउने चलन थियो । त्यसबेला ज्यालाको व्यवस्था थिएन । गाउँका मानिसहरू सामूहिक हितका लागि स्वेच्छाले श्रमदान गर्थे। यसले गाउँमा सहयोग, सद्भाव र आत्मीयताको भावना बलियो बनाउँथ्यो ।

बेठीको सुरुआत कहिलेदेखि भयो भन्ने यकिन इतिहास नभए पनि यो नेपाली ग्रामीण समाजमा पुस्तौँदेखि चल्दै आएको कृषि परम्परा हो । मानव जीवन र माटोबीचको अन्योन्याश्रित सम्बन्धको प्रतीक मानिने यो परम्पराले खेतीपातीलाई सामाजिक संस्कारसँग जोडेको थियो । सिमेभूमे पूजा गर्ने, धान राम्रो फलोस् भन्ने कामनासहित भकारी बाँधेर नाच्ने तथा सामूहिक भोज गर्ने चलनले बेठीलाई केवल कृषि गतिविधि नभई सांस्कृतिक समारोहका रूपमा विकास गरेको थियो ।

तर समय परिवर्तनसँगै यो परम्परा क्रमश: हराउँदै गयो। विसं २०२१ को भूमिसुधार कार्यक्रमपछि जिम्मावाल र मुखिया प्रणाली कमजोर बन्दै गयो। सामूहिक श्रमको सट्टा ज्यालादारी प्रथा विस्तार हुन थाल्यो । त्यससँगै ग्रामीण क्षेत्रबाट युवाहरू रोजगारीको खोजीमा सहर केन्द्रित हुन थाले। वैदेशिक रोजगारीप्रतिको आकर्षण बढ्दै गयो । गाउँमा खेतीपाती गर्ने जनशक्ति घट्दै गयो भने परम्परागत कृषि संस्कृतिप्रतिको चासो पनि कमजोर बन्दै गयो ।

अहिले गाउँका धेरै युवाहरू अध्ययन, रोजगारी र सुविधाको खोजीमा सहर तथा विदेशिएका छन्। एक समय बेठीमा रमाउने खेतहरूमा श्रमिकको अभाव हुन थालेको छ । आधुनिक कृषि प्रविधि, मेसिनको प्रयोग, बदलिँदो जीवनशैली र आर्थिक प्राथमिकताले पनि सामूहिक श्रममा आधारित बेठी परम्परालाई ओझेलमा पारेको छ । फलस्वरूप, बेठी अहिले धेरै ठाउँमा स्मृतिमा सीमित हुन थालेको छ ।

आज गाउँघरमा पहिलेजस्तो हलगोरुको प्रयोग कम भएको छ । असारे भाका र नौमती बाजासहितको रोपाइँ देख्न मुस्किल पर्छ । धेरै ठाउँमा खेतबारी बाँझो छन् भने कतिपय कृषियोग्य जमिन श्रमिक अभावकै कारण प्रयोगविहीन बनेका छन । यसरी सामाजिक संरचना, बसाइँसराइ, वैदेशिक रोजगार र बदलिँदो जीवनशैलीका कारण बेठीको अस्तित्व संकटमा परेको हो ।

यही हराउँदै गएको सम्पदालाई पुनर्जीवित गर्न लालीगुराँस नगरपालिकाले सुङनामको माझखर्कमा बेठी लगाएको हो । नगरपालिकाको यो प्रयासलाई स्थानीयहरूले संस्कृति संरक्षणको महत्वपूर्ण कदमका रूपमा लिएका छन । कृषकहरूका अनुसार यस्ता कार्यक्रमले गाउँमा हराउँदै गएको सामूहिकता, सहयोगको भावना र कृषि संस्कृतिलाई पुन: जागृत गर्न मद्दत पुग्नेछ ।

विज्ञहरूका अनुसार जलवायु परिवर्तन, खाद्य सुरक्षा र जैविक विविधता संरक्षणका विषय विश्वव्यापी चासोका विषय बनेका बेला स्थानीय ज्ञान, रैथाने बाली र परम्परागत कृषि संस्कृतिको महत्व झन् बढ्दै गएको छ । बेठीजस्ता परम्पराले केवल उत्पादन मात्र होइन, समाजलाई एकताबद्ध बनाउने, स्थानीय संस्कृति संरक्षण गर्ने र नयाँ पुस्तालाई आफ्नो इतिहाससँग जोड्ने काम गर्छन ।

सुङनामको माझखर्कमा यस वर्ष गुञ्जिएको बेठीको आवाज केवल धान रोपाइँको आवाज होइन। यो पुर्खाले छोडेर गएको संस्कृति, सहकार्य र सामूहिकताको पुनर्जागरणको सन्देश पनि हो । यदि यस्ता प्रयासलाई निरन्तरता दिन सकियो भने बेठी केवल इतिहासका पानामा सीमित रहने छैन । नयाँ पुस्ताले पनि हिलोमाटोको सुगन्ध, असारे भाकाको लय र नौमती बाजाको तालसँगै आफ्नो मौलिक संस्कृति प्रत्यक्ष अनुभव गर्न पाउनेछन्। त्यसैले बेठीको संरक्षण किसानको मात्र होइन, स्थानीय सरकार, समुदाय र सम्पूर्ण समाजको साझा दायित्व बनेको छ ।

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?