+
+

कोशीमा मुख्यमन्त्रीको छोराको व्रतबन्धले सर्‍याे संकल्प प्रस्तावमाथिको छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १२:३९
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की

६ वैशाख, विराटनगर । कोशी प्रदेशसभाको बैठकमा आज नेकपा एमाले र माओवादी केन्द्रले दर्ता गरेको संकल्प प्रस्ताव पेस हुँदैछ । आजको बैठकमा प्रस्ताव पेस भए पनि छलफल भने भोलिबाट सुरु गर्ने तयारी छ ।

मुख्यमन्त्री केदार कार्कीका २ छोरा साकेत र शाब्दिकको व्रतबन्ध आज भएका कारण प्रतिपक्षी दल संकल्प प्रस्तावमाथि छलफल एक दिन सार्न तयार भएका हुन् ।

नेकपा एमाले प्रमुख सचेतक तथा संकल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारीले आजको बैठकमा प्रस्ताव पेश गर्ने र समर्थकले समर्थन मात्रै गर्ने बताए । छलफल भने भोलिको बैठकमा हुने उनले बताए ।

भण्डारीले बिहीबारको छलफललाई शुक्रबार सारिएको र शुक्रबार नै संकल्प प्रस्ताव पास गर्ने तयारी रहेको जानकारी दिए ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले पनि आजको बैठकमा प्रस्ताव पेस गर्ने कार्यसूची रहेको बताए । उनका अनुसार छलफल भने भोलिबाट सुरु हुनेछ ।

२७ असोजमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन २६ चैतमा एमाले र माओवादी केन्द्रले फिर्ता लिएका थिए । समर्थन फिर्ता लिँदै उनीहरुले प्रदेशसभाको अधिवेशन माग गरेका थिए ।

समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्की राजीनामा नदिने र विश्वासको मत पनि नलिने अडानमा छन् । उनलाई राजीनामा नदिने भए विश्वासको मत लिन निर्देशन दिनका लागि दुई दलले संकल्प प्रस्ताव दर्ता गरेका थिए ।

सोमबार दर्ता भएको संकल्प प्रस्तावको भाषामा मुख्यमन्त्री कार्कीले असहमति जनाएपछि बुधबार २ दलले संकल्प प्रस्तावको भाषालाई परिमार्जन गरेका थिए ।

परिमार्जन गरिएको संकल्प प्रस्तावमा भनिएको छ, ‘माननीय मुख्यमन्त्रीज्यूको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारमा सहभागी एमाले र माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिई सरकारबाट फिर्ता भइसकेको र बहुमत प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा समर्थन फिर्ता लिएको मिति २०८० चैत २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?