+
+
Shares

करोडौँ लगानीमा म्याङ्लुङमा बन्यो बसपार्क, सञ्चालनमा नआउँदा सुनसान

चिल्ला पक्की पार्किङ, आकर्षक टर्मिनल भवन, अपाङ्गमैत्री शौचालय, बस विश्रामस्थल र गार्ड हाउससहितको बसपार्कमा न बस देखिन्छ, न यात्रुको चहलपहल ।

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ साउन २३ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमको म्याङ्लुङमा कोशी प्रदेश सरकारको करिब सात करोड ५३ लाख लागतमा निर्माण भएको आधुनिक बसपार्क सञ्चालनमा नआउँदा प्रयोगविहीन बनेको छ ।
  • यातायात व्यवसायीले बसपार्क बजारबाट टाढा रहेको र पहुँचमार्ग साँघुरो भएकाले सवारीसाधन सञ्चालन गर्न व्यावहारिक कठिनाइ रहेको बताएका छन् ।
  • नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले दशैँपछि सञ्चालनको ठेक्का प्रक्रिया र सडक स्तरोन्नति गरी बसपार्क नियमित रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।

२३ साउन, तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजारमा बिहानैदेखि यात्रुको चहलपहल सुरु हुन्छ । विभिन्न गन्तव्यतर्फ जाने सार्वजनिक सवारीसाधनले पुरानै स्थानबाट यात्रु चढाउने र ओराल्ने गर्छन् ।

बजारको कोलाहलभन्दा केही पर भने आधुनिक सुविधासहित निर्माण गरिएको नयाँ बसपार्क सुनसान छ । चिल्ला पक्की पार्किङ, आकर्षक टर्मिनल भवन, अपाङ्गमैत्री शौचालय, बस विश्रामस्थल र गार्ड हाउससहितको बसपार्कमा न बसको आवाज सुनिन्छ, न यात्रुको चहलपहल देखिन्छ ।

करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको यो बसपार्क सञ्चालनमा नआउँदा अहिले प्रयोगविहीनजस्तै बनेको छ ।

कोशी प्रदेश सरकारको ७ करोड ५३ लाख रुपैयाँ लगानीमा निर्माण भएको म्याङ्लुङ बसपार्क औपचारिक उद्घाटन भएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन । स्थानीय नौ जनाले दान गरेको करिब १० रोपनी जग्गामा निर्माण गरिएको यो बसपार्क जिल्लाकै ठूला सार्वजनिक पूर्वाधारमध्ये एक हो ।

सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटामार्फत निर्माण गरिएको बसपार्कको ठेक्का आशिष आशीर्वाद जेभीले पाएको थियो । निर्माण कम्पनीसँग २०७६ असारमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ असारमा निर्माण सम्पन्न भएको हो ।

बसपार्कमा अपाङ्गमैत्री शौचालय, टर्मिनल भवन, पहुँचमार्ग, बस विश्रामस्थल, आरसीसी पार्किङ क्षेत्र र गार्ड हाउस निर्माण गरिएको छ ।

गत पुस ८ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बसपार्कको औपचारिक उद्घाटन गरेका थिए । उदघाटनकै अवसरमा पूर्वाधार विकास कार्यालय, तेह्रथुमले बसपार्क म्याङ्लुङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

उदघाटनका दिन केही सवारीसाधन बसपार्क पुगे पनि त्यसयता नियमित रूपमा सार्वजनिक सवारीसाधन सञ्चालन भएका छैनन् । यात्रुको चहलपहल नहुँदा बसपार्क अहिले खाली पार्किङ क्षेत्र, बन्द टर्मिनल भवन र सुनसान परिसरमा सीमित भएको छ ।

स्थानीय लालकुमार लिम्बू करोडौँ रुपैयाँ सरकारी लगानीमा निर्माण भएको संरचना प्रयोगमा नआउनु दु:खद भएको बताउँछन् । ‘जनताको करबाट निर्माण भएका यस्ता पूर्वाधारले नागरिकलाई सेवा दिन नसक्दा विकासको  उद्देश्य नै अधुरो हुन्छ,’ उनी भन्छन्, ‘यति ठूलो लगानीमा निर्माण भएको बसपार्क खाली रहनुले योजना निर्माण र कार्यान्वयनबीच आवश्यक समन्वय नभएको देखाउँछ ।’

यात्रु नपुग्ने ठाउँमा बस लैजान व्यवसायी तयार छैनन्

बसपार्क सञ्चालनमा नआउनुको मुख्य कारण यसको अवस्थिति र पहुँचमार्गलाई मानिएको छ ।

यातायात व्यवसायी सरोज तामाङका अनुसार बसपार्क बजार क्षेत्रबाट केही टाढा छ । यात्रुका लागि सहज पहुँच नभएकाले व्यवसायीलाई नयाँ बसपार्कबाट सवारी सञ्चालन गर्न समस्या भएको उनी बताउँछन् ।

‘लामो समयदेखि यात्रुहरू पुरानै स्थानबाट बस चढ्न अभ्यस्त छन् । तत्कालै सबै सवारीसाधन नयाँ बसपार्कमा लैजान व्यावहारिक कठिनाइ छ,’ उनी भन्छन्, ‘यात्रु नपुग्ने स्थानबाट बस सञ्चालन गर्दा व्यवसायीलाई आर्थिक जोखिम हुन्छ ।’

म्याङ्लुङ नगरपालिका–२ मा निर्माण गरिएको बसपार्कसम्म पुग्ने सडक पनि अझै साँघुरो छ । सडकको केही भाग कच्ची अवस्थामै छ ।

वर्षायाममा सडक हिलाम्मे हुने भएकाले ठूला सवारीसाधन सञ्चालन गर्न झनै कठिन हुने स्थानीय विश्वराज तुम्बाहाङ्फे बताउँछन् ।

उनका अनुसार बसपार्क निर्माणसँगै त्यससम्म पुग्ने पहुँचमार्गको स्तरोन्नति पनि प्राथमिकतामा पर्नुपर्ने थियो । ‘बसपार्क बन्यो तर त्यससम्म पुग्ने सडकको अवस्था सुधार भएन । पहुँचमार्गमा पर्याप्त ध्यान नदिँदा आधुनिक सुविधासहितको बसपार्क बनेर पनि प्रयोगमा आउन सकेन,’ उनी भन्छन् ।

सञ्चालनको मोडालिटी नै स्पष्ट भएन

म्याङ्लुङ बसपार्कको अवस्था विकास निर्माणमा देखिँदै आएको एउटा पुरानै समस्याको उदाहरण बनेको छ । पूर्वाधार निर्माणमा करोडौँ रुपैयाँ खर्च गर्ने तर त्यसको सञ्चालन, व्यवस्थापन, पहुँच र प्रयोगको पूर्वतयारी नगर्ने प्रवृत्तिका कारण सार्वजनिक संरचना प्रयोगविहीन हुने गरेका छन् ।

म्याङ्लुङ बसपार्क पनि निर्माण सम्पन्न भएपछि सञ्चालनको स्पष्ट मोडालिटी तय गर्न, यातायात व्यवसायीसँग समन्वय गर्न, पहुँचमार्ग सुधार गर्न र यात्रुको सहज आवतजावत सुनिश्चित गर्न नसक्दा प्रयोगमा आउन नसकेको देखिन्छ ।

बसपार्क निर्माणसँगै यातायात व्यवसायी, स्थानीय सरकार र यात्रुबीच आवश्यक समन्वय भएको भए अहिलेको अवस्था फरक हुन सक्ने स्थानीयको भनाइ छ ।

करोडौँ रुपैयाँ खर्च गरेर बनाइएको संरचना लामो समयसम्म प्रयोगविहीन रहँदा त्यसको संरक्षण र लगानीको प्रतिफलमाथि समेत प्रश्न उठेको छ ।

स्थानीय तहको कानुनअनुसार बसपार्क सञ्चालन तथा मर्मत–सम्भारको जिम्मेवारी म्याङ्लुङ नगरपालिकाको हो ।

नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फे भने दशैँपछि बसपार्क सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउँछन् ।

उनका अनुसार त्यसका लागि सञ्चालनको ठेक्का प्रक्रिया अघि बढाउने, बसपार्कसम्म पुग्ने सडकको मर्मत तथा स्तरोन्नति गर्ने र नियमित रूपमा सार्वजनिक सवारीसाधन सञ्चालन हुने वातावरण तयार पार्ने तयारी छ ।

सञ्चालनमा आए बजारको ट्राफिक व्यवस्थापनमा सहज

नयाँ बसपार्क सञ्चालनमा आएपछि यात्रु सेवा थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । अहिले बजार क्षेत्रमै हुने बसको आवतजावत तथा यात्रु चढाउने–ओराल्ने क्रम व्यवस्थित हुँदा म्याङ्लुङ बजारको ट्राफिक व्यवस्थापनमा समेत सहजता आउने स्थानीयको अपेक्षा छ ।

बसपार्क सञ्चालनले बजार विस्तारमा समेत सहयोग पुग्ने उनीहरू बताउँछन् ।

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?