+
+

सुस्त मनस्थितिकी युवती बसका सहचालकहरुबाट बलात्कृत, ३ जनाविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १९:०४

२ वैशाख, काठमाडौं । सुन मनस्थिति भएकी २० वर्षीया युवती बसका तीन जना सहचालकको समूहबाट बलात्कृत भएकी छन् ।

बलात्कारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले धादिङको ज्वालामुखी गाउँपालिका–४, गैरीगाउँ घर भई सतुंगल बस्ने २९ वर्षीय मधु गुरुङ, धादिङको गजुरी घर भई माछापोखरी बस्ने २२ वर्षीय जयराम बुढाथोकी र सल्यानको दार्मा गाउँपालिका–६, किम्टाकुरा घर भई कीर्तिपुर बस्ने २३ वर्षीय दीपक बुढाथोकीलाई पक्राउ गरेको छ ।

प्रहरीमा दर्ता भएको जाहेरी अनुसार, पीडित युवती २ चैतमा धादिङबाट ग्रामीण यातायातको बा ५ ख ८४४३ नम्बरको बस चढेर काठमाडौं आएकी थिइन् । त्यसक्रममा माछापोखरीमा झर्ने क्रममा उनलाई बसका सहचालकले प्रलोभनमा पारेर होटलसम्म लगेका थिए ।

युवतीका बाबुले दिएको जाहेरी अनुसार सहचालकहरुले ती युवतीलाई गंगाजमुना गेष्ट हाउसको कोठा नं.८ भित्र लगी मोबाइल समेत कब्जामा लिएका थिए । उनको त्यहीं सामूहिक बलात्कार भएको जाहेरीमा उल्लेख छ ।

त्यसदिन बुबालाई भेट्न भन्दै युवती बस चढेर काठमाडौं आएकी थिइन् । तर, छोरी आफ्नो कोठामा नआएपछि बाबुले आत्तिंदै एक जना आफन्तलाई फोन गरेका थिए ।

‘मलाई फोन गरेर धादिङबाट छोरी एक्लै आएकी थिई, कोठासम्म पुगेकी छैन, फोन पनि उठाउँदिन भनेर खोज्न भन्नुभएको थियो’ ती आफन्तले प्रहरीसँग भनेका छन्, ‘त्यसपछि उनलाई खोज्न म माछापोखरीस्थित बसपार्कसम्म पुगेको थिएँ ।’

त्यहाँ पुग्दा पीडित काठमाडौंसम्म आएको फेला परे पनि पटकपटक फोन गर्दा नउठेको उनले बताएका छन् । त्यसपछि उनीहरुले प्रहरी वृत्त, बालाजुमा खोजतलासका लागि निवेदन समेत दिएका थिए । यद्यपि, राति करिब ८ बजेतिर पीडितले फोन उठाउँदा आफू गुम्बामा रहेको बताएको जाहेरीमा उल्लेख छ ।

‘त्यसपछि त्यहीं बसिरहनु म लिन आउँछु भनेको थिएँ, त्यसक्रममा गुम्बा पुग्दा उनी रोइरहेकी थिइन्’ युवतीका आफन्तले प्रहरीसमक्ष भनेका छन्, ‘त्यसक्रममा उनले यो बलात्कार भएको घटनाक्रम सुनाएकी थिइन् ।’

मुख्य आरोपी मधु गुरुङले प्रहरीसँगको बयानमा सबै यात्रु झरिसक्दा पनि ती युवतीलाई बसभित्रै राखेको बताएका छन् । त्यसपछि सहचालक दीपक बुढाथोकी र जयराम बुढाथोकीलाई बसमा बोलाएर कुराकानी गरेको उनले स्वीकार गरेका छन् ।

‘त्यसपछि साँझतिर गेष्ट हाउसमा गएका थियौं’, उनले अभियोग स्वीकारेका छन् । यद्यपि, सहमतिमै सम्बन्ध राखेको उनको दाबी छ ।

सहचालक बुढाथोकीद्वयले पनि बयानमा शारीरिक सम्बन्ध राखेको स्वीकार गरेका छन् । तर, पीडित युवतीले भने उनीहरुले बसबाट झर्न समेत नदिई मिलेमतोमा होटलसम्म लगेको बताएकी छन् ।

‘म सुस्त मनस्थिति भएको फाइदा उठाएर धम्की दिएर मलाई माछापोखरीको गंगाजमुना गेष्ट हाउसको कोठा नं. ८ सम्म लगेका थिए’, उनले प्रहरीसँग भनेकी छन् । त्यसपछि तीनैजनाले जबरजस्ती करणी गरेको उनले बताएकी छन् ।

जबर्जस्ती करणी गरेपछि कसैलाई बताए ज्यान लिने भन्दै धम्की दिएको उनले प्रहरीसँग बताएकी छन् ।

होटलबाट निस्किएपछि काठमाडौं महानगरपालिका–१६ मा रहेको एक गुम्बामा पुगेको बेला आफन्त दाइसँग फोनमा कुरा भएपछि उनीहरु लिन आएको उनले भनेकी छन् । ‘मैले उनीहरुको नाम थर पनि पक्राउ परेपछि मात्र थाहा पाएको हुँ’, उनले भनेकी छन् ।

प्रहरीले तीनै जनाविरुद्ध जबरजस्ती करणीको कसूरमा अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रतिवेदनका आधारमा सरकारी वकिलले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?