वैशाख १४, काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै निरज तामाङले करियरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन् ।
सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८-अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी गरेका छन् ।
शिवरामले सन् २०१५ मा एनपिजिए प्रेसिडेन्टस कपमा ८-अन्डर स्कोर गरेका थिए । अन्तिम दिनको खेल सुरुवात गर्दा निरज तीन दिनका लिडर भुवन भन्दा सात स्ट्रोकले पछि थिए। तर ८-अण्डरको प्रदर्शनसँगै उनले उपाधिसँगै १ लाख २० हजार नगद पुरस्कार प्राप्त गरे।
अन्तिम १८ होलको सुरुवात गर्दा भुवनसँग दिनेश प्रजापतिमाथि ६ स्ट्रोक र निरजमाथि ७ स्ट्रोकको ठूलो अग्रता थियो। तर भुवनले आज इभन-पार ६८ मा खेल सकाउँदा समग्रमा ७-अन्डर २ सय ६५ सहित दोस्रो स्थानमा रहे। उनले ८२ हजार प्राप्त गरे।
आज ४-अन्डर ६४ खेल्दै समग्रमा २ सय ७१ सहित जयराम श्रेष्ठ तेस्रो भए । उनले ६६ हजार हात पारे। आज इभन-पार ६८ स्कोर गर्दै समग्रमा इभन-पार २ सय ७२ सहित तोरण विक्रम शाही चौथो भए। उनले ५३ हजार प्राप्त गरे।
समग्रमा २-ओभर २ सय ७४ सहित पाँचौ भएका धनबहादुर थापाले ४५ हजार आफ्नो नाममा लेखाए। उनले आज इभन-पार ६८ खेले। उपाधिका दाबेदार मानिएका सुवास तामाङ समग्रमा ४-ओभर २ सय ७६ सहित छैटौं भए। प्रो टर्न भएपछि पहिलो पटक घरेलु टुर खेलेका सुवासले ३३ हजार ५ सय प्राप्त गरे।
समग्रमा ५-ओभर २ सय ७७ सहित दिनेश प्रजापति र रवि खडकाले सातौं स्थान बाँडे। उनीहरूले जनही ३३ हजार ५ सय नगद पुरस्कार बाँडे। आज १-ओभर ६९ सहित समग्रमा ६-ओभर २ सय ७८ स्कोरमा रामे मगर नवौं भए। उनले २८ हजार नगद पुरस्कार प्राप्त गरे। यसैगरी समग्रमा ७-ओभर २ सय ७९ सहित सञ्जय लामा र भुवनकुमार रोक्काले संयुक्त रूपमा दशौं स्थानमा प्रतियोगिता सकाए।
सञ्जयले ५-ओभर ७३ र भुवनले १-ओभर ६९ मा खेल सकाए । उनीहरूले जनही २४ हजार नगद प्राप्त गरे। एमेच्योरतर्फ समग्रमा १३-ओभर २ सय ८५ सहित सदभाव आचार्यले उपाधि जिते । उनले आज ७-ओभर ७५ मा खेल सकाउँदै टासी छिरिङलाई दश स्ट्रोकले हराए । टाशीले समग्रमा २३-ओभर २ सय ९५ स्कोर गरे। आज उनले १२-ओभर ८० मा खेल सकाए ।
राष्ट्रिय टोलीका खेलाडी राहुल विश्वकर्मा कूल ३०० स्कोरसहित तेश्रो भए। निरजले कोर्स रेकर्ड बराबरी गर्ने प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन ५-अन्डर २९ मा सकाए। उनले पहिलो देखि चौथो होलमा लगातार चार बर्डी प्रहार गरे।
नवौं होलमा पनि एक सट बचाएपछि फ्रन्ट नाइनको समाप्तीमा भुवन भन्दा मात्र एक स्ट्रोकले पछि थिए। भुवनले भने फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। भुवनले दोस्रो र चौथो होलमा बर्डी प्रहार गरेपनि तेस्रो होलमा डबल बोगी र पाँचौ होलमा बोगी खेपे। निरजले फ्रन्ट नाइनकै प्रदर्शनलाई निरन्तरता दिए।
१०औं होलमा बर्डी प्रहार गर्दै निरजले भुवनसँग स्कोर बराबरी गरे। यसपछि १३औं र १४औं होलमा लगातार दुई बर्डी प्रहार गर्दा निरजले दुई स्ट्रोकको अग्रता बनाए। १६औं होलमा हजार्डबाट बोगी खेलेपनि १७औं होलको उत्कृष्ट बर्डीले पुन २ स्ट्रोकको अग्रता बनाए ।
उनले ब्याक नाइन ३-अन्डर ३१ मा सकाउँदा एक स्ट्रोकको जित निकालेका हुन। भुवनले भने १२औं होलको बोगीका विरूद्ध ११औं र १८औं होलमा बर्डी प्रहार गरे। ब्याक नाइन १-अन्डर ३३ मा सकाए। जयरामले फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३२ मा सकाए। फ्रन्ट नाइनमा उनले दोस्रो, चौथो र आठौं होलमा बर्डी प्रहार गरे भने नवौं होलमा एक सट खेर फाले।
ब्याक नाइनमा १३औं, १४औं र १७औं होलमा एक-एक सट बचाए भने १६औं होलमा बोगी प्रहार गरे। चार दिने प्रतियोगितामा ३२ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ४१ गल्फरहरूले प्रतिस्पर्धा गरेका थिए। कुल पुरस्कार राशी ७ लाख ३ हजार ५ सय रहेको थियो। जहाँ २१ टप प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे।
विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीप्रा लहरी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे।
 
                    










 २०८१ वैशाख  १४ गते २०:५३
                        २०८१ वैशाख  १४ गते २०:५३                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4