+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

०८४ को चुनावसम्म वामपन्थी दल एक हुन सक्छन् : घनश्याम भुसाल

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ८ गते १७:१७

८ वैशाख, बुटवल । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले र माओवादी केन्द्र सच्चिए दुई वर्षभित्र सबै वामपन्थी दलहरुबीच एकता भई बलियो शक्ति बन्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन रुपन्देहीले तिलोत्तमामा गरेको अन्तर्क्रिया कार्यक्रममा भुसालले वामपन्थी एकताका लागि माओवादी केन्द्र माओवादबाट माथि उठ्नुपर्ने र एमाले व्यक्ति पूजाबाट माथि उठ्नुपर्ने बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका गल्ती कमजोरीहरु स्वीकार गरेकाले अहिलेको गठबन्धन बनेको भन्दै भुसालले नेपालको भविष्य ठीक बनाउन वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताए ।

‘आफूबाहेक अरुलाई कम्युनिष्ट र वामपन्थी नदेख्ने केपी ओली त्यसै अहिलेको समीकरण बनाउन आउनुभएको हैन’, भुसालले भने, ‘पार्टीभित्र र बाहिर सबै हेरेर अब एक्लै सकिन्न भन्ने रियलाइजेसन गरेर यो समीकरणमा आउनुभएको हो भन्ने लाग्छ, अब २०८४ को चुनाव अघिसम्म एमाले, माओवादी, एकीकृत समाजवादी, विप्लव सहितका वामपन्थी दलहरुबीच एकता हुनसक्छ ।’

आफ्नो दलको महाधिवेशनले वामपन्थी दलहरुबीच एकताका लागि स्पष्ट मार्गनिर्देश गर्ने राजनीतिक कार्यदिशा ल्याउने भुसालको तर्क छ ।

देशको राजनीतिमा उकुसमुकुस, सन्नाटा र भाँडभैलोको अवस्थामा रहेको भन्दै भुसालले अझैपनि एमाले अध्यक्ष ओलीले अहिलेको उकुसमुकुसलाई ढाकछोप गर्ने प्रयास गरेको आरोप लगाए ।

यद्यपि एमालेको राष्ट्रिय प्रतिनिधि परिषद वैठकमा पेश गरिएको राजनीतिक दस्तावेजमा ओलीले आफ्नो पार्टीले उठाउंदै आएका एक दर्जन एजेण्डालाई नक्कल गरेको बताए ।

ओली र प्रचण्ड दुबैलाई अहिलेको सत्ता गठबन्धन यताउता गरेर अन्त जाने ठाउं नभएको तर्क गर्दै भुसालले एमाले र माओवादी दुबै पार्टीभित्रका जडता र कमजोरीहरु हटाउन आवश्यक रहेको औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?