+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बिक्न छाडे ठेकी र डाला, व्यापारीलाई चल्न छाड्याे जाँगर

रासस रासस
२०८१ वैशाख ६ गते १४:४२

६ वैशाख, गलकोट (बागलुङ) । विगतमा यहाँ लाग्ने चैतेदशैंको मेलामा अत्यधिक बिक्री हुने ठेकी, नाङ्ला र मादल जस्ता उत्पादनको व्यापार घटेको छ । पछिल्लो समय आँसी, बाउँसो, मदानी, मान्द्रो र मादलको व्यापार वर्षेनि खस्कँदै आएको व्यापारीहरुको भनाइ छ ।

विगतमा चैतेदशैंको अवसरमा लाग्ने बेलामा यस्ता सामग्रीको व्यापार उच्च हुने गरेकोमा अहिले बिक्री शून्यप्रायः रहेको व्यापारीहरुको भनाइ छ । यद्यपि परम्परा धान्नकै लागि भने यसप्रकार घरेलु सामग्रीको उत्पादन भने भइरहेको उनीहरुले बताएका छन् ।

बागलुङको बडिगाड गाउँपालिका ४ का खिमबहादुर विकले पुर्खाको परम्परा धान्नकै लागि ८ वर्षयता निरन्तर चैतेदशैं मेलामा डालो, नाङ्लो र डाली बिक्री गर्न आइरहेको सुनाए । उनले अहिले एक सय डाला बिक्री गर्न पनि मुस्किल परेको गुनासो गरे ।

‘बाबाले डाला र नाङ्लो बुनेर चैतेदशैंमा ल्याउने गर्नुहुन्थ्यो, बाबा बित्नुभएको सात वर्ष पुग्यो, परम्परा धान्नकै लागि अहिले डाला र नाङ्लो बुनेर चैतेदशैं मेलामा आउन थालेको छु’ उनले भने, ‘एउटा डालो बुन्न दुई दिन लाग्छ, यहाँ एक हजार रुपैयाँमा पनि बिक्री गर्न मुस्किल छ ।’

उनले अब नाफाका लागि नभई परम्परा धान्न मात्रै डालाडाली बुन्दै आएको बताए । ‘डाला बुन्ने निगालो लिन सामुदायिक वनमा जानुपर्छ, एउटा निगालोको मूल्य ६ सय रुपैयाँ पर्छ, बाबाले सिकाएको काम मैले गरे पनि छोरा र नातिहरुले गर्दैनन्’, उनले भने ।

विकसहित बडिगाडका शशिराम सन्दाखरी लगायतका व्यापारीहरु अहिले बागलुङको चैतेदशैं मेलामा डाला, डाली र नाङ्लो बिक्री गर्न आएका छन् । चैतेदशैंमा बिक्री हुने डाला, डाली र नाङ्लो अधिकांश बडिगाड गाउँपालिका, तंग्रा र धम्जामा उत्पादन भएको छ । केही व्यापारीले तनहुँबाट समेत मान्द्रो, मुडा र गुन्द्री व्यापारका लागि लिएर आएका छन् ।

तीस वर्षदेखि चैतेदशैं मेलामा चोयाका सामग्री डाला, नाङ्ला र डाली बेच्न बागलुङ बजार नजिकै रहेको कालिका मन्दिर परिसरमा आउने गरेको बडिगाडका डाला व्यापारी सन्दाखरीले बताए । उनले शुक्रबारबाट सुरु भएको मेलामा ५० थान डाला बिक्री भएको बताए ।  उनले पहिलाको तुलानामा अहिले डालो नै कम उत्पादन हुने गरेको उल्लेख गरे ।

‘एक सय वटा डाला बिक्री गर्न मुस्किल छ, अहिलेको ढुवानी खर्च, निगालो खरिदको मूल्यले ज्याला उठ्नै समस्या भए पनि परम्परागत रूपमा गर्दै आएको पेशा बुढेसकालमा छाड्न सकिंदैन’ सन्दाखरीले भने, ‘आफू बाँचुञ्जेल चैतेदशैं मेलामा डालो बिक्री गर्न आउँछु, छोरा, नातिले के गर्छन् थाहा छैन, डालो बिक्रीबाट घर खर्च मात्रै चल्ने गरेको छ ।’

बर्सेनि डालाको व्यापार घट्दै गएपछि सन्दाखरीले डाला उत्पादनमा त्यति जाँगर नलाग्ने गरेको बताए । उनले पछिल्लो एक दशकयता घरेलु उत्पादन सामग्री मेलामा रूचाउन छाडिएको सुनाए । वर्षभरि उत्पादन गरेको निगालोको चोयाको डाली, नाङ्ला र डालो चैतेदसैँ मेला, रिडीको मेला र शान्तिपुरको मेलामा राम्रो बिक्री भएर जीवन गुजारा चलाउँदै आएको सन्दाखरीले अब चोयाको उत्पादनबाट जीवन धान्न मुस्किल रहेको बताए ।

चोयाबाट डाला, नाङ्ला, डोको, थुन्सेलगायतका सामग्री बुनेको देखेर १७ वर्षको उमेरबाटै अहिलेसम्म चोयाका सामग्री लिएर चैतेदसैं मेलामा आउन थालेको उनको भनाइ छ । पछिल्लो समय प्लास्टिकका भाँडाकुँडाका कारण चोयाका सामग्री कम बिक्री भइरहेको छ । उनका ३ छोराले चोयाको सामग्री बनाउन सिकेका छैनन् ।

चैतेदसैँ मेलाको अर्को पहिचानका रूपमा रहेको दारको ठेकाको व्यापार पछिल्लो समय निकै कम भएको बागलुङको बलेवा अमलाचौरबाट चैतेदसैँमा ठेका बिक्रीका लागि आउनुभएको टीका चुँदाराले बताए । उनले भैँसी पाल्ने परम्परा हट्न थालेपछि ठेकाको व्यापार घटेको सुनाए ।

अहिले प्लाष्टिक र स्टिलको भाँडामा मोही पार्ने चलन आएको भन्दै उनले परम्परागत ठेकामा पारेको मोही र घ्यू स्वास्थकर हुने भन्दै चेतनाको अभावमा ठेका किन्नै छोडेको उल्लेख गरे ।

‘७ वर्षअघिसम्म त ठेकाठेकीको व्यापार निकै राम्रो थियो, वर्षभरि उत्पादन गरेका ठेकाठेकी चैतेदसैंमा व्यापार गरेरै सकिन्थ्यो’, टीका चुदाँराले भने, ‘१२ वर्षको उमेरबाट चैतेदसैँमा बाबासँग ठेका बिक्रीका लागि आएको अहिले ६० वर्षको उमेरमा समेत आउँदैछु, २० घर चुँदारा परिवारमा पाँच घरमा मात्रै यो पेसा सीमित छ, आफू बाचुञ्जेल ठेका बनाइन्छ, छोराछोरीले यो पेसा सिक्नै मान्दैनन् ।’

अहिले आयातित सामग्री खरिदमा स्थानीयको भीड लाग्ने गरेको उनको भनाइ छ । आधुनिक उपकरणको विकासले ठेकाको व्यापार खस्केको बताउँदै चैतेदसैँको परम्परा धान्न मात्रै ठेका बिक्रीका लागि ल्याएको बताए ।

चैतेदसैं मेला बागलुङको पहिचानसँग जोडिएको र परम्पराकालदेखि मेला लाग्ने भए पनि विस्तारै आधुनिकताका कारण मेलाको मौलिकता हराउँदै गएको उनीहरूको भनाइ छ । चैत ३० गतेबाट सुरु भएको चैतेदसैं मेला बिहीबारसम्म चल्नेछ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?