
काठमाडौं । लोकप्रिय ब्यान्ड कन्दराले शनिबार धरानमा सांगीतिक प्रस्तुति दिने भएको छ । नयाँ वर्ष २०८१ को सन्दर्भमा धरान रंगशालामा ‘कन्दरा लाइभ इन धरान’ आयोजना हुन लागेको हो ।
ब्यान्डले नयाँ टिमअपसहित प्रस्तुति दिन लागेको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ । अहिले यो ब्यान्डमा गायक विवेक श्रेष्ठसहित सुनिल थापा, हरि महर्जन, गितारवादक देव लामा, पंकज झा र सुन्दर महर्जन सदस्य छन् ।
पुस २७ गते पोखराबाट ‘कमब्याक टुर’ थालेको कन्दरा पूर्वेली सहरमा गुञ्जन लागेको हो । नयाँ टिमअपपछि ब्यान्डले ‘बिचरा म’ बोलको गीत पनि सार्वजनिक गरेको छ ।
कन्दराको यो सांगीतिक टुरको थिम ‘पहिला घरदेश अनि परदेश’ छ । सातै प्रदेशका मुख्य सहरमा कन्सर्ट गर्ने योजनाअनुसार धरानमा कार्यक्रम हुन लागेको हो । यसपछि भरतपुर, सुर्खेत, नेपालगञ्ज, बुटवल, जनकपुर र काठमाडौंमा कन्सर्ट हुने गायक श्रेष्ठले बताए ।
लेककी हे माया, तगारोमा रुमाल राखी, जिन्दगी उत्सव हो, हङकङ पोखरा, चञ्चले कान्छीको जोवन, तिमी पारी त्यो गाउँमा, विदेशिएर गइन् उनी, भेडीगोठैमा, प्रियसीको कल्पनामा, विश्वासको दियो कन्दराका लोकप्रिय गीत हुन् । ब्यान्डले ६ वर्षअघि पनि धरानको पब्लिक हाईस्कुल मैदानमा कन्सर्ट गरेको थियो ।
प्रतिक्रिया 4