+
+

पोखरेली ब्यान्ड ‘बफिन्स ९८’ले ल्यायो ‘चैतेदसैं फेदीखोलै बगर’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते २१:०८

काठमाडौं । उसै त पोखरा ब्यान्डको सहर । ‘नेपथ्य’, ‘कन्दरा’जस्ता ब्यान्डले यो पर्यटकीय थलोलाई सांगीतिक सहरको रुपमा चिनाए । यो लिगेसीलाई पछ्याउँदै जन्मियो ‘बफिन्स ९८’ ।

जनप्रिय बहुमुखी क्याम्पसमा अध्ययन गर्ने सन् १९९८ को ब्याचका केही उत्साहित तन्नेरीले ब्यान्ड खोले र सांगीतिक हुटहुटीलाई निरन्तरता दिए ।

यो सांगीतिक समूहले अहिलेसम्म ‘नौलो कीर्ति’, ‘पहिचान’ र ‘परावृत्त’ गरि ३ एल्बम ल्याएको छ । हाम्रो देश नेपाल, जब घामको, शहीद, म मरे पनि ब्यान्डका हिट गीत हुन् ।

ब्यान्डले पछिल्लो समय वर्षेनी केही गीत रिलिज गर्दै सांगीतिक सिर्जनालाई निरन्तरता दिएको छ । सन्जीव गुरुङ (भोकलिस्ट र वाद्यवादक), जीवन भट्टराई (वाद्यवादक), रोशन महर्जन (वाद्यवादक), स्ट्रगल राना (लिरिसिस्ट) र शेरबहादुर गुरुङ (कोर्डिनेटर)ले ब्यान्डलाई अहिले पनि निरन्तरता दिइरहेका छन् ।

पछिल्लो वर्ष ब्यान्डले नेपाल-भारत सीमा विवादमा आधारित देशभक्तिपूर्ण गीत ल्यायो । रुदैछ कर्णाली भूमि, मेरो माया रोधी घरकी, माघ है आयो जस्ता गीतमार्फत ब्यान्डले समाज, संस्कृति र स्थानीय भाखालाई दर्शायो ।

यतिबेला नयाँ गीत ‘चैते दशैं-फेदिखोलै बगर’ गीत युट्युवमा रिलिज भएको छ । मौलिक नेपाली पर्व र संस्कृतिको भावलाई यो गीतले प्रस्तुत गर्छ । नेपालको विभिन्न भूभागमा मनाइने मेला स्याङ्जाको फेदीखोला, बागलुङ बजारमा भव्य लाग्छ ।

गीतमा स्वर/संगीत सन्जीव, शब्द स्ट्रगल र सन्जीवको छ । संगीत संयोजन सुमन तामाङ र ध्वनी संयोजन बुद्धराज बज्रचार्यको छ । म्युजिक भिडियोमा फेदिखोला बजार र सेरोफेरोका सुन्दर रमणीय स्थलको आकर्षक दृश्य छायांकन गरिएको छ । बिशाल तामाङको कथा र निर्देशनमा यकिन गुरुङ र बेलु गुरुङको अभिनय हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?